पुराना बोतल, बोतलहरुमा मण्डलाको आकृति । त्यही कुँदेकी छन् आस्माले नेवारी संस्कार, संस्कृति । प्रयोग गरिसकेपछि थन्किएका बोतल, कप र ग्लासहरुमा सीप र सिर्जना प्रस्तुत गरेकी छन् आस्माले । केही बोतलमा थोप्लाहरुको मण्डला छ । केहीमा फूलहरुको मण्डला र केहीमा विभिन्न आकृतिहरुको मण्डला । 

सुनसरी टेक्निकल कलेज धरानबाट भर्खरै आस्मा श्रेष्ठले ‘ब्याच्लर इन फुड टेक्नोलोजी’ सकिन् । उनको पढाइअनुसारको काम भने खाद्य प्रविधि सम्बन्धी हो । तर पढाइसँगसँगै अभिवृद्धि भएको उनको रुचीले हस्तकला र व्यावसायिकताको रुप लिएको छ । 

Mahila_Udyami_Mela_Jhuna's_Fitness (6)

धरान १३ की आस्माले सीप र सिर्जनामा समय बिताएको एक वर्षभन्दा थोरै बढी भयो । लकडाउनको समयलाई सिर्जनामा लगाएकी उनले यही समयलाई व्यवसायिक बनाइन् । इन्टरनेटको दुनियाँमा प्रवेश गरिसकेपछि  विभिन्न सामाजिक सञ्जालहरुको प्रयोगद्वारा आस्माले आफ्नो व्यवसायको प्रवद्र्धन गरिन् । उनले आफ्ना सीप र कलालाई आर्थिक उपार्जनको माध्यम बनाइन् । 

‘घरमै प्रयोग भएका वाइनका बोटलहरु, जामका बोटलहरुलाई सफा गरेर त्यसैमा, हाम्रो कल्चरमा प्रयोग भइरहने मण्डलालाई रंगका माध्यमबाट सजाएँ,’ आस्माले भनिन्, ‘सुरुमा त हबीका रुपमा थियो, पछि धेरै नै बनाउन थालेपछि अनलाइन बिक्री पनि गर्न थालें ।’

आस्माका सीपद्वारा पोतिएका मण्डलाहरु र सजिएका बोतलहरुमा बत्तीहरु राख्न सकिन्छ । फूलहरु सजाउन सकिन्छ । बिरुवाहरु राख्न सकिन्छ । कोठाभित्र बाँच्न सक्ने ‘इन्डोर प्लान्ट’ राख्न सकिन्छ । टेबल तथा दराजहरुमा त्यतिकै पनि सजावटका सामग्रीका रुपमा सजाउन पनि सकिन्छ ।

Mahila_Udyami_Mela_Jhuna's_Fitness (5)

मण्डला प्रतीक वा चिह्नहरुको ज्यामितीय विन्यास हो । तर, विभिन्न अध्यात्मिक परम्परामा मण्डलालाई पूजा, अर्चना वा देवताहरुको आह्वानका लागि स्थापना गरिन्छ । मण्डला ध्यान र  अध्यात्मिक मार्गदर्शनको प्रतीक हो । पूर्वीय हिन्दू धार्मिक परम्परा, बौद्ध धर्म, जैन धर्मलगायतमा देवताहरुको आह्वानका लागि प्रतीकका रुपमा मण्डलाको निर्माण गरिन्छ । 

गत वर्षमात्र धरान आदर्श कलेजबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी इशा लिम्बूको पनि यस्तै सिर्जनात्मक शौखले व्यवसायिकता अँगालेको छ । लकडाउनकै समयलाई सदुपयोग गर्दै इशाले पनि हस्तकलामा आफ्नो हातको उपयोग गरिन् ।   

अभिरुचीलाई निरन्तरता दिँदादिँदै इशा पनि व्यवसायिक बनिन् । धरान १४ की इशाले घर बाहिर निस्कने वातावरण नभएपछि इन्टरनेटमा रहेका विभिन्न सञ्जालहरुलाई प्रयोग गरिन् । युट्युब, इन्स्टाग्राममा आफ्ना सिर्जनाहरुलाई परिचित गराइन् ।

Mahila_Udyami_Mela_Jhuna's_Fitness (4)

इशाले आफ्नै हातले निर्माण गरेको कानमा लगाउने झुम्का, मुन्द्रा र यार्लिङहरुलाई सामाजिक सञ्जालमा प्रवद्र्धन गरिन् । उनले बनाएका यार्लिङले अनलाइनमा भाउ पाए । धेरैले उनको कामको प्रशंसा गरे । र किन्न मागे । 

लक डाउनको मध्यतिरबाट उनले आफ्नो हस्तकलाका सामग्री बिक्री गर्न थालिन् । पहिलो महिना उनले ४५ हजार रुपैयाँको बिक्री गरिन् । दशैंतिहारको समयमा अझ बढी बिक्री गर्न सकिने उनको अपेक्षा छ । 

Mahila_Udyami_Mela_Jhuna's_Fitness (15) 1

आस्मा र इशा जस्तै आफ्नै पौरखले सिर्जना गरेर व्यवसायिकता अँगालेका २२ जनाभन्दा बढी महिला उद्यमीहरु शनिबार एकै ठाउँमा देखिए । उनीहरुले धरान १९ स्थित मुनामदन पथमा रहेको झुमाज फिटनेसद्वारा प्रवद्र्धित महिला उद्यमी मेलामा आफ्नो उद्यम र उत्पादनको प्रवद्र्धन गर्न पाए । 

हातले निर्माण गरिएका भाँडा, वर्तन, लत्ताकपडा, मिठाई, खाद्यान्न, खेलकुद र दैनिक जीवनमा उपयोगी सामग्रीहरुको शनिबार प्रवद्र्धन गरियो । प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले महिला उद्यमी मिनी मेलाको उद्घाटन गरिन् । 

महिलाहरुको सीप र सिर्जना प्रवद्र्धन गर्ने उद्देश्यले एक दिने मिनी मेला आयोजना गरिएको झुनाज  फिटनेसकी सञ्चालक झुना मेवाहाङले बताइन् । मुसहर, सदा समुदायले निर्माण गरेका गुन्द्री, चट्टाईदेखि विभिन्न जातीय परिकारसमेतका स्टल राखिएको  मेवाहाङले जानकारी दिइन् ।

महिलाहरुको सीप र पौरखलाई पनि व्यावसायीकरण गर्न सकिन्छ भन्ने सन्देश दिन महिला उद्यमी मेला आयोजना गरिएको बताउँदै मेवाहाङले भनिन्, ‘कुनै जात र लिङ्गका आधारमा मात्र व्यवसायलाई परिभााषित गर्ने हाम्रो पुरानो चलन छ, व्यवसाय सबैले सबैका लागि गर्न सकिन्छ भन्ने हाम्रो सन्देश हो ।’

Mahila_Udyami_Mela_Jhuna's_Fitness (5) 2

Mahila_Udyami_Mela_Jhuna's_Fitness (8)

Mahila_Udyami_Mela_Jhuna's_Fitness (11)

Mahila_Udyami_Mela_Jhuna's_Fitness (12)

Mahila_Udyami_Mela_Jhuna's_Fitness (13)

Mahila_Udyami_Mela_Jhuna's_Fitness (13) 1

Mahila_Udyami_Mela_Jhuna's_Fitness (14) 3

Mahila_Udyami_Mela_Jhuna's_Fitness (16) 2

Mahila_Udyami_Mela_Jhuna's_Fitness (17) 2