चैत १५ः १६ ग्राम ९ सय ३० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले झापाको भद्रपुर–१० भृकुटी चोकबाट ३९ वर्षीय माइक मर्डी र कचनकवल–६ का २१ वर्षीय रोशन मगरलाई पक्राउ गर्यो ।
चैत १४ः झापाकै बिर्तामोड–५ का २५ वर्षीय दिपु चौधरी र वडा ३ बस्ने २५ वर्षीय सुवास ताजपुरिया १ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे ।
चैत १३ः प्रहरीले धरान–१५ बस्ने २२ वर्षीय सुजन धमला, २५ वर्षीय विधान आलेमगर, १९ वर्षीया मनुषा तामाङ र धरान–१७ बस्ने २१ वर्षीय अर्पण धमलालाई ११ ग्राम ब्राउनसुगरसहित पक्राउ ग¥यो ।
चैत १२ः उदयपुरको चौदण्डीगढी–६ बाट लागूऔषध लुपिजेसिक २७ एम्पुल, फेनारगन २७ एम्पुल, डाइजेपाम २७ एम्पुल र ५० ग्राम गाँजासहित स्थानीय २५ वर्षीय प्रभात मगर, ३२ वर्षीय सुरज राई र ३० वर्षीय सुमन राई पक्राउ परे ।

चैत ११ः झापाको मेचिनगर–६ बस्ने २० वर्षीय विवेक नेम्वाङ १ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे । उनलाई पानीटङ्कीबाट नेपाल–भारत सीमाक्षेत्रको मेची पुलबाट प्रहरीले पक्राउ गरेको थियो ।
चैत १०ः उदयपुर चौदण्डीगढी नगरपालिका–४ बाट ३ ग्राम ३८ मिलिग्राम ब्राउनसुगरसहित चौदण्डीगढी–५ का २३ वर्षीय सुनिल राई, उदयपुर त्रियुगा–१३ का २४ वर्षीय हरि खड्का, ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक रम्तेल, सप्तरी कङ्कालिनी बस्ने २० वर्षीय बब्लु मुखिया र २५ वर्षीय ऋषिकुमार क्षेत्री पक्राउ परे ।
चैत ९ः झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट ६० ग्राम एन्फाटामाइन आइस र ८५ ग्राम ब्राउनसुगरसहित कचनकवल–६ बस्ने २५ वर्षीय पञ्चानन्द राजवंशी, वडा ७ बस्ने ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी–६ बस्ने २० वर्षीय विष्णु पोद्दार र उर्लाबारी–५ बस्ने १६ वर्षीय एक बालक पक्राउ परे । सोही दिन झापाको बुद्धशान्ती–३ बाट २६ वर्षीय सुवास लिम्बू पनि पक्राउ परे । सुनसरीको धरान उपमहानगरपालिका–२ बाट पाँचथरको फिदिम नगरपालिका–१ बस्ने २३ वर्षीय सुवास आचार्य ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे ।
धरान / यो एकसातामा पक्राउ परेकाहरूको सङ्ख्या र बरामद भएका ब्राउनसुगर र अन्य खाले लागूऔषधको परिमाण विश्लेषण गर्दा पछिल्लो समयमा प्रदेश १ मा या त प्रहरी सक्रियता बढेको हुनुपर्छ, या त ब्राउनसुगरका कारोबारी र प्रयोगकर्ता बढेको हुनुपर्छ ।
चैत १५ मा प्रहरीले बरामद गरेको परिमाणको ब्राउनसुगरको १ हजार ८ सय ८१ डोज बन्छ । एक डोजमा बढीमा नौ मिलिग्राम समावेश गरिएको हुन्छ । अर्थात् एक डोज लिने हो भने एकसाथ १ हजार ८ सय ८१ जनाले प्रयोग गर्न सक्छन् । बजारमा प्रतिडोजको मूल्य यति नै भन्ने छैन । ग्राहकको आवश्यकता अनुसार मूल्य तोक्ने गर्छन् ।
सामान्यतया ब्राउनसुगर ओसार–पसार र बिक्रीवितरण गर्नेहरूले प्रतिडोज १५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । एकसातामा एक महिला र एक बालकसहित २४ जना पक्राउ परेका छन् । तीमध्ये तीन जनामात्र अन्यखाले लागूऔषध ओसार–पसारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । बाँकी सबै ब्राउनसुगर ओसार–पसार र प्रयोगकर्ता भएको आरोपमा पक्राउ परेको प्रदेश प्रहरीको तथ्याङ्क छ । यसको अर्थ पूर्वका सुनसरी, झापा, मोरङ र उदयपुरमा ब्राउनसुगरको कारोबार र प्रयोग अत्यधिक बढेको छ भन्ने बुझिन्छ ।
लागूपदार्थको कुलतमा फसेपछि उम्कन नसकेर १८ वर्षे उमेरका युवाहरूदेखि ४५ वर्षसम्मका प्रौढहरू ब्राउनसुगरको पछाडि दौडिरहेका देखिएका छन् । प्रहरीले प्रदेश १ का विभिन्न जिल्लाबाट दैनिक २ देखि ३ जना पक्राउ गर्दै आएको प्रदेश प्रहरीले जनाएको छ ।
पूर्वमा पछिल्लो पाँच वर्षयता लागूपदार्थ प्रयोगकर्ताहरू ब्राउनसुगर सेवन गर्नेतर्फ आकर्षित भएको प्रहरीको बुझाइ छ । गत साउन यता प्रहरीले ब्राउनसुगर ओसार–पसारमा संलग्नमध्ये १ सय ६९ जनालाई कारबाही गरेको छ । प्रदेश १ का विभिन्न जिल्लाबाट प्रहरीले १ किलो ६ सय ५१ ग्राम ६ सय ८१ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा प्रहरीले १ किलो ६ सय ६० ग्राम ८ सय ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो भने त्यसअघि २ किलो ६ सय २१ ग्राम ९ सय १७ मिलिग्राम बरामद गरेको थियो । अफगानिस्तानबाट भारतीय बजार हँुदै विभिन्न माध्यमबाट नेपाल भिœयाइने ब्राउनसुगरको मूल्य यति नै भनेर नतोकिए पनि प्रतिकिलो ६ करोड ५० लाख रुपैयाँभन्दा बढी भएको बताइन्छ ।
ब्राउनसुगर सम्बन्धी एक प्रहरी अधिकृतले भने, ‘नेपालमा ब्राउनसुगरको उत्पादन, प्रशोधन नहुने भएकाले भारतीय कारोबारीहरूले खुला नाकाको फाइदा लिँदै भिœयाउने गरेका छन् ।’ उनका अनुसार सानो–सानो प्याकेट बनाएर जहाँ पनि लुकाउन र बिक्रीवितरण गर्न सकिने भएकाले कारोबारमा संलग्न गिरोहले दुव्र्यसनीहरूलाई लक्षित गरेर ब्राउनसुगर बिक्रीवितरण गरेको हुनसक्छ ।
ब्राउनसुगरकै कारण पछिल्लो समयमा नेपाली समाज र परिवार प्रभावित भएका छन् । पढ्ने, लेख्ने, सिक्ने, अध्ययन अनुसन्धन गर्ने नयाँ पुस्ता ब्राउनसुगरको लतमा दिनदिनै फस्न पुगेपछि उनीहरूको समग्र स्वास्थ्य, शिक्षा, संस्कृति, संस्कारमा पनि उत्तिकै प्रभाव पारेको मानवशास्त्री सुरेश ढकालले बताए । उनले भने, ‘ब्राउनसुगर भित्रिनुमा नेपाल–भारतबीचको खुला सिमाना एउटा कारण हुनसक्छ । तर, यो नै प्रमुख कारण भने होइन । यसमा अनेक पक्षहरू छन् ।
यो आधुनिकीकरणसँगै युवापुस्तामा फैलिएको नकारात्मक पक्ष हो । अभिभावकको प्रत्यक्ष निगरानीमा छोराछोरीहरू रहन छाडेकाले यस्ता कुलतमा फस्ने सम्भावना बढेर जान्छ ।’ उनले व्यापारीहरूले पनि युवापुस्तालाई नै लक्षित गरेर लागूऔषधको कारोबार गर्ने गरेकाले पनि समाज र परिवारमा यो समस्या झन् जटिल बन्दै गएको बताए ।
ब्राउनसुगरको तुलनामा फर्मुला अन्तर्गत विभिन्न मनोद्दिपक औषधि मानिने कोरेक्स, डाइजेपाम, लुपिजेसिक, फेनारगन, स्पास्मोप्रोक्सिभन, नाइट्रोजन, डाइलेक्स डिसी कमै बरामद भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएस्पी ज्ञानेन्द्रबहादुर बस्नेतले प्रहरीलाई समेत छक्याएर ओसार–पसार, बिक्रीवितरण र प्रयोग हुने भएकाले जोगिनका लागि उनीहरूले अनेक उपाय लगाउने गरेका छन् ।
त्यसो त दुई दशक पहिले धरान लागूऔषध कारोबार र प्रयोगकर्ताका लागि स्वर्ग मानेका थिए । तर, अहिले पूर्वका विभिन्न सहरमध्ये इटहरी, विराटनगर, मेची नगरपालिका, दमकलगायत विस्तार हुँदै गरेका सहरहरू ब्राउनसुगर कारोबारी र प्रयोगकर्ताका लागि ‘ट्राञ्जिट पोइण्ट’ को रूपमा स्थापित हँुदै आएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका असिष्टेण्ट प्रोफेसर डा. सञ्जीव मिश्रका अनुसार मानसिक रोग भएकाले पनि लागूपदार्थ प्रयोग गर्न सक्छन् र लागूपदार्थ प्रयोग गरेकै कारणले पनि मानसिक रोग उत्पन्न गराउन सक्छन् । उनले भने, ‘खासमा लागूपदार्थ दुव्र्यसनको उपचार हुन्छ ।
यसका लागि औषधि, मोटिभेसन, थेरापीहरू प्रयोग हुन्छ ।’ उनले लागूपदार्थ प्रयोगकै कारण डिप्रेसन, एञ्जाइटी जस्ता मानसिक रोग उत्पन्न हुने बताए । किशोर उमेरदेखि वयस्क उमेरतिर जाँदाको ‘ट्राञ्जेक्सन’ समयमा हुने खुल्दुली, जिज्ञासा, कुनै देख्यो र भेट्यो भने त्यसलाई ‘ट्राई’ गर्ने मनोप्रवृत्ति बढी हुने भएकाले युवायुवतीहरू कुलतमा फस्ने सम्भावना बढी हुने गरेको मनोचिकित्सक डा. मिश्रले बताए ।