धरान/ इमर्जेन्सी कक्षमा उपचारका लागि आउने विराम र घाइतेको चाप थेग्न नसकेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबारदेखि नयाँ इमर्जेन्सी कक्षको व्लक विस्तार गरेको छ । नयाँ ब्लकको क्षमता २१ बेडको रहेको छ ।

प्रतिष्ठानमा २५ बेडको मुख्य इमर्जेन्सी कक्षलाई करिव १० बर्षअघि क्यान्टीन हटाएर त्यसमा थप २५ बेडसहित ५० बेडमा विस्तार गरिएको थियो । तरपनि प्रदेश १, २ र भारतीय सिमावर्तीका घाइते तथा विरामीको चाप अत्यधिक भएपछि पुरानो कक्षले थेग्न सकेको थिएन ।

प्रतिष्ठानले आफ्नै आन्तरिक श्रोतबाट करिव २ करोड ३० लाख बजेटमा पुरानो इमर्जेन्सी कक्षसंगै नया व्लक निर्माण गरेर थप २१ बेडको नया इमर्जेन्सी कक्ष विस्तार गरेको हो । प्रतिष्ठानको मुख्य इमर्जेन्सी कक्ष अव ७१ बेड क्षमताको भएको छ । 

नयाँ व्लकको बुधबार प्रतिष्ठानका उपकुपति प्राडा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्राडा गौरीशंकर साह, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी र इमर्जेन्सी तथा फेमिली मेडिसिन विभाग प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नयाँ व्लकमा चिकित्सक, नर्स र कन्सल्ट्यान्स गरेर आठजना खट्ने छन् ।

प्रतिष्ठानको इमर्जेन्सी कक्षमा दैनिक डेढ सयदेखि दुइसय विरामी वा घाइते उपचारका लागि ल्याइने गरिएको छ । इमजेन्सी विभाग प्रमुख प्रा डा ज्ञानेन्द्र मल्लले भने, ‘२१ बेडको नयाँ व्लक विस्तार भएकाले विरामी र उपचार सेवामा सम्लग्न चिकित्सक, नर्सलाई केही राहत मिल्ने छ ।’ 

डा मल्ल नेपालमा पहिलोपटक प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्डको अष्ट्रेलेसियन ट्रियाज पद्धती भित्राउने चिकित्सक हुन् । उनकाअनुसार अष्ट्रेलेसियन ट्रियाज पद्धतीमा अति गम्भीर विरामीलाई सवैभन्दा पहिले उपचार गरिन्छ । त्यसपछि अति गम्भीर भन्दा केही कम गम्भीरलाई क्रमैसंग उपचार गरिन्छ । 

तर इमजेन्सी कक्षको क्षमता ५० जनाको मात्र भएकाले दोव्वर घाइते र विरामीको चाप थेग्न नसक्दा चिकित्सकहरु नै आजित भएका थिए । विस्तार भएको नया व्लकका कारण केही राहत मिले पनि सोही अनुसार प्रतिष्ठानले वार्डमा थप बेडको पनि विस्तार गर्नु पर्ने भएको छ । 

इमर्जेन्सी कक्षमा २४ घण्टा बढी विरामी राख्न नपर्ने गरी रोग अनुसार वार्ड, आइसियु, एसआइसियुमा पनि बेडहरुको विस्तार गर्नुपर्ने देखिएको एक चिकित्सकले बताए । ती चिकित्सककाअनुसार पछिल्लो समयमा प्रतिष्ठानमा चिकित्सकले बेड भर्ना गर्नुपर्छ भनेर लेखिदिएपनि वार्डमा भने बेड अभाव हुने गरेको छ । इमर्जेन्सी कक्षबाट पनि पठाउने भनेको वार्डमा वा आइसियुमा नै हो ।