विजयपुर। धरानका विभिन्न क्याम्पस तथा स्कुलहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले घरेलु उत्पादनलाई अनलाइनमार्फत् बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् ।
धरान–१७ की अनिशा राई धरान उच्चमा बिबिएमा अध्ययनरत छिन् । उनले बिबिए अध्ययनका अलावा घरेलु उत्पादन महिलाहरूले प्रयोग गर्ने स्काफ, ब्याग तथा ज्याकेटलगायत विभिन्न सामग्री बुनेर अनलाइनमार्फत् व्यापार गर्दै आएकी छिन् ।
उनले ती सामग्री बुन्ने सीप कुनै औपचारिक तालिम लिएर भने गरेकी होइनन् । ‘साथीहरूले प्रयोग गरेको देखेपछि आफूलाई पनि प्रयोग गर्न र बनाउन इच्छा लाग्यो’ –उनले भनिन् । उनले केही सीप साथीकी हजुरआमाबाट पनि सिकिन् । उनले यो काम कुनै बाध्यताले भने गरेकी होइनन् । उनले भनिन्, ‘रहरले गरेको अहिले पकेट खर्च भइरहेको छ, कसैको भर पर्नु परेको छैन । पढाइमा पनि असर परेको छैन, राम्रैसँग उत्तीर्ण गरिरहेकी छु ।’
उनी एक्लै काम गर्छिन् । उनले जब उत्पादनको प्रचार गर्न थालिन् । विभिन्न माध्यमबाट माग आउन थाल्यो । उनको अहिलेको बजार काठमाडौं, विराटनगर र धरान हो । उनी अहिले अनलाइन व्यापार गर्छिन् । उनी भन्छिन्, ‘फोन तथा अनलाइनबाट अर्डर आउँछ अनि कुरियर गरिदिन्छु ।’
उनले व्यापारबाट मासिक ५ देखि १० हजार रुपैयाँ कमाउने गरेकी छिन् । पढाइ सकेपछि यही कामलाई पहिलो प्राथमिकता दिने उनको सोच छ ।
धरान–१४ की इसा एभेङ धरान आदर्शमा अध्ययनरत छिन् । उनले पनि घरेलु उत्पादनलाई अनलाइनमार्फत् बिक्री गर्दै आएकी छिन् । उनी महिलाहरूले प्रयोग गर्ने गरगहना बनाउँछिन् । उनले रेडिमेड पिस लिएर जोडेर ब्रासलेट, नेकलेस, किरिङ लगायतका सामग्रीहरू बनाउँदै आएकी छन् । उनी यसैबाट आफूलाई आवश्यक पकेट खर्च जुटाउँदै आएको बताउँछिन् ।
धरान–१३ बस्ने आश्मा श्रेष्ठ ब्याचलर इन फुड टेक्नोलोजी (बिटेक) अध्ययन गर्छिन् । त्यस्तै धरान–१९ की नोटकिन पाख्रिन पनि विद्यार्थी नै हुन् । उनीहरू पनि विभिन्न घर सजाउने सामग्रीहरू बनाएर बिक्री गर्दै आएका छन् ।
उनीहरूले आफ्नो इच्छालाई सदुपयोग गरेको बताए । उनीहरू आफूले बनाएका इण्डोर प्लाण्टहरू राख्न मिल्ने सामग्री, डट मण्डेलालगायतका सामग्री अनलाइनमार्फत् बिक्री गर्छन् ।
धरान–११ की नम्रता शाही युरेका स्कुलमा ब्याचलर एण्ड इन्फरमेसन टेक्नोलोजी ( आइटी) अध्ययनरत छिन् । धरान–१६ की सिम्रन धिताल बिबिए अध्ययन गर्दैछिन् । उनीहरू दुवै पढाइसँगै ‘ड्रिम क्याचर’ निर्माण गर्छन् । उनीहरूले यसैबाट पकेट खर्च पुग्ने गरेको बताए । धरान–१६ की पूजा आचार्यले अजमोल स्विट्स फर्म नै दर्ता गरेकी छन् ।
उनले वइफर, आलमण्ड डार्क चक्लेट, फ्रुट नट चक्लेट, बण्टी टेष्ट चक्लेट, कोरियोबल्स चक्लेट उत्पादन गर्दै आएकी छन् । रेलु उत्पादनलाई प्रदर्शनी गर्न धरान–१८ झुनाज फिट्नेस वेलनेसद्वारा सञ्चालित महिला उद्यमी मिनी मेलामा उनीहरूले हस्तकलाका उत्पादन प्रदर्शनीमा राखेका छन् । उनीहरूले जस्तै अन्य विद्यार्थीहरूले पनि घरेलु उत्पादनलाई अनलाइनमार्फत् बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।