विराटनगर/ प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढाएको भन्दै यहाँका प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका हुन् । मोरङमा रहेका आधा दर्जन उद्योगहरूले सबै प्रकारको खाने तेलमा १० देखि २० प्रतिशतसम्म बढाएका छन् ।
यसअघि औसतमा प्रतिलिटर १ सय ७० देखि १ सय ८० रुपैयाँमा पाइने तोरीको तेलको मूल्य अहिले होलसेलमा २ सय २० देखि २ सय ३० रुपैयाँ पर्दछ भने खुद्रामा २ सय ४० देखि २ सय ५० रुपैयाँ पर्ने गरेको छ ।
यसअघि औसतमा प्रतिलिटर १ सय ७० रुपैयाँ रहेको सूर्यमूखी तेलको मूल्य अहिले २ सय ३० रुपैयाँ पुगेको छ । आधा लिटर तेलको मूल्य नै १ सय १५ रुपैयाँ पुगेको छ ।
ब्राण्डअनुसार लिटरमा १५ देखि २० रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको विराटनगर–११ मा खुद्रा पसल सञ्चालन गर्दै आएकी राधिका श्रेष्ठले बताइन् । ‘होलसेलबाटै बढेर आएको छ, प्याकेटमै लेखिएको मूल्य बढेको छ’ उनले भनिन्’ ‘होलसेलबाटै बढेर आएपछि हामीले पनि बढाएर बिक्री गर्नुपरेको हो ।’
तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको उनले बताइन् । उनका अनुसार फरक–फरक कम्पनीले फरक–फरक दरले मूल्य बढाएका छन् ।
‘ग्राहकले हामीसँग गुनासो गर्छन्, हामीले त होलसेलबाट आएको मूल्यअनुसार निर्धारण गर्ने हो, लेखिएको मूल्यभन्दा बढी हामी लिँदैनौँ’–उनले भनिन् ।
यता बाबा भेजिटेरियन इण्डष्ट्रिज प्रालिका कार्यकारी निर्देशक दीपक मुन्दडाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव र मूल्य बढेको कारणले खाने तेलको मूल्य पनि बढेको बताए । ‘नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि खाने तेलको मूल्य बढेको छ’ उनले भने, ‘हामीले पनि अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्य खर्चेर कच्चा पदार्थ ल्याएपछि यहाँ हामीले पनि मूल्य बढाउनुको कुनै विकल्प छैन ।’
निषेधाज्ञा हुन थालेपछि खाद्यान्नको मूल्य वृद्धि
दोस्रो लहरमा कोरोना भाइरस फैलिएपछि यसको रोकथाम र नियन्त्रण गर्न मोरङमा शनिबार राति १२ बजेपछि एक साता निषेधाज्ञा गर्ने स्थानीय प्रशानसले घोषणा गरेपछि दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ । एक साताअघिको भन्दा अहिले अत्यावश्यक खाद्य सामग्रीको मूल्य बढेको विराटनगरका उपभोक्ताहरूको भनाइ छ ।
विराटनगरका खुद्रा पसलमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ । महँगो मूल्यमा खरिद गरेका कारण खुद्रामा बिक्री गर्दा त्यस्ता वस्तुको मूल्य वृद्धि गर्नुपरेको यहाँका खुद्रा व्यवसायीहरूको भनाइ छ ।
मुसुरोको दाल एक साताअगाडि १ सय ८ रुपैयाँमा पाइरहेकोमा निषेधाज्ञा हुने भएपछि १ सय १५ देखि २० सम्ममा बिक्री हुने गरेको छ । खुद्रा व्यापारीका अनुसार निषेधाज्ञा हुने भएपछि होलसेलले दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ, खाने तेल प्रतिकार्टुन १ सयदेखि १ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन् ।
होलसेल बिक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ ।
नियमनकारी निकायले बजार अनुगन नगर्दा व्यापारीहरूले मनपरी मूल्य लिएर खाद्यवस्तु बिक्री वितरण गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
‘लकडाउन हुने भएपछि अहिले यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ’ विराटनगर–११ का पूर्णबहादुर खड्काले भने, ‘१ सय ८० रुपैयाँ प्रतिलिटरमा खाने तेल किन्दै आएको हामीले अहिले २ सय ४० रुपैयाँमा खरिद गर्नुपर्ने बाध्यता छ ।’
बजार अनुमगन गर्ने अधिकार विराटनगर महानगरपालिकाका उपप्रमुखको नेतृत्वमा रहेको नगरस्तरीय अनुगमन टोलीले गर्दछ । तर, यहाँ अस्वभाविक रूपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि हुँदा पनि बजार अनुगमनको अधिकार पाएको उपप्रमुखले चासो नदेखाउँदा उपभोक्ता व्यापारीले बोलेको भाउमा दैनिक उपभोग्य खाद्यवस्तु किन्न बाध्य भएका छन् ।