विजयपुर। बचत तथा ऋण सहकारी संस्थाहरूलाई नियमन गर्ने नियामक निकाय कमजोर हुँदा बचतकर्ताहरू जोखिममा पर्दै आएका छन् । 

उच्च वर्गकादेखि कमजोर आर्थिक अवस्था हुने व्यक्तिहरूले सहकारीमा बचत गर्दछन् । दिनभर काम गरेर छाक टार्नेहरूले समेत केही अंश जोगाउन बचत गर्छन् । तर, बचतकर्ताहरूको सानोदेखि ठूलो रकम सहकारी सञ्चालक वा निक्षेपकर्ताबाट नै हिनामिना गर्ने प्रवृत्ति बढ्दै गएको छ । बचतकर्ताको बचत सङ्कलन गर्न दिनभर घामपानी नभनी हिँड्ने बजार प्रतिनिधि तथा सङ्कलकहरू पनि सहकारी निक्षेपकर्ताबाटै असुरक्षित बन्दै गएका छन् ।

सल्लेरी बचत तथा ऋण सहकारीकी बजार प्रतिनिधि (सङ्कलक) विमला दर्नाल करिब २ वर्ष पहिले सहकारीका सञ्चालकले गरेको बदमासीका कारण अहिलेसम्म मानसिक तनाव खेपिरहेको बताउँछिन् । दर्नालले सङ्कलक भएकै कारणले केही बचतकर्ताको बचत रकम भुक्तानीसमेत गर्नुपर्ने बाध्यता रहेको बताइन् । 

२०७६ साल साउनमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कृष्ण विश्वकर्माले बचतकर्ताको करिब ८ करोड २३ लाख रुपैयाँ हिनामिना गरेका थिए । विश्वकर्मा अहिले जेल जीवन बिताइरहेका छन् । 

यता दिनभर काम गरी बचत गर्नेदेखि ठूलो रकम बचत गर्नेसम्म पीडित बनेका छन् । श्रेया बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१५ ले सहकारी ऐन विपरीत कार्य गर्दा बचतकर्ताको करोडौं रकम जोखिममा परेको छ । लिमिटेडका सञ्चालकले राष्ट्र बैङ्क र सहकारी ऐनले निर्धारण गरेभन्दा बढी ब्याजदर दिने प्रलोभन देखाएर करोडौं जम्मा गरेका थिए । ऐनअनुसार सहकारीले बचतकर्तालाई बढीमा ८ प्रतिशतसम्म ब्याज दिन मिल्छ ।

तर, श्रेयाले नियममा व्यवस्था भएभन्दा दोब्बर २२ प्रतिशतसम्म दिने भन्दै बचतकर्ताको करोडौं बचत गरेको तथ्य सार्वजनिक भएको छ । श्रेयाले बचतकर्ताको १५ करोड ८७ लाख ९६ हजार ९ सय रुपैयाँ फिर्ता  गर्न नसकेको तथ्य पनि बाहिरिएको छ । श्रेया सहकारीको कार्यालय अहिले बन्द छ भने बचतकर्ता समस्यामा परेका छन् । पछिल्लोपटक सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू पनि निक्षेपकर्ता वा सञ्चालकबाट नै पीडित बनेका छन् । सयपत्रीले पनि बचतकर्ताको ३ करोड ७६ लाख रुपैयाँ हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । उक्त सहकारीका बचतकर्तादेखि बजार प्रतिनिधिसम्म पीडित बनेका छन् । 

यी धरानमा भएका प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता घटना धरानमा मात्र भने भएका होइनन् । अर्थविज्ञ कृष्ण अग्रवाल नेपालभर नै ठूलाठूला पुँजी परिचालन गर्ने सञ्चालकले बचतकर्ताको बचत रकम अपचलन गरेको बताउँछन् । अग्रवाल नियामक निकाय कमजोर भएका कारणले सहकारीहरूमा विकृति बढ्दो रहेको बताउँछन् । अग्रवाल भन्छन्, ‘बचतकर्ताले सुरक्षित ठानेर बचत गर्छन्, तर सहकारीले असुरक्षित क्षेत्रमा लगानी गर्छन् । त्यसैले जोखिम बढेको हो ।’

उनले बैङ्कहरूलाई राष्ट्र बैङ्कले नियमन गर्ने तर, सहकारीलाई अनुसन्धान, नियमन, अनुगमन गर्ने निकाय नभएकाले समस्या भएको बताए । अग्रवाल सहकारीको विकृतिलाई निरुत्साहित गर्नका लागि स्थानीय सरकार, प्रादेशिक सरकार तथा सहकारी मन्त्रालयले नै दह्रो नीति बनाउनु पर्ने बताउँछन् । अर्का अर्थविज्ञ तथा सह–प्राध्यापक डा.राजेन्द्र शर्माले नियामक निकायको कमजोरीका कारणले सहकारीका बचतकर्ताको रकम जोखिममा परेको बताए । उनले स्थानीय सरकारमा अधिकार आएपछि अधिकारको दुरुपयोग गर्दै व्यक्तिगत वा क्षेत्रगत रुचिका कारणले समस्या आएको बताए । यसको नियन्त्रणका लागि अनुगमन समितिभन्दा माथिल्लो तहको उपमहानगरको मातहत रहने गरी अधिकारप्राप्त गैरराजनीतिक समिति बनाई नियन्त्रण र नियमन गर्न लाग्नुपर्ने शर्माको बुझाइ छ । 

धरान उपमहानगरका वरिष्ठ आर्थिक विकास अधिकृत तथा सहकारी विकास समितिका सदस्य सचिव भक्तिराज शर्मा सहकारीमा विभिन्न समस्याबारे जानकारी आएकाले स्थानीय तहलाई प्राप्त अधिकारअनुसार अनुगमन मूल्याङ्कन गरेर आवश्यक कारबाही अगाडि बढाउने बताउँछन् । उनलाई सहकारीमा अपचलन गर्नेहरू जनप्रतिनिधिहरू पनि छन् कारबाहीको प्रक्रिया अगाडि बढाउन समस्या होला नि ? भनी जिज्ञासा राख्दा जनप्रतिनिधिले नै ऐन निर्माण गरेकाले अप्ठ्यारो नपर्ने बताए ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीका रजिष्ट्रार बलराम निरौलाले धरानका देखिएका सहकारीको समस्या स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले स्थानीय सरकारले अनुगमन नियन्त्रण गर्नुपर्ने बताए । उनले धेरै सहकारीहरूले उद्देश्य एउटा काम अर्को गरिरहेकाले उद्देश्य अनुरूपको काम गर्नुपर्ने बताए । उनले भने, ‘उद्देश्य एउटा छ, काम अर्को गरिरहेका छन्, सहकारीले  उद्देश्यअनुरूपको काम गर्नुपर्छ, त्यसका अनुगमन, नियन्त्रण र नियमन स्थानीय सरकारले गर्नुपर्छ ।’ 

१ नम्बर प्रदेशमा ४ हजार ७ सय ३७ वटा सहकारी रहेका छन् । जसमध्ये १ हजार ४५ वटा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको अधिकार क्षेत्रमा पर्ने रजिष्ट्रार निरौलाले बताए । उनले स्थानीय सरकारले आफ्नोे अधिकार क्षेत्रमा पर्ने सहकारीलाई उद्देश्यअनुरूप काम गराउनु पर्ने बताए ।