विराटनगर। १२ चैतमा धरान उपमहानगरपालिका–८ की ३१ वर्षीया सम्झना राईको हत्या आफ्नै श्रीमान्ले गरे । ३७ वर्षीय तिलबहादुर माझीले श्रीमती सम्झनालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

११ फागुनमा झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ वर्षीय सरे राई श्रीमती हत्या आरोपमा पक्राउ परे । उनले मादक पदार्थ सेवन गरी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको हत्या गरेका थिए । पक्राउ परेका राई अहिले पुर्पक्षको लागि थुनामा छन् । 

उल्लेखित घटनाले समाजमा आपराधिक मनोवृत्ति कुन हदसम्म मौलाएको छ भन्ने देखाउँछ । सामान्य विवादमा श्रीमतीलाई खुकुरी हान्ने हदसम्मको आपराधिक मनोवृत्ति मानिसमा के कुराले बढाउँदैछ ? यो समाजशास्त्री र अपराधशास्त्रीको अध्ययनको विषय हुन सक्ला । तर, पछिल्लो समय प्रदेश १ मा जघन्य प्रकृतिका अपराधको ग्राफ बढ्दो छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ हजार ८ सय ७६ वटा मुद्दा दर्ता भएकामध्ये सबैभन्दा बढी सामाजिक अपराधको घटना रहेको छ । यो वर्ष प्रदेश १ को १४ जिल्लामा १ हजार २ सय २५ वटा सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् ।

अपराधका घटनाको अध्ययनले अर्को डरलाग्दो तथ्य उजागर गरेको छ । त्यो हो, जघन्य अपराध मानिने हत्याका घटनामा आफन्तकै संलग्नता बढी रहेको प्रहरीले जनाएको छ । 

प्रहरी अधिकृतहरू यो तथ्यलाई सामाजिक विकृतिबाट सिर्जित अपराध मान्छन् । सामाजिक अपराधपछि प्रदेशमा लागूऔषध मुद्दा दोस्रोमा आउने गर्दछ । प्रदेशमा ५ सय ९९ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै कर्तव्य ज्यान मुद्दा १ सय १८, ज्यानसम्बन्धीमा ४७,  मानव बेचबिखनमा २१ र अन्य मुद्दा ४ हजार ८ सय ३७ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मा ६ हजार ८ सय ७६ मुद्दा दर्ता भएको घटनामा पाँच हजार ८५ पुरुष र ४ सय १२ महिला पक्राउ परेका छन् । १ हजार १ सय १७ पुरुष र १ सय ७ महिला फरार छन् । मुद्दा दर्ता भएकामध्ये २ हजार ६ सय ४४ मुद्दा फछ्र्यौट भएको छ भने ४ हजार २ सय ३२ मुद्दा बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

अपराधशास्त्रीहरूले परिचित व्यक्तिहरूको पहुँच पनि सहज हुने भएकाले उनीहरूका लागि अपराधकर्म सजिलो बन्ने गरेको बताउँछन् । जानकारहरू जीवनशैलीमा आएको बदलावले अपराध बढाएको तथा प्रविधिमा भएको विकासले त्यसमा थप मलजल गरेको बताउँछन् ।

वैदेशिक रोजगार र त्योसँग जोडिएर हुने ठगी, मानव तस्करी तथा विवाहेत्तर सम्बन्धबाट सिर्जित कयौं अपराध गरिबी र सहरीकरणसँगै जोडिन्छन् । प्रविधिको विकास र प्रयोगले साइबर अपराध चुलिएका छन् । कतिपयका भनाइमा डकैती, खुन डाँका, सशस्त्र समूहबाट हुने अपहरणलगायतका घटना ह्वात्तै घटे पनि समाजमा हुने अन्य अपराध बढेकाले समग्रमा अपराध बढेको देखिएको हो ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एक–अर्कामा विश्वास गुम्दा र आपसी बेमेल उत्पन्न हुँदा पारिवारिक अपराधका घटना हुने गरेको बताए । ‘मानिस सबैभन्दा बढी परिवारभित्र सुरक्षित हुन्छ र सुरक्षित महसुस पनि गर्छ । परिवार भनेको समाजको महत्वपूर्ण अङ्ग हो’–एसपी खड्काले भने ।

यस्ता अपराधले पारिवारिक प्रणालीलाई ध्वस्त बनाई समाज विखण्डनतिर लगिरहेको उनको बुझाइ छ । प्राथमिकता दिनुपर्ने कुराभन्दा अरूतिरै मानिस बढी आकर्षित हुँदा, परिवारले सही गति र दिशा लिन नसक्दा, एक–अर्कालाई शङ्काको नजरले हेरिँदा, एकले अर्काको भावना बुझ्न नसक्दा आपराधिक घटना हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।