धनकुटा। चिया नेपालको निर्यातजन्य उत्पादनमध्ये प्रमुख नगदे बाली हो । राणाकालीन समयदेखि सुरुवात भएको नेपालको चिया खेती साना किसान स्तरमा आम्दानीको प्रमुख स्रोतको रूपमा विकसित भएको पाइन्छ । 

हाल पछिल्लो दशकदेखि चिया खेतीमा सहकारी क्षेत्रले पनि व्यावसायिकता दिइरहेको छ । करिब २ सय ५७ वर्षको इतिहास भए तापनि नेपालको चिया खेती प्राविधिक जनशक्ति क्षेत्रमा आत्मनिर्भर हुन सकेको छैन । चिया खेतीको विकासको लागि नेपाल सरकारको मातहतमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भएको छ ।

बोर्डले नेपाली चिया क्षेत्रको विकासमा धेरै क्रियाकलापहरू सञ्चालन गरे तापनि त्यो पर्याप्त हुन सकेको छैन । नेपालको संविधानले नै निजी सार्वजनिक तथा सहकारी क्षेत्रलाई आर्थिक विकासको तीन खम्बे अर्थनीति अवलम्बन गरेको अवस्था छ । नेपालको चिया सहकारीहरूको छाता सङ्गठन केन्द्रीय चिया सहकारी सङ्घ लि.ले प्राविधिक जनशक्तिको अभावलाई पूरा गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तयार गरेको पाठ्यक्रममा आधारित भई चिया प्राविधिक सहायक तह १ को तालिम सञ्चालन गरिरहेको छ । गत माघ ८ गतेदेखि तालिम सञ्चालन गरेको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिलको व्यवस्थापन तथा दक्षता सिटिइभिटी व्यावहारिक साझेदारीको सहयोगमा तालिम सञ्चालन गरिएको हो । गुणस्तरीय चिया उत्पादनको लागि सीप विकास परियोजना अन्तर्गत ४ सय ३० घण्टे प्राविधिक पहिलो चरणमा २९ महिलासहित १ सय जना चिया किसान, चिया कामदारले इलामको नेपालटार, जसबिरे, नयाँबजार, फिक्कल तथा कन्याममा तालिम लिइरहेका छन् । 

 यसै क्रममा सङ्घले तालिमको प्रभावकारिता सिकाइ तथा अनुगमनका लागि स्थानीय सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सिटिइभिटीको आङ्गिक शिक्षालय रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्यूट साँखेजुङ तथा सञ्चालक समितिहरूको सहभागितामा अनुगमन भ्रमण कार्य सम्पन्न गरेको छ । अनुगमनको क्रममा चिया तालिमका सहभागीहरूले तालिम निकै प्रभावकारी तथा प्राविधिक ज्ञानको अभावलाई परिपूर्ति गर्न सहयोगी भएको बताएका छन् ।

जसबिरे केन्द्रका तालिमका सहभागी विवेक राईले तालिमले चियालाई हेर्ने तरिका परिवर्तन भएको तथा यसको महŒव बढेको बताएका छन् । चिया खेती दिगो र अर्को पुस्तामा हस्तान्तरण गर्न सकिने भएकोले यसको दिगोपनको लागि अग्र्यानिक प्रविधिलाई अवलम्बन गर्नु पर्ने कुरामा तालिमका सहभागीहरूले जोड दिएको छ । तालिममा सहभागी भएका चिया किसानहरूले लामो समयदेखि चिया खेती गरिरहेको भए तापनि हाल तालिम लिएपश्चात् आफ्नो खेती प्रणालीमा धेरै त्रुटीहरू रहेको कुरा महसुस गरी तालिमबाट प्राप्त गरेको ज्ञानलाई आफ्नो चिया बगानमा प्रयोग गरी स्वरोजगार बन्ने कुरा बताएका छन् ।

तालिमका महिला सहभागीहरूले चियामा अधिकांश रूपमा महिलाहरूको सहभागिता हुने भए पनि उनीहरू टिपाइमा मात्र सीमित हुने र सोसम्बन्धी मात्र ज्ञान हुने भएकाले हाल तालिमपश्चात् चियाको नर्सरी व्यवस्थापन, काँटछाँट, रोग किरा व्यवस्थापन, मल तथा विषादीसम्बन्धी ज्ञान हासिल भएको बताएका छन् । तालिमको सहभागीहरूले तह १ को तालिमले चियाको प्राविधिक ज्ञान हासिल गर्ने कुरामा तिर्खा जगाएकोले सम्बन्धित निकायहरूसँग तह २ को अन्तर्गत प्रशोधनसँग सम्बन्धित पाठ्यक्रम विकास गर्नुपर्ने कुराको माग गरेको छन् । सोही क्रममा फिक्कल तालिम केन्द्रका सहभागीहरूले सूर्योदय नगरपालिका मार्फत् सबै सरोकारवाला निकायहरूलाई तह २ को पाठ्यक्रम निर्माण गरी तालिम सञ्चालन गर्न गराउन प्रस्तावसमेत पेश गरेका छन् । 

 अनुगमनको क्रममा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि प्राविधिक खगेन्द्र विष्टले तालिम सहभागीहरूलाई प्रश्नोत्तर गरी प्राविधिक ज्ञानको मूल्याङ्कन गरेका थिए । सो क्रममा तालिम सहभागीहरूमा चिया खेती प्रविधिसम्बन्धी एक तहको प्राविधिक ज्ञान हासिल गरिसकेको कुरामा खुसी व्यक्त गर्दै अब सो ज्ञानलाई व्यवहारमा लागू गरी चिया खेतीको माध्यमद्वारा समाजको विकासमा टेवा पुर्याउन आग्रह गरे ।

सोही अनुगमनको क्रममा रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्यूटका कृषि प्रशिक्षक एञ्जिला बिडारीले तालिम सहभागीहरूलाई नेपालको पहिलो चिया प्राविधिक सहायक तालिममा सहभागी भई तालिम प्राप्त गरिरहेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । तालिम सहभागीहरूको हाउभाउ, उत्साह तथा आत्मविश्वासले पनि एक तहको चिया प्राविधिक तयार भएको कुरा बताए । 

तालिम अनुगमनको क्रममा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले चिया इलामको तथा राष्ट्रकै आयस्रोतको रूपमा रहेकोले स्थानीय प्रदेश सरकारले चिया क्षेत्रमा लागेका किसानहरूलाई प्रोत्साहन गर्न विभिन्न योजनाहरू बनाउने कुरामा प्रतिबद्धता व्यक्त गरे । चिया क्षेत्रमा हाल देखिएको प्राविधिक ज्ञानको अभावलाई परिपूर्ति गर्न खासगरी प्रशोधनस्तरमा जनशक्ति निर्माण गर्नका लागि स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायहरूमा समन्वय छलफल तथा आवश्यक सहयोग गर्ने कुरा बताएका छन् ।

फिक्कल तालिम केन्द्रका सहभागीहरूको प्रस्ताव पत्र बुझ्दै सूर्योदय नगरपालिकाको मेयर रनबहादुर राईले तह २ को पाठ्यक्रम निर्माण तथा तालिम सञ्चालन गर्न सम्बन्धित निकायहरूसँग छलफल तथा समन्वय गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरे । तालिमका सहभागीहरूले तालिमद्वारा उत्पादन भएको चिया प्राविधिक सहायकहरूलाई नगर चिया सचिवालयले प्रस्ताव गरेको चिया निरीक्षकमा तालिमप्राप्त जनशक्तिहरूलाई प्राथमिकता दिन आग्रह गरेका थिए । 

अनुगमनको क्रममा केन्द्रीय चिया सहकारी सङ्घ लि. का महासचिव तथा परियोजनाका टोली प्रमुख रविन राईले तालिम सहभागीहरूको सीप परीक्षण गरी राष्ट्रिय मान्यताप्राप्त प्रमाण–पत्र प्रदान गर्ने कार्य अघि बढेको कुरा बताए । चियाको प्रशोधन तथा बजारीकरणमा आधारित भई तह २ को पाठ्यक्रम निर्माणका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग बैठक बसी प्रक्रिया अघि बढाइसकेको कुरा सहभागीहरूलाई बताए ।

Trainees-Kanyam-Venue