विजयपुर । धरान उपमहानगरपालिकाभित्र सञ्चालित सुनको गुणस्तर मापन गर्ने उपकरण ‘टच मेसिन’ मा व्यवसायीका सङ्गठनका नेताहरूकै संलग्नता रहेको पाइएको छ । उनीहरूले नै यो अवैध कार्यलाई संरक्षण गरिरहेको खुलेको छ ।
धरान–२ स्थित रत्नरोडमा सञ्चालित बूढासुब्बा डाइस कटिङ सेण्टरमा विश्वजित मान्नाले सञ्चालन गरेको ‘टच मेसिन’ मा धरानका विभिन्न स्थानका सुनचाँदी व्यवसायीहरूको लगानी रहेको छ ।
विश्वजित मान्नाले दिएको जानकारीअनुसार ‘टच मेसिन’ मा धरान–२ स्थित रत्नरोडका अदन ज्वेलर्सका सञ्चालक प्रेम लकान्द्री, प्लाटिनम ज्वेलर्सका सञ्चालक प्रदीप गहतराज, आराधना ज्वेलर्सका सञ्चालक दुर्गा बराइली, धरान–३ मा सञ्चालित सन्ध्या ज्वेलर्सका सञ्चालक रमेश कालीकोटे, धरान–२ का सुनचाँदी रिफाइन गर्ने विजय मिलेलगायत ७ जनाको शेयर रहेको छ ।
उनले प्रेम लकान्द्री, प्रदीप गहतराज, दुर्गा बराइली र रमेश कालीकोटेभने शेयरबाट बाहिरिएको बताएका छन् । उनले आफूसहित अन्य २ जनाको लगानी रहेको समाचार सङ्कलनको क्रममा ब्लाष्टकर्मीलाई बताए । तर, अहिले कुरा फेर्दै सबैजना शेयरबाट बाहिरिएको बताए । उनले नेपाल सुनचाँदी कला व्यवसायी सङ्घले अनुमति दिएर ‘टच मेसिन’ सञ्चालनमा ल्याएको पनि बताए ।
यस विषयमा व्यवसायी प्रेम लकान्द्रीले भने नेपाल सुनचाँदी कला व्यवसायी सङ्घले अनुमति नदिएको बताए । उनले आफुले शेयर पनि नहालेको दाबी गरे । उनले व्यवसायीका लागि भनेर ‘टच मेसिन’ खरिदका लागि सापटी स्वरूप सहयोग गरेको बताए । उनले भने, ‘व्यवसायीको हितका लागि ल्याउने हुँदा सहयोग ग¥यौं र फिर्ता पनि लिइसक्यौं ।’ उनले यस्तो मेसिन निजी प्रयोजनका लागि प्रयोग गर्न पाइने तर्क गरे ।
तर, गुणस्तर तथा नापतौल विभागले भने निजी फर्ममा सञ्चालन गरे पनि कसैको पनि सुनचाँदीको गुणस्तर मापन गर्न नमिल्ने बताएको छ । व्यक्तिगत उपभोगका लागि यस्ता आधिकारिकता नभएका उपकरण प्रयोग गर्न दिने हो भने ग्राहक मारमा पर्ने व्यवसायीले नै बताएका छन् ।
‘गुणस्तरीयता मापन गर्ने उपकरण चाहिन्छ तर, अवैधानिक हैन’ –ती व्यवसायीले भने । उनले व्यक्तिगत फर्ममा भए पनि आम उपभोक्तासँग जोडिने बताए । यता नापतौल विभाग काठमाडौँले भने कुनै व्यावसायिक प्रयोजनका लागि अनुमति नरहेको बताउँदै आएको छ । सुनको गुणस्तर तथा शुद्धतामा शङ्का लागेमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरमा परीक्षण गर्न सकिने विराटनगर कार्यालयले जनाएको छ ।
तर, व्यवसायीहरूले कुनै अनुमति नलिई आधिकारिकता नै नभएको उपकरण प्रयोग गर्दा सञ्चालकलाई मात्र फाइदा भएको र अन्य सबै मारमा परेको बताए । यता नपाल सुनचाँदी व्यवसायी सङ्घ धरानका अध्यक्ष राजेश अग्रवालले पनि ‘टच मेसिन’ सङ्घको समन्वयमा नै लिएको बताएका थिए ।
आधिकारिकता नै नभएको उपकरणमा नेतृत्व तवरकै व्यवसायीको नेतृत्व र संलग्नता रहेको पुष्टि हुन्छ । एक व्यवसायीले नाम नखुलाउने शर्तमा अहिले ‘टच मेसिन’ को संरक्षण व्यवसायी सङ्गठनका नेताहरू नै लागेको बताए । उनलाई ‘टच मेसिन’ राख्दा के फाइदा हुन्छ ? व्यवसायी नै ठगिइराखेका छन् भनी जिज्ञासा राख्दा भने, ‘जो व्यवसायी राम्रो तरिकाले सञ्चालित छन्, उनीहरूलाई समस्या छैन, मेसिन भए पनि नभए पनि तर, गलत तरिकाले सञ्चालन गर्नेहरूले ‘टच मेसिन’ फाइदा लिएका थिए होला, त्यसैले संरक्षणमा लागे ।’
यस विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी तथा बजार अनुगमन समितिका संयोजक महेशकुमार पोखरेल सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरेर अनुसन्धानका लागि प्रहरीसहितको टोली आउने बताउँछन् । उनी भन्छन्, ‘उक्त मेसिनको स्रोत के हो ? त्यसको वैधानिकता कस्तो छ ? वैधता रहेको छ कि छैन ? विज्ञसहितको समूह तत्काल आउँछौँ ।’
समस्या भेटिए कारबाही गर्ने उनले बताए । योभन्दा पहिलेपनि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्काल अनुगमन आउने र कारबाहीको दायरामा ल्याउने बताएका थिए । तर, यस विषयमा भने अहिलेसम्म कारबाही त होइन, अनुसन्धानसम्म पनि हुन सकेको छैन ।
कानून विपरीत सुनचाँदी सट्टापट्टा
रिफाइन गर्ने तथा र ‘टच मेसिन’ सञ्चालकले कानून विपरीत सुनचाँदी सट्टापट्टा गर्ने गरेको पाइएको छ । एक व्यवसायीले कानून विपरीत सुनचाँदीको सट्टापट्टा पनि गर्ने गरेको दाबी गरका छन् । यस विषयमा नेपाल सुनचाँदी व्यवसायी सङ्घ धरानका अध्यक्ष अग्रवाल सुनचाँदी रिफाइन गर्न पाउने तर, सुनचाँदी साट्न नपाउने बताउँछन् । उनले भने, ‘व्यवसायीले नै पर्खन नसक्ने हुँदा केहीले साट्छन् होला तर, सबैले सट्टापट्टा गर्दैनन् ।’
स्रोतले दिएको जानकारीअनुसार गीता मन्दिर लाइनका अर्का ‘टच मेसिन’ का सञ्चालक अक्षय मिसालले खुल्लारूपमा आफूले सेटिङ गरेकाले केही नहुने भन्दै सुनचाँदीको सट्टापट्टासमेत गर्दै आएका छन् । यसरी वैधानिकता नभएको उपकरण खुल्ला रूपमा सञ्चालन गर्दा पनि अनुगमन र नियमन गर्ने निकाय भने मौन रहेका छन् ।