अस्टियोपोरोसिस भनेको के हो ?
शरीरमा हाडको घनत्व (Density ) कम भएर हाड पातलो, हलुका र कमजोर हुने र सजिलै भाँचिने समस्यालाई अस्टियोपोरोसिस भनिन्छ । सामान्यतया ३० वर्षको उमेरपछि सबैको हाडको घनत्व घट्दै जाने भए तापनि महिलाहरू बढी जोखिममा हुन्छन् । किनभने हाडको घनत्व यथावत् राख्ने स्ट्रोजन नामको हर्माेन महिलाहरूमा विस्तारै घट्दै जान्छ । अस्टियोपोरोसिस विशेष कुनै लक्षण हँुदैन । प्रायः हाड भाँचिनु नै यसको पहिलो लक्षण हुन सक्छ । सबैभन्दा बढी ढाँड, कम्मर र नाडीका हाडहरू यसको कारणले भाँचिने गरेको पाइन्छ । तर, अस्टियोपोरोसिस रोक्ने वा उल्टाउने तरिकाहरू छन् । उपचार गरेमा हाडको घनत्व बढाउन सकिन्छ ।
कारणहरूः
अस्टियोपोरोसिस हुने धेरै कारणहरू हुन्छन् । अस्टिपोरोसिस मानव शरीरमा लाग्ने धेरै रोगहरू एवम् तिनका लागि गरिने उपचारहरू एवम् औषधिले पनि हुन्छ ।

महत्वपूर्ण कारणहरू यस प्रकार रहेका छन्ः
– धेरै अल्कोहलको प्रयोग गरेमा (Alcoholism)
– मिर्गौला रोग (Kidney /disease)
– हाइपाराथारोपिज्म (Hyperthyroidism)
– भोक नलाग्ने रोग भएमा (Anorexia)
– सर्जरी गरेर ओभरी (Ovary) निकालेमा
– छारे (Epilepsy) रोगको औषधि सेवन गरेमा
– ग्लुको कोरटिकोस्टेराइड (Glucocortico steroid) औषधि धेरै दिनसम्म सेवन गरेमा
– धूमपान (Smoking)
– कम व्यायाम (Little exercise)
अस्टियोपोरोसिसमा हुने महत्वपूर्ण लक्षणहरू यस प्रकार रहेका छन्ः
लक्षणहरूः
– अस्टियोपोरोसिसको आफैमा केही लक्षण हुँदैन । धेरैजसो बेला हाड भाँचिएपछि मात्र बरामी वा चिकित्सहरूलाई यसको बारेमा थाहा हुन्छ ।
– दुखाइ (Pain)
– हड्डी भाँचिनु (Fracture)
– हाड बाङ्गो हुनु (Deformity)
– अस्टियोपोरोसिस उमेर बढ्दै गएपछि हुन्छ । यो पुरुषको तुलनामा महिलामा बढी हुन्छ ।
– युरोपियन र एसियनमा अस्टियोपोरोसिस हुने सम्भावना बढी हुन्छ ।
अस्टियोपोरोसिसबाट बच्ने उपायहरूः
– नियमित कसरतले हाडको घनत्व बढाउँछ ।
– बढ्ने उमेरमा पर्याप्त मात्रामा क्याल्सियम सेवन गरेमा पनि अस्टियोपोरोसिसबाट जोगिन सकिन्छ ।
– वृद्धावस्थामा क्याल्सियम सेवन गरेमा पनि यसबाट बच्न सकिन्छ ।
– दूध, दहीको नियमित सेवन गरेमा यसबाट बच्न सकिन्छ ।
– अत्यधिक चिया कफीको सेवन नगर्ने ।
– धूमपान नगर्ने
– अल्कोहल (Alcohol) सेवन नगरेमा
– नियमित व्यायाम गरेमा
– हाडको घनत्व (Density) घटाउने औषधिहरू प्रयोग नगरेमा
जोखिमका कारणः
अस्टियोपोरोसिस हुने कारणहरूमध्येका केही कारणहरूलाई बदल्न सकिन्छ भने केही कारणहरूलाई बदल्न (Non modifiable) सकिँदैन ।
बदल्न नसकिने कारणहरूः
– उमेर बढ्दै जानु
– महिनावारी बन्द भइसकेका महिलाहरू
– युरोपियन र एसियन जातीय (Ethnicity) समूह
– वंशाणुगत (Heredity)
– होचो हुनु (Short stature)
बदल्न सकिने कारणहरूः
– प्रचुरमात्रामा अल्कोहलको प्रयोग
– भिटामिन डीको कमी
– धूमपान
– व्यायामको कमी
– सफ्ट ड्रिङ्क्सको प्रयोग
अस्टियोपोरोसिस भएको कसरी थाहा पाउने ?
अस्टियोपोरोसिस भएको थाहा पाउने प्रमुख माध्यम भनेको हाडको घनत्व पत्ता लगाउनु हो । हाडको घनत्व निम्न जाँच एवम् परीक्षणबाट थाहा पाउन सकिन्छः
– एक्स–रे बाट
– बी.एम.डी. डेन्सिटोमिटर मेसिनबाट हाडको घनत्व नाप्न सकिन्छ ।
– कम्पुटेड टोमोग्राफी
– क्वान्टिटेटिम अल्ट्रासाउण्ड
अस्टियोपोरोसिसको बारेमा हामीले किन चासो लिने ?
हाड भाँचिने सबैभन्दा प्रमुख कारण अस्टियोपोरोसिस हो र सतर्कता अपनाउने हो भने यसबाट धेरै हदसम्म बच्न सकिन्छ ।
अस्टियोपोरोसिससँग जोडिएका जोखिमका कारणहरूः
– धूमपान
– दुब्लोपना
– स्त्रीलिङ्ग
– महिनावारी रोकिएको अवस्था
– अत्यधिक मदिरा सेवन
– कसरतमा कमी
– अन्य रोगले भएको कमजोरीपना
– कमजोरी दृष्टिशक्ति
– खानामा क्याल्सियमको कमी
– दीर्घकालीन स्टेरोइड दबाइको प्रयोग आदि ।
कुन हाड भाँचिने बढी डर हुन्छ ?
१. नाडीको (Wrist)
२. मेरुदण्डको (Spine)
३. कम्मरको (Hip bones)
अस्टियोपोरोसिसको उपचार कसरी गरिन्छ ?
उपचारहरूः
अस्टियोपोरोसिसको उपचार यसबाट बच्ने उपाय एवम् उपचार पद्दतिबाट सुरु हुन्छ ।
उपचारका उद्देश्यहरू यस प्रकार रहेको छ ।
– हाडको घनत्व ह्रास हुनबाट रोक्ने
– हाडको घनत्व बढाउने
– हाड भाँचिनुबाट रोक्नुका साथै दुखाइ कम, हाड बाङ्गो हुनबाट बचाउने आदि ।
यो प्राप्तिका लागि जीवन जिउने पद्दतिमा सुधार नियमित कसरत, व्यायामहरू गर्नुपर्ने हुन्छ । साथै निम्न औषधिहरूको प्रयोगले अस्टियोपोरोसिसबाट बच्न वा कम गर्न सकिन्छ ।
यसको उपचारका लागि धेरै किसिमका औषधि भए तापनि मुख्यतः तल उल्लेखित औषधिहरू नै सुरक्षित हुन्छन् । उपचार सामान्यतया कम्तीमा २ वर्षका लागि गरिन्छ । अझ बढी गरे झनै राम्रो हुन्छ ।
– बिसफोसफोनेट्स (Bisphosphonates)
– हार्मेन रिपेसमेन्ट थेरेपी (HRT)
– क्यार्सिटोनिन (Carcitonin)
– क्याल्सियम चक्की (500mg) दिनको ३ पटक (जस्तै DECAL, CALVIT, GLOCAL, CALSUP, CALNONE आदि)
– भिटामिन डी (Vitamin D) क्याल्सिरल पाउडर (CALCIROL SACHET) हप्ताको एकपटक दूध, जौ पानीमा घोलेर कम्तीमा १२ हप्ता ।
– अलेण्ड्रोनेट चक्की (ALENDRONATE 70mg) जस्तैः Tab FOSSIL, RESTOPHOS आदि बिहान उठ्ने बित्तिकै एक गिलासभरि पानीसँग खाने र आधा घण्टासम्म केही नखाने अनि नसुत्ने । अलेण्ड्रोनेट चक्की प्रत्येक हप्ता प्रयोग गर्नुको साटो भ्याकअस्टियो इञ्जेक्सन (Inj. VACOSTEO) वर्षको एकपटक लिन सकिन्छ ।
– क्याल्सिटोनिन नेजल स्प्रे (CALCITIONIN NASAL SPRAY) जस्तैः SALMONCAL, CALCINASE आदि) यो औषधि नाकबाट सुँघेर प्रयोग गरिन्छ ।
अन्तमा,
अस्टियोपोरोसिस साइलेन्ट किलर हो । हाड भाँचिनु आफैमा धेरै घातक नभए पनि अस्टियोपोरोसिस भएका बिरामीहरूमा हाड भाँचिनु धेरै ठूलो समस्या हो, विशेषतः वृद्धावस्थामा मृत्यु हुने संसारभरि नै प्रमुख कारण हो ।
(लेखकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागका विभागीय प्रमुख हुन् ।)