भण्टावारी ।सुनसरीको कोशी गाउँपालिकाका किसानहरूले ०६५ भदौ २ गते अगाडिसम्म आफ्नो खेतमा धान, सनपाट, मकै, गहुँ खेती गर्दै आएका थिए । तर, कोशीको पूर्वी तटबन्ध फुटेपछि बाढीले ३ हजार १ सय बिघा क्षेत्रफल बालुवामय बनाइदिएसँगै विकल्प खोज्दाखोज्दै एकदशक बिताए । 

नम्बरी जग्गा भए पनि बिक्री नहुने अवस्थामा पुगेपछि उनीहरू विकल्प खोज्न बाध्य भए । बालुवाले पुरिएको खेतमा कस्तो अन्नबाली लगाउँदा उत्पादन हुन सक्छ भन्ने खोजीमा सक्रिय भएका किसानहरू गतवर्ष भारतको राजस्थान भ्रमण अवलोकनमा निस्किए ।

राजस्थान भारतकै सबैभन्दा ठूलो बालुवामय मरुभूमि क्षेत्र हो । उक्त क्षेत्रमा बसोबास गर्नेहरूको जीविका र कृषि अन्नबाली उत्पादनबारे बुझ्न १० दिने भ्रमण गरेका थिए । त्यहाँ उनीहरूले कृषिविज्ञहरूसँग अन्तरक्रिया पनि गरेका थिए ।

त्यहाँका कृषक र कृषिविज्ञहरूले दिएको सुझावको आधारमा कोशी गाउँपालिकाका कृषकहरूले राजस्थान मोडेलअनुसार खेती सुरु गरेको गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताए । उनले उक्त मोडल कोशी गाउँपालिकाका कृषकका लागि प्रभावकारी बन्दै गएको बताए ।  

किसानले एकल प्रयासमा करिब ६ सय बिघा जग्गा पूर्वअवस्थामा फर्काए पनि २५ सय बिघा जग्गा बालुवामय अवस्थामा थियो । गाउँपालिका अध्यक्ष अन्सारीले गाउँपालिकामा राजस्थान मोडेलमा ड्रागन फ्रुट, अनार, लौका, कागती, बदाम, बयर खेती प्रभावकारी बनेको बताए ।

बाढीले हजारौं किसान प्रभावित भएकोमा हालसम्म पूर्वअवस्थामा फर्कन सङ्घर्षरत रहेको अध्यक्ष अन्सारीले बताए । 

उनले भने, ‘कोशी गाउँपालिका क्षेत्रका किसानको जीवनस्तर उकास्न एकल प्रयास पूर्ण नहुने भएकोले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक छ ।’ गाउँपालिकाले किसानलाई पूर्वअवस्थामा फर्काउनका लागि कृषि क्षेत्रमा आधुनिकीकरण र व्यावसायीकरण गर्न लागेकोले सोही अनुसार योजना बनाएको उनको भनाइ छ । 

उनले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणसँगै गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने योजना अघि सारेको छु ।’

आफूलाई जनताले विश्वास गरेर निर्वाचित गराएको हुँदा नेता बन्ने तर, जनता नबन्ने परिपाटी अन्त्य गर्न आफूले कृषि आधुनिकीकरण कार्यक्रम ल्याएको उनले दाबी गरे । उनले उक्त कार्यक्रम कार्यान्वयन गर्न जनप्रतिनिधिले मात्र लागेर सम्भव नुहने भएकाले सबै पक्षको साथ र सहकार्यको अपेक्षा गरेको बताए । 

विरोधको लागि विरोध गर्नुभन्दा विकासको लागि एकजुट हुन आग्रह गर्दै अध्यक्ष अन्सारीले गरिब जनताको जीवनस्तर उकास्न ल्याइएको योजनामा सबै पक्षले सहयोग र सहकार्य गर्नेमा आशावादी भएको बताए । 

कोशीको तटबन्ध फुट्दा सुनसरीको साविकका श्रीपुर, हरिपुर, पश्चिमकुशाहा र लौकही गरी चारवटा गाविसका ३५ हजार घरपरिवार बाढीबाट प्रभावित भएका थिए । ती क्षेत्रमा अहिले पनि सयौं बिघा जग्गा बाँझो र बालुवामय रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कोशी गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालनमा आएको कार्यक्रम संयोजक दीपेन्द्र पोखरेलले बताए । 

राजस्थान मोडेलको खेती अन्तर्गत कोशी गाउँपालिका–५ का स्थानीय किसान असगर अली दुई बिघा जग्गामा कागतीको नमुना खेती गरिरहेका छन् । बालुवामय जग्गामा गाउँपालिकाका जनप्रतिनिधिको र जिल्ला कृषि ज्ञान केन्द्रको सहयोगमा नमुना कागती खेती गरेको उनले बताए । उनीसँगै स्थानीय सहाबुद्दिन, जलाउमुद्दिनलगायत २५ किसानले नमुना कागती खेती गरिरहेका छन् ।

११ वर्षअघि आएको बाढीको कारण बालुवामय बनेको जग्गालाई पूर्ववत् अवस्थामा फर्काउने उद्देश्यले गरिएको राजस्थान अवलोकन भ्रमण उपलब्धिमूलक भएको किसान अलीको कथन छ । राजस्थानका कृषिविज्ञहरूले माटो परीक्षणपश्चात् अनार, लौका, कागती, बदाम, बयर खेती हुनेबारे जानकारी गराएपछि गाउँपालिकाको विभिन्न स्थानमा उक्त खेती गरिएको हो । भारत राजस्थानका कृषिविज्ञहरूले दिएका सुझावअनुसार कम लगानीमा कागती खेती गर्नसके कोशी क्षेत्रका किसानको जीवनस्तर उकास्न सहज हुने गाउँपालीका अध्यक्ष अन्सारीको भनाइ छ । उनले भने, ‘गएको आर्थिक वर्षको तथ्याङ्क हेर्दा अर्बौं रुपैयाँको कागती भारतबाट आयात भएको छ । त्यसैले कोशी क्षेत्रमा कागती खेतीलाई प्राथमिकतामा राखेका छौं ।’

 उत्पादन गरिएका कागती, ड्रागन फ्रुट, लौका, अनारले नेपालमा बजार पाउन सक्ने बताए । खेती गरिएको जग्गा घेराबेरा गर्न, जनावर आतङ्क रोक्न आवश्यक रहेको अन्सारीको भनाइ छ ।