विजयपुर। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोधपुछका लागि सहायता कक्ष (हेल्प डेस्क) नहुँदा बिरामीहरूले अनावश्यक सास्ती खेप्दै आएका छन् ।
भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराउँदै आएकी करिब ६५ वर्षीया कृष्णकुमारी पौडेललाई १ वर्ष पहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेको थियो । १ वर्ष पहिले नै रिफर गरे पनि कोरोना भाइरसको महामारीका कारणले १ वर्ष ढिला गरी सोमबार प्रतिष्ठानमा उपचारका लागि आइन् ।
तर, यहाँ आएपछि उनी कहाँ जाने भनेर अन्यौल परेको बताइन् । उनले परीक्षण गराउने स्थानमा पुग्न नै निकै लामो समय लागेको बताइन् । उनले भनिन्, ‘नयाँ ठाउँ पत्ता लगाउन सकिनँ, हेल्प डेस्क पनि रहेनछ । कता जानुपर्ने भनेर अर्का बिरामीलाई नै सोधेँ । ती बिरामीले पनि स्पष्ट बताउन नसकेपछि सुरक्षाकर्मी (सेक्युरिटी गार्ड) लाई सोधेँ । सुरक्षाकर्मीले आफ्नो ड्युटीको बावजुद बताइदिए ।’
सुरक्षाकर्मीले हतारमा बताएको उनले ठाउँ पत्ता लगाउनै सकिनन् । उनले भनिन्, ‘प्रतिष्ठानमा पहिलो पटक भएर थाहा भएन, भरतपुरमा त थाहा पाउँथेँ ।’ वृद्धा पौडेललाई उपचारका लागि लिएर आएका युवकले टाढाबाट उपचारमा आउने बिरामी हेल्प डेस्क नहुँदा दुःख पाउने गरेको बताए ।

उनले भने, ‘यत्रो बिरामीको चाप हुने अस्पताल एउटा हेल्प डेस्क नहुन दुःखद् हो, हेल्पडेस्क नहुँदा धेरै समस्या भयो ।’ प्रतिष्ठानमा प्रकाशपुरबाट उपचारका लागि आएका अच्यूत पोखरेललाई पनि उपचार हुने स्थानमा पुग्न नै गाह्रो भयो । उनले कहाँ भर्ना हुनुपर्ने हो भनेर आफूलाई जानकारी नभएकाले धेरै स्थानमा सोधेर भर्ना हुनुपर्ने स्थानमा पुगेको बताए ।
उनले हेल्प डेस्क नहुँदा समस्या भएको बताए । पोखरेल नाकमा सामान्य समस्या भएर प्रतिष्ठान आएका थिए । त्यस्तै सप्तरीबाट आफ्नो बुबाको उपचारमा आएका रामेश्वर थारुले पनि यस्तै समस्या भोग्नु परेको सुनाए । उनले भने, ‘एउटा हेल्प डेस्क छैन, हामी जत्तिको मान्छेलाई त समस्या भयो, झन् गाउँघरतिरबाट आउने बिरामीलाई कति समस्या होला ।’ उनले प्रतिष्ठानका कर्मचारीले राम्रोसँग नबताउने गरेको बताए ।
पूर्वको मात्र नभएर नेपालकै ठूलो मानिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । प्रतिष्ठानमा उपचारका लागि दैनिक ओपिडीमा ४ हजारदेखि ४ हजार २ सयसम्म बिरामी आउँछन् । तर, धेरै बिरामी उपचारका लागि आउने प्रतिष्ठानामा एउटा सहायता कक्ष (हेल्प डेस्क) नहुँदा बिरामीले सास्ती खेप्न बाध्य भएका छन् । प्रतिष्ठानका प्रदेश नं. १, २ र भारतबाट पनि बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
प्रतिष्ठान क्षेत्र ठूलो भएकाले गइरहने बिरामीहरू नै झुक्किने गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । झनै नयाँ बिरामीलाई त प्रतिष्ठानको उपचारको बारेमा अन्यौल हुने गरेको उनीहरू नै बताउँछन् । प्रतिष्ठानमा पहिले सहायता कक्ष (हेल्प डेस्क) रहेको थियो । प्रतिष्ठानलाई व्यवस्थित गर्नका लागि हेल्प डेस्क थप्नुपर्नेमा भएका पनि हटाएपछि बिरामी दुःख झेल्न बाध्य बनेका हुन् ।
प्रतिष्ठानमा आउने प्रायः बिरामीहरूलाई कहाँ भर्ना गर्ने ?, कहाँ रसिद काट्ने ?, नमुना सङ्कलन कहाँ गराउने ? ल्यावमा कसरी पुग्ने ?, नमुना परीक्षणको रिपोर्ट कहाँबाट लिनेजस्ता समस्याहरू बिरामी तथा बिरामीका कुरूवाहरूले भोग्दै आएका छन् ।
यति मात्र होइन, परीक्षणका लागि कहाँ जाने, कति नम्बर कोठामा जाने जस्ता समस्या पनि एक–दुई जनाको मात्र नभएर प्रतिष्ठानमा आउने अधिकांश बिरामीहरूको हो ।यी समस्या सहायता कक्ष नहुँदा उत्पन्न भएका हुन् । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोध्दा थाहा नहुने, थाहा भए पनि बोल्न नभ्याउनेलगायतका समस्या रहेको बिरामी तथा कुरुवाहरूले बताएका छन् ।
सहायता कक्ष नहुँदा प्रतिष्ठानमा धेरै बिरामीहरूलाई समस्या पर्ने गरेको प्रतिष्ठान स्रोतले नै बताएको छ । प्रतिष्ठानमा अन्य कर्मचारीहरूलाई पनि सहयोग नगर्ने, सहयोग गरिहाले पनि राम्रोसँग नगर्ने स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘सहयोग नगर्ने, एक–अर्कालाई देखाउने, सहयोग गरिहाले पनि झर्किएर रुखो बोलीमा प्रतिक्रिया दिन्छन् ।’
‘यसरी नयाँ बिरामी आएको छ भने उसलाई सोध्दा सोध्दै समय बित्छ’ –स्रोतले भन्यो । यस विषयमा प्रतिष्ठानका सह–प्रवक्ता चूडामणि पोखरेलले सामाजिक स्वास्थ्य बिमा भएको स्थानमा नै सहायत कक्ष (हेल्प डेस्क) रहेको दाबी गरे । उनले सामाजिक स्वास्थ्य बिमा भएको स्थानबाट सहायता कक्ष (हेल्प डेस्क) को पनि सेवा उपलब्ध गराइरहेको दाबी गरे ।
उनलाई त्यहाँ सामाजिक स्वास्थ्य बिमाको मात्र रहेछ भन्ने हुन्छ, छुट्टै स्थान सहायता कक्ष राख्न मिल्दैन ? भनी जिज्ञासा राख्दा समस्याका विषयमा बुझ्ने र छलफलबाट समाधान गर्ने बताए । तर, प्रतिष्ठानमा कार्यरत सुरक्षाकर्मीले पहिले एउटा सहायत कक्ष भएको तर, अहिले सहायता कक्ष नभएको बताए । प्रतिष्ठानका जानकारहरू १५ वटासम्म सहायता कक्ष आवश्यकता पर्ने बताउँछन् ।