काठमाडौं। काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवोटिक सर्जरी’ थाल्ने भएको छ ।

अत्याधुनिक रोवोट मेसिन ल्याएर ‘रोवोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोवोटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब डेढ महिनाभित्र ‘रोवोटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।

अत्याधुनिक र भरपर्दो उपचारका लागि केएमसीले न्यूरोसम्बन्धी शल्यक्रियामा रोवोट प्रयोग गर्ने तयारी गरेको हो । त्यसपछि अन्य शल्यक्रियामा पनि रोवोटको प्रयोग गर्ने केएमसीको योजना छ । ‘रोवोटिक सर्जरी’ मा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोवोटको सहायता लिएर अप्रेसन गरिन्छ । सूक्ष्म एवम् जटिल शल्यक्रियामा रोवोटको सहायता लिँदा शल्यक्रिया गर्न धेरै सहज हुने केएमसीका वरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापाले बताए ।

‘रोवोटले नै सबै अप्रेसन गर्ने चाहिँ होइन, सर्जनले प्लान गरेर रोवोटको सहायता लिएर अप्रेसन गर्ने हो । सानो–सानो अङ्गमा पुगेर गरिने सूक्ष्म अप्रेसनमा सर्जनको हात काम्न सक्छ, त्यस्तो अवस्थामा रोवोटको सहायता लिँदा फिक्स काम हुने हुनाले सर्जनलाई सजिलो हुन्छ’ डा.थापाले भने, ‘सानो प्वाल बनाएर गर्नुपर्ने अप्रेसन, शरीरको संवेदनशील अङ्गमा पुगेर गरिने जटिल अप्रेसनहरूमा रोवटको निकै ठूलो भूमिका हुन्छ । जसका कारण अप्रेसनको बेस्ट रिजल्ट प्राप्त हुन्छ ।’

चिकित्सकहरूका अनुसार नेपालका कुनैपनि अस्पतालमा हालसम्म ‘रोवोटिक सर्जरी’ सुरु भएको छैन । अत्याधुनिक र भरपर्दो मानिने यो सर्जरी केएमसीले नेपालमै पहिलो पटक सुरु गर्न लागेको हो ।

पूर्वमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गत भदौ महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता बढाउँदै लगेको छ । केएमसी प्रवेशसँगै उनले ओपीडी पनि निःशुल्क गराएका छन् ।

कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला डा.शर्माले केएमसीमा २५ सयमै पीसीआर परीक्षण गराएका थिए । सरकारले तोकेको भन्दा १९ सय रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएर डा.शर्माले प्रशंसा कमाए । बढी शुल्क तोकेको भन्दै सरकारको आलोचना भएपछि पीसीआर परीक्षण शुल्क घटाउन सरकार बाध्य भएको थियो ।