इनरुवा । इनरुवा बसपार्कको संरचना पूनः बेवारिसे अवस्थामा पुगेको छ । लामो समय लथालिङ्ग बनेको बसपार्कमा जसोतसो गाडी छिराइए पनि अन्ततः पूर्ववत् अवस्था दोहोरिएको छ । 

इनरुवा ४ मा निर्माण सम्पन्न बसपार्क स्थानीयको आन्दोलनसँगै सञ्चालनमा ल्याइएको थियो । तर वडा र स्थानीयले सडकमा धर्ना दिएर गाडी छिराउन थालेको १५ दिनमै अभियान तुहिएको छ । 

बसपार्कमा गाडी प्रवेश गराउने संघर्ष समितिको उपस्थिति सडकबाट हटेको छ । सडकमै कार्यालय स्थापना गरेको वडा नम्बर ४ को कार्यालयले बोर्डसमेत हटाएको छ । 

स्थानीय भन्छन्,  सुरुका दुई दिन नेपाल प्रहरी र ट्राफिकले ड्यूटी निभाएझैं गर्यो, त्यसपछि नगर प्रहरी । अब त त्यो पनि छैन् । सबै केवल देखावटी र नाटक मात्रै । उनीहरुको बुझाईमा बसपार्कको मुद्दा केवल जुँगाको लडाई मात्र थियो । 

बसपार्क सञ्चालनमा ल्याइनु पूर्व डाकिएको भेलामै सङ्घर्ष समिति भित्रै पुनः राजनीति हावी हुन सक्ने विषय उठान भएको थियो । स्वयम् समिति भित्रैका व्यक्तिहरु सोही कुरा चरितार्थ हुन पुगेको बताउँछन् ।

स्थानीय धर्मराज दाहाल भन्छन्, “बसपार्कमा धेरै राजनीति भयो । आन्दोलनका नाममा वडाबासीलाई मुछ्ने काम मात्रै भयो । सङ्घर्ष समिति भित्रै दोधारे रवैया भएका व्यक्तिले बर्बाद पारे । न त नगरपालिकाले नै केहि लछारपाटो लायो ।” 

स्वयम् वडा अध्यक्ष श्यामदेव मेहताले समेत सङ्घर्ष समितिलाई दोष देखाएका छन् । उनले आफुले वडाको तर्फबाट गर्ने सबैजसो सहयोग गर्दा समेत केहि व्यक्तिको स्वार्थले बसपार्क सञ्चालनमा ल्याउने योजना तुहिएको बताए । मेहताले राजनीति गोटी चालेर जस लिन खोज्ने प्रवृति बोकेका व्यक्तिका कारण बसपार्क सञ्चालनको विषय पुनः अन्यौलमा परेको बताए । 

दोचारे रवैया अपनाउँदै आएको आरोप खेप्दै आएका संघर्ष समितिका अध्यक्ष बौवालाल मेहताले भने आफुले वडावासी र जग्गादाताको हित बाहेक अरु केहि नसोचेको बताएका छन् । उनले बसपार्क नै सञ्चालन हुनुपर्छ भन्ने आफ्नो अडान कायम रहेको बताए । 

मेहताले बसपार्क सञ्चालनको विषयमा नगरपालिकाबाट पाउनु पर्ने सहयोग नपाउँदा केहि समस्या आएको बताए । यद्यपि उनले नगरपालिका सँग छलफल भैरहेको र प्रकृया संगत अघि बढ्ने बारे तयारीकै क्रममा रहेको बताए । अध्यक्ष मेहताले वडावासी, जग्गादाता र यातायात व्यवसायी सबै बसपार्क सञ्चालनलाई निरन्तरता दिने तर्फ गम्भिर रहेको बताए । 

उता इनरुवाका यातायात व्यवसायीहरुले भने नयाँ बनेको बसपार्कमा गएर व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए । उनीहरुले आन्दोलनका क्रममा समितिले गरेको आग्रह बमोजिम बस छिराउन सहयोग मात्रै गरिएको बताए । 

सङ्घर्ष समितिमा यातायात व्यवसायी तर्फबाट गठित समितिको उप संयोजक रहेका मनोज श्रेष्ठका अनुसार बसपार्क निर्माण पूर्व इनरुवाका यातायात व्यवसायी तथा मजदुरसँग कोही कसैले सरसल्लाहनै गरेनन् । सस्तो दामको खाल्टो जग्गा मूल्य बढ्ने आशमा दुई दर्जन बढीले सहजै दान दिएको बताउने श्रेष्ठले स्वार्थ बोकेकाले समेत आर्थिक लाभका लागि जग्गा किनेर बसपार्क निर्माण गरेको बताए ।   

उनले अपायक स्थानमा बसपार्क बनाइएकाले रोजीरोटी गुम्ने काम गर्न नक्ने बताए । उनले भने, “सखुवागाछी बाटै गाडीहरु बाटोमा रोक्न नदिई सिधै बसपार्कमा पुग्ने बन्दोवस्ती मिलाइन्छ भने मात्र काउण्टर सार्ने विषयमा सोच्न सकिन्छ । अन्यथा यस्तै हो ।”

बस व्यवसायी उद्धव पोखरेलसमेत अहिलेको अवस्थाका बिच नयाँ बसपार्क सञ्चालनको सम्भावना नरहेको बताउँछन् । सडक बिस्तार भएमा सहजता हेरेर उपयुक्त स्थानमा बसपार्क सञ्चालन गर्न सकिने उनको भनाई छ । उनले समेत नयाँ बसपार्क बनेको स्थान अपायक रहेको भन्दै सो स्थानमा काउण्टर राखेर सञ्चालन गर्नु भनेको आफूहरुको रोजीरोटी गुमे सरह हुने बताए । 

यता इनरुवा नगरपालिकाको कार्यालयले बसपार्क या अस्पताल कुन उपयुक्त भन्ने निर्णय लिनबाट चुक भएको बताएको छ । नगर प्रमुख राजन मेहताले आफु निर्वाचित भई आउनु पूर्व नै शिलान्यास भई निर्माण थालिएको बसपार्क अपायक स्थानमा बनेको तर्क गरेका छन् । 

मेहताले विविध कारणले अपायक र सञ्चालनमा आउने सम्भावना कम देखिएपछि प्रहरीको प्रादेशिक अस्पताल सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरेकोमा स्थानीयको विरोधका कारण बदल्नु परेको बताए । स्थानीयको माग बमोजिम सुनुवाई गरिदिए पनि बसपार्क सञ्चालनमा भने आउन नसकेको उनले बताए । 

मेहताले केहि व्यक्तिको स्वार्थ र गलत राजनीतिक संस्कारका कारण बसपार्कको संरचना लथालिङ्ग अवस्थामा पुगेको बताए । उनले नगरको दीर्घगामी विकास र समृद्धिसँग जोड्ने प्रादेशिक अस्पताल बन्न नदिनु दुःखद् भएको बताए । 

मेहताले भने “अस्पताल चलाउन दिइएन्, बसपार्क चलेन । डेटिङ पार्क राम्रै चलेको सुनेको छु । के गर्न सकिन्छ त्यसबारे छलफल गरेर निचोड निकाल्ने प्रयत्नमा छौं ।” 

इनरुवा बसपार्क स्मार्ट सिटी परियोजना अन्तर्गत शहरी बिकास मन्त्रालयले निर्माण गरेको थियो । सडक, बत्ति र पूर्वाधार सहित झण्डै तीन विगाह क्षेत्रफल ओगटेको बसपार्क १० करोड लागतमा निर्माण भएको हो । निर्माण सम्पन्न बसपार्क २०७५ साल पुष २५ गते नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।