इटहरी । बन्दाबन्दीको हल्लाको फाइदा व्यापारीहरूले उठाउन थालेका छन् । व्यापारीले आफूसँग ‘स्टक’ मा रहेका सामग्रीको आफूखुसी मूल्य वृद्धि गरेका हुन् ।
यसतर्फ प्रशासनले ध्यान पु¥याउन सकेको छैन । गत वर्षको बन्दाबन्दीमा भने स्थानीय सरकारले नियमन र अनुगमन गरेको थियो । जसका कारण उपभोक्ताले अन्य बेलाभन्दा सहज मूल्यमा सामग्री खरिद गर्न पाएका थिए ।
तरकारीको भाउ अन्य बेलाभन्दा निकै सस्तोमा खरिद गर्ने अवसर पाएका थिए । नगरको उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले त्यसलाई हेर्दै आएको थियो । सुनसरीमा आज (शनिबार) देखि निषेधाज्ञा सुरु हुँदै छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार निर्णय गर्दै शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि त्यसको फाइदा उठाउँदै व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढाएको उपभोक्ताले गुनासो गरेका छन् ।

इटहरी क्षेत्रमा अहिले खाद्यान्नको मूल्य ह्वात्तै बढाएको तरहराका पूर्व भारतीय सेना याम राई बताउँछन् । ‘हिजो सम्म ४० रुपैयाँ केजीको प्याज अहिले ५० रुपैयाँ पु¥याइसके’ –उनले भने ।
बजार बन्द हुने हल्लासँगै तरकारीको भाउ प्रतिकिलो २० देखि ३० रुपैयाँले मूल्य वृद्धि गरेको पाइएको छ । अहिले आलु, गोलभेँडा, भिण्डी, करेला, बोडी, बन्दालगायतका तरकारीमा मूल्य वृद्धि गरिएको शुक्रबार तरहरामा तरकारी खरिद गर्दै भेटिएकी सञ्जु खत्रीले बताइन् । तरकारी मात्रै नभई खाद्यान्नलगायतमा पनि कालोबजारी बढेको उनको भनाइ छ ।
ग्यास, नुन, चिनीलगायतका अत्यावश्यकीय वस्तुमा कालोबजारी भइरहेको तरहरास्थित आकाश किराना पसलका सञ्चालक जयबहादुर खड्का आफै बताउँछन् ।
विशेषगरी पसलमा मूल्य सूची नराखी सामग्री बिक्री गरिँदै आए पनि सम्बन्धित निकायको ध्यान जान नसकेको व्यापारी स्वयम् बताउँछन् । अहिले चिनीलगायत वस्तुको मूल्य बढेको उनको भनाइ छ ।
बन्दाबन्दीको बेला मनपरी मूल्य निर्धारण गर्ने र उपभोक्ता ठगी गर्नेलाई तत्काल कारबाही गर्ने इटहरी उपमहानगरपालिकाले जनाउँदै आएको छ ।
तर, अहिले व्यापारीले त्यसको फाइदा उठाए पनि नगर भने मौन झैं छ । दैनिक उपभोग्य वस्तुहरू तरकारी, खाद्यान्न, दूध, ग्यासलगायतमा कालोबजारी भए कारबाही गर्ने उपप्रमुख लक्ष्मी गौतमको भनाइ कायमै छ ।
उपभोक्ता हित संरक्षण समितिका संयोजकसमेत रहेकी गौतमको नेतृत्वमा जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च र प्रहरीको सहभागितामा आँपगाछी र तरहराका बजारमा अनुगमन गरिएको थियो ।
त्यस क्रममा आपगाँछीका २ र तरहराका ७ गरी ९ वटा पसल अनुगमन गर्दा चारवटा पसलमा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख गौतम बताउँछिन् ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेलकिशोर भट्टराईका अनुसार कोकाकोला, स्प्राइट, रियल जुस, हुलासको बेसनलगायतका सामानको मिति गुज्रिएको अवस्थामा पाइएको थियो । इटहरीमा निरन्तर बजार अनुगमन हुँदै आए पनि उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।