धरान/आरएनए समूहको कोरोना भाइरसले संसारभर आतङ्क मच्चाइरहेको बेला तीन सातायता सोही समूहको आर्टरीभाइरेड भाइरसले धरानका बङ्गुरफार्ममा पालिएका बङ्गुरहरू सङ्क्रमित भएर मर्ने क्रम बढेको छ । 

आर्टरीभाइरेड भाइरसले बङ्गुरको शरीरमा आक्रमण गरेपछि बङ्गुरमा खाना नखाने, धेरै सुत्ने, ज्वरो आउने, गर्भिणी बङ्ंगुरहरूको बच्चा तुहिने, जन्मेका बच्चा मर्नेजस्ता लक्षणहरू देखा पर्छन् । उक्त भाइरस विरुद्धको पनि कुनै खोप नभएकाले कतिपयले यसलाई बङ्गुरमा लाग्ने कोरोना भाइरस पनि भन्ने गरेका छन् ।

मानिसलाई लाग्ने कोरोना भाइरसले जस्तै बङ्गुरमा लाग्ने भाइरले श्वास–प्रश्वास तथा प्रजनन् सम्बन्धी रोग उत्पन्न गराउने गरेको छ । धरानका बङ्गुर फार्ममा बङ्गुर मर्न थालेपछि धरानका चार दर्जन बङ्गुरपालक कृषकहरू चिन्तित भएका छन् । लाखौं रुपैयाँ लगानी गरेर सञ्चालन गरेको बङ्गुर फार्मका कृषकहरूले तीनसाताको अवधिमा करिब दुई करोड रुपैयाँ बढीको क्षति व्यहोर्नु परेपछि चिन्ता थपिएको हो । 

धरानका बङ्गुर फार्ममा तीन सातायता आर्टरीभाइरेड भाइरसका कारण श्वास–प्रश्वास र प्रजनन् सम्बन्धी रोग इपिडेमिकरूपमा फैलिएको छ । उक्त भाइरस सङ्क्रमण भएपछि बङ्गुर मर्ने सम्भावना बढ्छ । धरान उपमहानगरपालिकाका कृषि सेवा शाखाका पशु डाक्टर विर्खराज राईका अनुसार बङ्गुरमा पछिल्लो समय देखिएको आर्टरीभाइरेड भाइरस राइबोन्यूक्लिक एसिड (आरएनए) समूहको भएकाले यसको औषधि छैन । यसले पिआरआरएस अर्थात् पर्साइन रिप्रोडक्टिभ एण्ड रेस्पीरेटरी सिण्ड्रोम भन्ने रोग उत्पन्न गराउँछ ।  

उनले भने, ‘यो भारइरसले बङ्गुरको प्रजनन् क्षमता कमजोर बनाउने र उच्च ज्वरो तथा निमोनिया गराएर श्वास–प्रश्वासमा समस्या उत्पन्न गराउने हुँदा बङ्गुरपालक कृषकले क्षति व्यहोर्नु परेको छ ।’ धरान क्षेत्रभरि करिब ६० वटा बढी ठूला–साना बङ्गुर फार्म छन् । धरानमा सबैभन्दा बढी मासुको खपत बङ्गुरकै हुने भएकाले बङ्गुर फार्मको सङ्ख्या धेरै भएको हो ।

तर, भाइरस सङ्क्रमणले गर्दा हुने रोग एउटा बङ्गुरदेखि अर्को बङ्गुरमा सजिलै सर्ने भएकाले बङ्गुर कृषकहरूले धेरै क्षति व्यहोर्नु परेको उनले बताए । सङ्क्रमित बङ्गुरका रगतको नमुना र मरेका पाँचवटा बङ्गुरको पोष्टमार्टम गरेर मुटु, कलेजो, मिर्गौला, फोक्सोको टुक्रा सङ्कलन गरेर थप अनुसन्धान पनि भइरहेको डा. राईले बताए । 

धरानका विभिन्न बङ्गुर फार्ममा बङ्गृुरका माउ मर्ने, बच्चा जन्मेको साता दिनमै मर्ने, गर्भिणी माउले बच्चा तुहाउने, उच्च ज्वरो आउने, निमोनिया भएर श्वास–प्रश्वासमा समस्या आउने गरेपछि पशु डाक्टरहरूले सङ्क्रमित बङ्गुरको रगत, मरेका बङ्गुर पोष्टमार्टम गरेर फोक्सो, मुटु, कलेजोको नमुना सङ्कलन गरेर विराटनगरस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र पशुविज्ञ केन्द्र इनरुवामा पिआरआरएस एलैजा टेष्ट गर्न पठाइएका थिए ।

तर, दुवै ठाउँबाट रोगको पहिचान हुन नसकेपछि धरानमा सङ्कलित नमुनालाई काठमाडौंस्थित त्रिपुरेश्वरको केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा  पठाएपछि मात्र बङ्गुरमा आर्टरीभाइरेड भाइरसको सङ्क्रमणले श्वास–प्रश्वास र प्रजनन्सम्बन्धी रोग लागेको पहिचान गरिएको थियो ।

देवान कृषि फार्मका सञ्चालक नेत्र देवानले उक्त भाइरसको सङ्क्रमणको कारण १८ लाख रुपैयाँ क्षति भएको बताए । उनका अनुसार उन्नत जातका बङ्गुरका माउहरूले जन्माएका बच्चा एक सातामै मर्ने र कतिपय मरेको बच्चा नै मात्र जन्माउने गरेकाले धेरै क्षति पुगेको छ ।

धरानको आरुबोटे कृषिफार्ममा तीनसातामा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक सदस्यमध्येका महेश (मेन्याङ्बो) ले बताए । उनले भने, ‘हाम्रो फार्ममा पालिएका बङ्गुरमध्ये ११ माउले जन्माएको एक सातामा १ सय २५ बढी पाठापाठी मरे । सात माउले १ सय २० भन्दा बढी मरेको बच्चा जन्माए । दुईवटा माउ नै मरे । अझै कति मर्ने हुन् थाहा छैन ।’

पशु डाक्टरहरूले बङ्गुरमा देखिएको उक्त भाइरस बङ्गुरदेखि बङ्गुरमा मात्र सर्ने बताएका छन् । पशु डाक्टर राईले भने, ‘यो भाइरस बङ्गुरबाट मान्छेमा नसर्ने भएकाले मान्छेलाई असर पर्दैन । तर, बङ्गुर फार्म सञ्चालकहरूले भने आर्थिक रूपमा धेरै क्षति व्यहोर्नु परेको छ ।’ सुनसरीको वराहक्षेत्र नगरपालिकामा उक्त भाइरस करिब दुई महिनाअघि नै फैलिएको धरान उपमहानगरका पशु सेवा शाखाका पशुविकास अधिकृत महेन्द्रकुमार पैकारले बताए । 

बङ्गुर फार्म सञ्चालकहरूले तीन सातायता धरानका बङ्गुर पालकहरूलाई करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरे पनि पशु सेवा शाखाले भने २ सय ८१ बङ्गुर मरेका र ४७ लाख ७४ हजार रुपैयाँ बढीको क्षति पुगेको जनाएको छ ।