नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा सेवा अनुगमन नभएका कारण दुरुपयोग बढेको छ । सरकारले दर्ता अधिकारी र सहयोगी मार्फत् स्थानीय स्तरमा पुगेर बिमा गराए पनि सो विषयमा के भइरहेको छ भनी अनुगमन नगर्दा दुरुपयोग बढेर गएको हो । 

सरकारले रकम मात्र असुल्ने तर्फ ध्यान दिने र व्यवस्थापन पक्ष लापारबाही गरेका कारण यस्तो समस्या देखिन थालेको हो ।  झापामा भएको एउटा घट्नाले स्वास्थ्य बिमा कार्ड दुरुपयोग हुने गरेको विषय पुष्टि गरेको छ ।  

भद्रपुर ८ का दाताराम सिटौलाले कामदारको रुपमा घरमा रहेकी १७ वर्षिया दिपीका राजंशीको बिमा कार्ड प्रयोग गरी सोही वडामा डेरा गरी बस्ने २२ वर्षिया ममता विक(खड्का)को उपचार गरेपछि कार्ड दुरुपयोग हुने गरेको एउटा उदाहरण फेला परेको हो ।

यो एउटा प्रतिनिधी मूलक घट्ना मात्र हो । मेची अञ्चल अस्पताल परिसरमा शुष्मा मेडिकल हल सञ्चालन गरेर बसेका सिटौलाको यो हर्कत केही दिन अघि ब्लाष्ट टाइम्स दैनिकले सार्वजनिक गरिसकेको छ । सिटौलाले अर्काको कार्डबाट उपचार मात्र गराएनन बिरामीबाट रकम समेत असुल गर्न पछि परेनन ।

यो घट्ना न बिमीतले थाहा पाए न बिरामी बिकले । यस्ता घट्ना सार्वजनिक भइसकेपछि पनि झापामा रहेको बिमा बोर्ड भने चुपचाप बसेको छ । 

स्थानीय स्तरमा स्वास्थ्य संयोजन समिति गठन नभएका कारण बिमा कार्डको दुरुपयोग हुनसक्ने अनुमान गरिएको बिमा बोर्ड झापाकी दर्ता अधिकारी तथा कार्यलय प्रमुख लक्ष्मी कणेल बताउँछिन् । यी देखिएका समस्या स्वास्थ्य बिमा बोर्ड काठमाडौ पठाउने बाहेक यो कार्यालयले अन्य गर्न नसक्ने उनको भनाइ छ ।

हाल प्रदेश समितिले अनुगमन गर्दै आइरहेपनि सो अपुग भएको उनले बताइन् । स्थानीय स्तरमा समिति गठन भएर कनकाइ नगरपालिका काम समेत हुन थालेको उनले बताइन् । 

झापामा रहेका १५ वटा स्थानीय तहमा १ सय ९० जना दर्ता सहयोगी परिचालन भएपनि कार्यालयमा दर्ता अधिकारी  अभाव भएका कारण भनेजस्तो सेवा दिन नसकिएको उनको भनाइ छ ।

स्थानीय तहबाट आएका फायल दर्ता गर्न नै भ्याइदैन उनले भनिन् । नियमावलीमा दुइ नगरपालिका बराबर एक र चार गाउँपालिका बराबर एक भनिएपनि सो नभएका कारण यस्ता अनेकौ समस्या आउँने गरेको उनको गुनासो थियो । 

यता अर्को घट्ना फेरी फेला परेको छ । दर्ता सहयोगी मार्फत बिमा कार्ड नविकरण गरेपनि हालसम्म बिमा कार्यालयमा रेर्कड नदेखिएका कारण बिमा सेवाबाट बञ्चित हुन परेको बिमा कार्यालयमा भेटिएका भद्रपुर ९ का महेश भट्टराइले बताए । दर्ता सहयोगी सरस्वती दुलालबाट भट्टराइको बिमा नम्बर ०४०८३३७३० बाट  ३५०० रुपैयाँको रसिद लिएपनि रसिदमा रकम लिएको मिति समेत उल्लेख गरिएको छैन ।

गत माघ महिनामा सेवा लिन पुगेका भट्टराइलाइ नविकरण नभएको भन्दै अस्पतालले जनाएपछि दर्ता सहयोगीलाइ तत्काल जानकारी गराएका थिए । तर, हालसम्म नविकरण नभएका कारण यो बर्षको सेवा लिन नपाएकोमा उनले आक्रोस पोखे । दर्ता सहयोगीको लापारबाही भएको उनको बुझाइ थियो । 

यस्ता प्रकारका समस्या धेरै हुने गरेको कणेलको भनाइ छ । कार्यालयमा रकम जम्मा गरेको रेर्कड नभएपछि सेवा सुचारु हुन नसक्ने उनले बताइन् । दर्ता सहयोगीले लापारबाही गरेका कारण धेरै जनालाइ कामबाट हटाउँदै आएको उनको भनाइ छ ।

 झापामा चैत्र १ गते (आइतबार) मध्यान्ह् १२ बजेसम्म ४ लाख ३६ हजार ९ सय ४४ जनाले बिमा गरेका छन् । जसमध्ये दमकमा सवैभन्दा धेरै ८४ हजार ३ सय ३८ जना रहेका छन् भने गौरीगञ्ज गाउँपालिकामा सवैभन्दा कम ८ हजार ६ सय ५२ रहेको बिमा बोर्ड झापाको तथ्याङ्कमा उल्लेख छ । झापामा सरकारी र नीजि गरी २३ वटा स्वास्थ्य संस्थाबाट बिमा सेवा सञ्चालन भइरहेको छ ।