विराटनगर । गम्भीर र कडा लक्षण भएका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा प्रयोग गरिने ‘रेम्डेसिभिर’ इञ्जेक्सन नक्कली बनाएर प्रदेश १ को राजधानी विराटनगरमा बिक्री वितरण गर्ने गिरोह सक्रिय भएको पाइएको छ । 

वीरगञ्जमा उत्पादन हुने ज्वरो र छाती दुख्दा प्रयोग गरिने ‘स्टासेफ’ नामको एण्टिबायोटिक इञ्जेक्सनको बट्टा र बोतलमा नयाँ लेवल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना सङ्क्रमितका लागि बिक्री गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाएको हो । 

स्टासेफ इञ्जेक्सनमा नयाँ लेवल लगाउँदै रेम्डेसिभिर भन्दै बिरामीलाई बिक्री गर्दै आएका विराटनगरबाट फार्मेसी सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।  प्रहरीले विराटनगर–४ नोबेल टिचिङ हस्पिटलअगाडि रहेको ‘साथी फार्मेसी’ का सञ्चालक विराटनगर–१० का २६ वर्षीय सोनु आलम र विराटनगर–१६ का २३ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । यादव फार्मेसीका कामदार हुन् । गिरोहले ९० रुपैयाँ पर्ने एण्टिबायोटिक इञ्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेवल लगाएर ८ हजारदेखि २० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । 

एण्टिबायोटिक र रेम्डेसिभिरको बोतलको साइज (आकार) एउटै हुन्छ । त्यसको फाइदा उठाउँदै गिरोहले स्टिकर लगाएर रेम्डेसिभिरसँग ठ्याक्कै मिल्ने गरी तयार पारेर बिक्री गर्दै जीवन मरणको दोसाँधमा छट्पटाइरहेका सङ्क्रमितको जीवनलाई थप जोखिममा पार्ने काम गरिरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार नयाँ लेवल लगाएपछि एण्टिबायोटिकका बोतल पनि रेम्डेसिभिरजस्तै देखिन्छ । 

कोरोना सङ्क्रमितले उपचारका लागि बेड पाउन गाह्रो परिरहेको अवस्थामा कोरोना सङ्क्रमित बिरामीलाई प्रयोग गरिने रेम्डेसिभिर औषधि नै नक्कली भएको पाइएपछि गिरोहले स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको तथ्य बाहिरिएको हो । फार्मेसी सञ्चालक आलमले नयाँ लेवल लगाएर तयार पारेको नक्कली रेम्डेसिभिर यादवले फार्मेसीबाट बिरामीका लागि बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अहिले विराटनगरमा रेम्डेसिभिरको अभाव छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरले रेम्डेसिभिर अभावको सामना गरिरहेको औषधि व्यवसायी सङ्घ मोरङका उपाध्यक्ष एवम् प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार नेपालमा अभाव भएपछि भारतबाट अवैध रूपमा ल्याएर कालोबजारी गर्दै अत्यधिक मूल्यमा बिक्री गर्ने गिरोह सक्रिय रहेको छ । 

कालोबजारी गर्ने गिरोह खोज्दै हिँडेको प्रहरी नक्कली रेम्डेसिभिरको कारोबारीसम्म पुग्न सफल भएको हो । ‘वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एण्टिबायोटिक इञ्जेक्सनको बट्टा र बोतलमा नयाँ लेवल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर बिक्री गर्ने गरेको पाइयो’ एसपी खड्काले भने, ‘यो गिरोहले नक्कली रेम्डेसिभिरलाई प्रतिभायल न्यूनतम् आठ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको देखिन्छ ।’ नक्कली स्टिकर भने भारतको पटनाबाट ल्याउने गरेको पाइएको छ । यो गिरोहको सञ्जाल विराटनगरमा ठूलै रहेको पाइएको उनको भनाइ छ । 

‘विराटनगरमा ठूला र नाम चलेका फार्मेसीबाट कोरोना सङ्क्रमितको ज्यानै जोखिममा पार्ने गरी नक्कली रेम्डेसिभिरको कारोबार भइरहेको सूचना आएको छ’ उनले भने, ‘थप बुझेर यथार्थ खुलेपछि नियन्त्रणमा लिनका लागि आवश्यक अनुसन्धान भइरहेको छ ।’ 

पक्राउ परेको गिरोहले व्यक्तिलाई मात्रै कि संस्थालाई पनि नक्कली रेम्डेसिभिर बिक्री गरेको छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विराटनगरमा अभाव हुन थालेपछि ‘स्टासेफ’ नामक एण्टिबायोटिकको बट्टामा नक्कली लेवल लगाएर सक्कली रेम्डेसिभिरजस्तै बनाई बिक्री गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीका अनुसार होटल भाडामा लिएर गिरोहले यो धन्दा चलाइरहेको पाइएको छ । गिरोहले विराटनगरको होटल भिन्तुनामा कोठा भाडामा लिएर भण्डारण गरेको नक्कली रेम्डेसिभिर पनि प्रहरीले बरामद गरेको छ । 

प्रहरी स्रोतका अनुसार नक्कली रेम्डेसिभिरको कारोबार एजेण्टमार्फत् भइरहेको हुनसक्ने अनुमान छ । आलमले एजेण्टलाई आठ हजार रुपैयाँ लिएर नक्कली रेम्डेसिभिर दिने गरेको र एजेण्टले भने २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले व्यवसायीका रूपमा चिनिएर औषधिको कारोबार गर्ने ती एजेण्टको पनि खोजी तीव्र पारेको छ । आलमले नक्कली रेम्डेसिभिर बनाउन विराटनगरमा औषधिको होलसेल कारोबार गरिरहेको गणेश ड्रग्स हाउसबाट खरिद गरी ‘स्टासेफ’ लैजाने गरेको पाइएको प्रहरीको भनाइ छ । 

यादव खैरो हेरोइनका फरार प्रतिवादी 

नक्कली रेम्डेसिभिर प्रकरणमा पक्राउ परेकामध्ये श्रवणकुमार यादव लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) का फरार प्रतिवादी रहेको खुलेको छ । पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेपछि लागूऔषधमा उनको पुरानो संलग्नता बाहिर आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । राईका अनुसार यसअघि २०७७ साल कात्तिक २५ गते विराटनगरको होटल रातो भालेबाट १० ग्राम ब्राउन सुगर बरामद भएको थियो । 

त्यस ठाउँबाट यादवको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) फेला परे पनि उनी भने फरार रहेको राईले बताए । तर, अहिले नक्कली रेम्डेसिभिर काण्डमा उनी समातिएका हुन् । पक्राउ परेकामध्ये आलमलाई भने कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । 

यादवविरुद्ध भने लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी काम अघि बढाइएको जानकारी राईले दिए । लागूऔषध मुद्दाको अनुसन्धान सकिएपछि उनीविरुद्ध प्रहरीले नक्कली रेम्डेसिभिर काण्डमा कालोबजार ऐनअन्तर्गत पनि कारबाही अघि बढाउने भएको छ ।

के हो रेम्डेसिभिर ?

जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेम्डेसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिष्ट्रेशनले गत मे मा कोभिड–१९ का बिरामीलाई दिन योग्य रहेको भन्दै प्रयोगका लागि अनुमति दिएको थियो । यसअघि यो औषधिलाई इबोला विरुद्ध पनि प्रयोग गरिएको थियो ।

नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘इण्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९’ मा पनि कोरोना सङ्क्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न सकिने उल्लेख छ ।

कोशी कोभिड–१९ उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले कोरोना सङ्क्रमितका लागि प्रभावकारी भए पनि जसले पायो, त्यसले प्रयोग गर्न नहुने बताउँछन् । ‘रेम्डेसिभिर अचुक औषधि पनि होइन, तर फाइदा गर्ने देखिएको छ । यो इञ्जेक्सनबाट दिने औषधि हो, त्यसैले मात्रा मिलाएर दिनुपर्छ, जसले पायो त्यसले दिएर हुँदैन’ उनले भने, ‘कतिपयमा यसको साइड इफेक्ट पनि देखिएको छ । अक्सिजन कम भएका तर, दीर्घरोग नभएका बिरामीलाई प्रयोग गर्न सकिन्छ ।’

कोभिड सङ्क्रमितहरूको उपचारमा संलग्न चिकित्सकका अनुसार रेम्डेसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । कालोबजारीमा २० हजारका दरले किन्नुपर्दा उक्त औषधिका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । जसले गर्दा सङ्क्रमित बिरामीलाई उपचार निकै महँगो हुने गरेको छ ।

पहिले तस्करी, अहिले नक्कली

यसअघि ‘रेम्डेसिभिर’ इञ्जेक्सन तस्करी भएर विराटनगर आउने गरेको थियो । प्रहरीले कडाइ गरेपछि गिरोहले नक्कली रेम्डेसिभिर बनाएर बिक्री वितरण गर्ने गरेको खुलेको हो । 

खरिद गरेको भन्दा तीन गुणाबढी मूल्यमा नेपालमा ल्याएर ‘रेम्डेसिभिर’ इञ्जेक्सनको कालोबजारी गरी बिक्री गर्ने भएकोले अहिले यसको तस्करी भारतदेखि अधिक हुने गरेको थियो । भारतमा प्रतिभाइल भारु २ हजार ८ सयदेखि ४ हजार ५ सयमा पाइने यो इञ्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको जानकारहरू बताउँछन् । अहिले नेपालमा कडा लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यसको माग पनि बढेको छ । ८ मङ्सिरमा मोरङ प्रहरीले विराटनगर–१३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवको घरबाट तस्करीको औषधि बरामद गर्दा १० भाइल रेम्डेसिभिर इञ्जेक्सन नियन्त्रणमा आएपछि यसको तस्करी हुने गरेको पुष्टि भएको थियो । 

प्रहरीले त्यसबेला आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो । तर, विभागका राजनैतिक दलका नेता र सांसद्हरूले दबाव दिएपछि हाजिर जमानतमा तस्करलाई छोडिदिएको स्रोतको भनाइ छ । भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँ पर्ने यो इञ्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । यसको तस्करी गरी कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूह संलग्न हुने गरेको देखिएको छ ।

‘सिकिस्त कोरोना सङ्क्रमितलाई रेम्डेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत् जानकारी गराइन्छ’ नाम उल्लेख नगर्ने सर्तमा एक सङ्क्रमितका आफन्तले भने, ‘तपाईंको बिरामीलाई इञ्जेक्सन चलाउनुपर्छ । चाँडै जोहो गर्नुहोला । फार्मेसी र स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भन्ने गर्दछन् ।’ धेरै ‘बार्गेनिङ’ गरेपछि केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए ।