धरान । कोरोना महामारीको दोस्रो लहरले भारतमा ताण्डव मच्चाइरहेछ । खासगरी अक्सिजन अभावले एकै पटक २५ जनाको ज्यान गएको र सिलिण्डर नै अभाव भएको जस्ता समाचारले झन् त्रसित बनाएको छ ।
भारतमा जस्तै नेपालमा पनि कोरोनाको ताण्डव मच्चायो भने अक्सिजन आपूर्तिको अवस्था के छ त ? यस विषयमा ब्लाष्ट दैनिकले अक्सिजन प्लाण्ट र ती प्लाण्टबाट हुने उत्पादनका विषयमा खोजी गरेको छ ।
ब्लाष्टले खोजी गरेअनुसार नेपालको पूर्वी क्षेत्रमा कोरोना महामारी उत्कर्षमा पुगेको बेला पनि अक्सिजन अभाव नहुने देखिएको छ ।
हुन त कतिपयले सन्त्रासका बीच एक महिना अघिदेखि नै अक्सिजन सिलिण्डर खरिद गरेर घरमा स्टक गर्ने गरेको पनि पाइएको छ ।

तर, सुनसरी र मोरङका विभिन्न स्थानमा जडान गरिएका चार अक्सिजन प्लाण्ट र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै प्लाण्ट गरी सबैको क्षमता पर्याप्त देखिएको छ ।
अक्सिजन प्लाण्ट र उत्पादन पूर्वको लागि पर्याप्त रहेको प्लाण्टका सञ्चालक प्रबन्धकहरूले बताएका छन् । प्रतिष्ठान आफैसँग रहेको प्लाण्टले मात्र कोभिड अस्पतालमा एकहजार जनालाई अक्सिजन दिन परे पनि पर्याप्त पुग्न सक्ने प्रतिष्ठानकै एक उच्च अधिकारीले बताए ।
प्रतिष्ठानसँग हाल १६ सय लिटर प्रतिघण्टाका दरले अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लाण्ट छ । प्रतिष्ठानमा रहेको ७ सय बेड र कोभिड अस्पतालको सय बेडमा उक्त प्लाण्टले आफ्नो पूर्ण क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरेर पनि पर्याप्त आपूर्ति गरिरहेको छ ।
कोरोना सङ्क्रमित भएकामध्ये कतिपयलाई गम्भीर समस्या उत्पन्न हुनसक्छ । त्यसबेला फोक्सोमा असर पर्ने र श्वास–प्रश्वासमा जटिलता उत्पन्न हुने भएकाले अक्सिजन आवश्यक पर्ने गरेको छ । यस्तो अवस्थामा अक्सिजन अभाव होला भन्ने चिन्ता सबैलाई भएको छ ।
सुनसरीको खनारस्थित दुर्गा अक्सिजन प्लाण्टको क्षमता १ सय २० क्युविक मिटर रहेको छ । तर, पनि माग कम भएकाले सातामा तीन दिनमात्र अक्सिजन उत्पादन गर्दै आएको प्लाण्टका प्रबन्धक आशिष मित्तलले बताए ।
सुनसरीकै पाथीभरा अक्सिजन प्लाण्टको ३ सय ५० क्युविक मिटर क्षमता रहेको छ । प्लाण्टका प्रबन्धक दीपेश काफ्लेका अनुसार अक्सिजन अभाव हुँदैन । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित हिमाल अक्सिजन प्लाण्टको क्षमता २ सय क्युविक मिटर रहेको छ ।
उक्त प्लाण्टले दैनिक ९ सय सिलिण्डरमा अक्सिजन भर्ने गरेको प्रबन्धक केदार श्रेष्ठले बताए । उनले भने, ‘कोरोनाको महामारीमा अक्सिजनको माग बढेकै छ तर, अभाव हुने सम्भावना छैन । यो महामारीमा अक्सिजन अभाव हुन्छ भनेर आत्तिने अवस्था छैन ।
हामी पर्याप्त मात्रामा उत्पादन गर्न सक्षम छौं ।’ हाल सञ्चालित अक्सिजन प्लाण्टहरूले झापा, मोरङ र सुनसरीका सहरी क्षेत्रमा स्थापित सरकारी र निजी ठूला–साना अस्पतालहरूमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।
सुनसरी र मोरङमा रहेका प्लाण्टहरूबाट दैनिक ५ हजार सिलिण्डर अक्सिजन भर्न सकिने अवस्था रहेको छ । पूर्ण क्षमतामा ती प्लाण्ट सञ्चालन गरिएमा दोब्बर मात्रामा अक्सिजन उत्पादन गर्न सकिने भएकाले कोरोनाको भयावह स्थितिमा पनि अक्सिजन अभाव नहुने प्रतिष्ठानका एक उच्च अधिकारीले बताए ।