विजयपुर। धरानमा अवैध रूपमा सञ्चालित सुनचाँदीको गुणस्तर मापन गर्ने उपकरण (टच मेसिन) नियन्त्रणमा सम्बन्धित सरोकारवाला निकाय एकले अर्कालाई देखाउँदै पन्छिएका छन् ।
नियामक निकाय पन्छिँदै गएपछि केही व्यवसायी तथा सञ्चालकले उक्त अवैध उपकरणबाट फाइदा लिइरहेका छन् । उपभोक्ता तथा शेयर नहुने व्यवसायी, कालीगढ र आम उपभोक्त भने मारमा पर्दै आएका छन् ।
तर, नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय, धरान उपमहानगरपालिका भने एकले अर्कालाई देखाउँदै पन्छिएका छन् । यी सबै निकायलाई भने बजार अनुगमन गरी समस्या भेटिएमा सम्बन्धित पक्षलाई अनुसन्धानका लागि जिम्मा लगाउने अधिकार रहेको छ ।
जिल्ला प्रशासनका कार्यालय सुनसरीका बजार अनुगमन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले नेपाल नापतौल तथा गुणस्तर कार्यालय हेर्नुपर्ने भन्दै पन्छिए । उनले यस विषयमा उपमहानगरको आफ्नो क्षेत्रमा भएकाले तत्काल बजार अनुगमन समितिले चासो राख्नुपर्ने बताए ।
उनले उपभोक्ताको व्यावसायिक रूपमा उपभोक्ताको परीक्षण गरेको हो कारबाही हुने बताए । उनले सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताएका थिए । तर, उनले समन्वय गरेका निकायलाई बुझ्दा समन्वय नगरेको पाइएको छ । यता धरान उपमहानगर बजार अनुमगन समितिको संयोजकसमेत रहेकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी भने आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै पन्छिइन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले वस्तुको गुणस्तरसम्बन्धी हेर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल कार्यालयले हेर्नुपर्ने बताए ।
उनले गुणस्तर तथा नापतौल विभागले नै अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘नामै गुणस्तर तथा नापतौल कार्यालय ।’ उनले आफ्नो कार्यक्षेत्र नभए पनि बजार अनुगमन गर्ने अधिकार भएकाले सम्बन्धित निकायलाई सहयोग गर्नेे बताए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी वाणिज्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी कारबाही गर्नुपर्ने बताउँछन् । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न प्राविधिक सहयोग गर्ने बताए । उनले भने, ‘हामीले प्राविधिक सहयोग गर्छौं, जिल्ला प्रशासन वा उपभोक्ता संरक्षण कार्यालयले उपभोक्ता संरक्षण ऐन वा कालो बजारी ऐनअनुसार कारबाही गर्नुपर्छ ।’ यसरी एकले–अर्कालाई देखाउँदै पन्छिनाले उपभोक्ता भने ठगिँदै आएका छन् ।
यता उपकरण सञ्चालकहरू भने खुल्ला रूपमा आफूले सेटिङ गरेकाले केही नहुने भन्दै उपकरणबाट ठगी गर्दै आएका छन् । उपकरणमा सञ्चालनमा शेयर हुने व्यवसायीहरूका सुनचाँदीका गर–गहानामाथि नै पनि प्रश्न आएको उपभोक्ता तथा व्यवसायीहरूले नै बताएका छन् ।
अवैधानिक रूपमा सञ्चालित उपकरणको संरक्षण गर्ने व्यवसायीहरूको अनुगमन र उत्पादन गर्ने वस्तुको गुणस्तर मापन गर्नुपर्ने व्यवसायी उनीहरूको भनाइ रहेको छ । यता ती उपकरणमा शेयर हुनेहरू पनि आफ्नो केन्द्रसम्म पहुँच भएकाले केही नहुने भन्दै ठगीधन्दा गर्नेहरूलाई संरक्षणमा लागेको स्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले संरक्षणमा लाग्ने व्यवसायीहरूको पनि अनुसन्धान हुनसक्ने बताए । सुनचाँदी जस्तो महत्वपूर्ण कुरामा ठगी हुँदै आएको भनेर गुनासो आइरहँदा अनुसन्धानसँग सम्बन्धित निकाय मौन बस्नाले सेटिङ नै भएको हो कि भन्ने लागेको एक व्यवसायीले नाम नखुलाउने शर्तमा बताए । साथै अन्य उपभोक्ता तथा मजदुरहरूले पनि सेटिङ भएको कारणले अनुसन्धान नआएको बताए ।