धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागका चिकित्सकहरूले महँगो उपकरण प्रयोग नगरी दूरबिन प्रविधिबाटै सस्तोमा पाठेघरको शल्यक्रिया गर्न सकिने सरल विधि प्रयोगमा ल्याएका छन् ।

उक्त सरल प्रविधिबाट शल्यक्रिया गरे पनि उनीहरूले दूरबिन प्रविधि नै अपनाउने गरेका छन् । तर, दूरबिन प्रविधि अपनाउँदा अधिकांश अस्पतालका चिकित्सकहरूले महँगो मूल्य पर्ने मोरसलेटर डिभाइसको प्रयोग गर्ने गरेका छन् ।

महँगो उपकरण प्रयोग गर्दा बिरामीले शुल्क पनि बढी नै तिर्नुपर्ने हुन्छ । सस्तो विधि अपनाएका स्त्री तथा प्रसूति विभागका चिकित्सक डा. अजय अग्रवाल र डा. मदन खड्काका अनुसार यस्ता अटोमेटिक डिभाइस खरिद गरी शल्यक्रिया गर्दा बिरामीले महँगो शुल्क तिर्नुपर्ने हुन्छ ।

कतिपयसँग आर्थिक ल्याकत नपुग्दा रोग पालेर बस्नु पर्ने भएकाले आफूहरूले अन्य मुलुकका मेडिकल युनिभर्सिटीमा प्रशिक्षण लिएर आएपछि विपन्न महिलाहरूलाई लक्षित गरेर प्रतिष्ठानमा पनि सस्तोमा पाठेघरको शल्यक्रिया गर्न थालेको उनीहरूले बताए । 

मलेशियाबाट प्रशिक्षण प्राप्त स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मदन खड्काले भने, ‘यो विधिमा दूरबिन प्रविधिबाट समस्या पहिचान गरेर पेटमा सानो प्वाल पार्ने र म्यानुअल रूपमा पाठेघरभित्रको मासुको ऐंजेरु (डल्ला) हरूलाई काटेर लामो त्यान्द्रा बनाई त्यस प्वालबाट निकाल्ने गर्छौं । यसो गर्दा शल्यक्रिया सस्तो मात्र नभएर सुरक्षित पनि हुन्छ ।’

उनले उपचार तथा शल्यक्रिया शुल्क कम पर्नु भनेको बिरामीले तिर्ने आर्थिक भार पनि कम गर्नु नै भएकाले सर्वसाधारण र विपन्न बिरामीका लागि राहत पुग्ने बताए ।  लेप्रेस्कोपिक मायोमेक्टोमी प्रविधि भनिने उक्त प्रविधिबाट शल्यक्रिया गर्दा प्रतिष्ठानमा १६ हजार ५ सय रुपैयाँमात्र शुल्क कायम गरिएको छ ।

अन्य अस्पतालमा भने यो प्रविधिले प्रवेश पाएको छैन । निजी अस्पतालहरूले दूरबिन प्रविधि अपनाए पनि महँगो उपकरण प्रयोगमा ल्याउने भएकाले शुल्क पनि न्यूनतम् ६० हजार रुपैयाँभन्दा बढी लाग्ने गरेको छ ।

ताइवानबाट सस्तोमा पाठेघरसम्बन्धी शल्यक्रिया विधि सिकेर आएका प्रतिष्ठानका स्त्री तथा प्रसूति विभागका विशेषज्ञ चिकित्सक डा. अजय अग्रवालले भने, ‘यो प्रतिष्ठानमा हामी मुलुकमै सबैभन्दा सस्तोमा विभिन्न शल्यक्रियाहरू गर्न सक्छौं र गरिरहेका छौं । यस्ता शल्यक्रिया नेपालमै पनि सस्तोमा गुणस्तरीय रूपमा गर्न सकिन्छ भनेर उदाहरण दिएका छौं ।’  

उनका अनुसार गत आइतबार पाठेघरमा दश–दश एमएमको ऐंजेरुको समस्या लिएर आएकी ३९ वर्षीया महिलाको शल्यक्रिया पनि सस्तो प्रविधि अपनाएर गरेर सोमबार नै डिस्चार्ज दिएका थिए । उनले भने, ‘हामी बिरामीलाई कसरी कमभन्दा कम खर्चमा शल्यक्रिया गर्न सकिन्छ भन्नेमा प्रयासरत छौं ।’ उनका अनुसार प्रतिष्ठानमा सातामा सरदर चार–पाँच जनाको यस्तै विधिबाट सस्तोमा पाठेघरको शल्यक्रिया हुँदै आएको छ ।