झापाको बिर्तामाडमा रहेको बिएण्डसी मेडिकल कलेजले सम्पूर्ण भौतिक पूर्वाधार र कानूनी आधार पूरा गरे पनि कलेजलाई विवादमा मुछ्ने काम भएको सञ्चालकले गुनासो गरेका छन् ।
२०६८ सालमा मेडिकल कलेज सञ्चालनका लागि मनशाय पत्र लिएको र सम्पूर्ण भौतिक पूर्वाधार पूरा गर्दा पनि विभिन्न आरोपमा विवादमा मुछेको सञ्चालक गुनासो छ । चिकित्सा शिक्षा ऐनले नै ‘भौतिक पूर्वाधार भएको र ७३ सालभन्दा पहिले एलोआई लिएको उपत्यका बाहिरको मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ’ भनेर उल्लेख गरेको हुँदा कलेजलाई सम्बन्धन दिनुपर्ने सञ्चालक दुर्गा प्रसाईंले बताएका छन् ।
प्रसाईंले आफूहरुले कानुनबाहिर गएर सम्बन्धन नमागेको बताउँछन्।
झापामा आयोजित एक कार्यक्रममा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ‘बिएण्डसी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने’ भनेपछि यो विषय पुनः चर्चामा आएको छ ।
‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ मा ‘ऐन जारी भएपछि एक विश्व विद्यालयले पाँच भन्दाबढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर, यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्राबधान लागू हुने छैन ।’ भनी उल्लेख समेत गरेको छ ।
सोही प्रावधान अनुसार कलेजले सम्बन्धन पाउनुपर्ने कानुनी बाटो छ । ऐनमा काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भनी उल्लेख गरेको छ । सरकारले सो ऐन २०७५ फागुन १० गते जारी गरेको थियो । ऐन जारी भएको दुईवर्ष बितिसक्दा पनि कलेजले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) का पठन पाठन गराउन अहिलेसम्म सम्बन्धन तथा सिटसमेत पाउन सकेको छैन ।
कलेजका प्राचार्य प्राडा उमेश शर्माले चिकित्सा शिक्षा ऐन जारी हुनुपूर्व सम्बन्धनका लागि निवेदन दिइसकेको र मनसायपत्र लिई मेडिकल कलेज सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरिसकेको बताए ।
तत्कालीन शिक्षा मन्त्रालयले झापाको अनारमुनि गाउँविकास समितिमा एमबिबिएस कार्यक्रम सञ्चालनका गर्न कलेजलाई मनसायपत्र (लेटर अफ इन्टेन्ट) २०६८ माघ २४ गते गरेको थियो । सोही अनुसार प्रकृया सुरु गरेको सञ्चालकको भनाइ छ ।
५ वर्षअघि स्वास्थ्य मन्त्रालयबाट ३ सय बेड सञ्चालनको स्विकृति पाएको यो अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामीले उपचार पाउने गरेका छन् । त्यसैगरी यहाँ ३० देखि ४० वटा शल्यक्रिया हुने गरेका छन् ।
‘चिकित्सा शिक्षा ऐनमा उल्लेख गरिएअनुसार कलेजले सम्पूर्ण मापदण्ड पूरा गरेको अवस्थामा हामीले सम्बन्धन पाउनुपर्छ,’ सञ्चालक प्रसाईंले भने, ‘कानुनबाहिर गएर सम्बन्धन मागेको होइन, सम्बन्धन दिन हुँदैन जसले भन्नुहुन्छ, उहाँहरुले एक पटक आफ्नो अस्पताल र मेडिकल कलेजको भौतिक पूर्वाधार हेर्नुहोस् ।’
नेपालमा मेडिकल कलेजले सम्बन्धन पाउने कानुनी प्रक्रिया पूरा गरेको बताउँदै सञ्चालक प्रसाईंले भने, ‘हामीले चोर बाटोबाट सम्बन्धन मागेका हैनौँ ।’
शिक्षा मन्त्रालयले मेडिकल कलेज सञ्चालन प्रयोजनका लागि २०६८ माघ २४ गते मनशायपत्र प्रदान गरेको छ । त्यसैगरी कलेज सञ्चालनका लागि आवश्यक अस्पताल २०७३ साउन ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३०० बेडको अस्पताल सञ्चालन स्वीकृत गरेको र हाल आफ्नो कलेजले विशेषज्ञ सेवासहित अत्याधुनिक पूर्वाधारयुक्त अस्पताल समेत सञ्चालन गरेको सञ्चालक प्रसाईंको दाबी छ ।
नेपालमा कुनै पनि मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययन गराउन चिकित्सा शिक्षा अध्यापन गराइरहेका विभिन्न विश्वविद्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।