धरान। धेरैले उनलाई ‘यत्रो पैसा भए त घुमाई घुमाई खान्थेँ’ भनेर ओठे जवाफ दिन्छन् । तर, ३२ वर्षीय सन्देश नेम्वाङ त्यो कुरालाई हाँसी हाँसी उडाइदिन्छन् । कोरियाको कमाइलाई कृषिमा लगानी गरेर दैनिक बारीमा मेहनत गरिरहेका हुन्छन् उनी । 

त्यही देख्नेहरू कटाक्ष गर्छन् । तर, उनले कृषिमै भविष्य देखिरहेका छन् । उनी भन्छन्, ‘पहिला पनि कृषि पेशामै भएकाले कृषिबाटै केही गर्ने सोच छ ।’ कोरियाको मेहनतबारे उनी जानकार छन् । मेहनत र निरन्तरता प्रमुख कडी ठान्छन् उनी ।

‘कडा मेहनत गरेका कारणले कोरिया कोरियाजस्तो भएको छ, हामीकहाँ मनलाग्दा यसो गरेजस्तो गर्ने मात्र चलन छ’–उनी भन्छन् । सन् २०१३ देखि २०१८ सम्म उनले कोरियामा पौरख खर्चिए । फर्किएलगत्तै चुलाचुली गाउँपालिका–१ मा माछापालन सुरु गरे ।

साम्दाङ्वा एग्रो प्रालि स्थापना गर्दै सुरु गरेको तरकारी तथा माछा पालन अहिले साढे ३ बिघामा सञ्चालित छ । उनका अनुसार एक बिघा बराबरको तीनवटा पोखरी निर्माण गरेका छन् । जसमा पङ्गास जातको माछा लगाएका छन् । 

पङ्गास जातको माछा पालनपूर्व उनी एक–दुई ठाउँमा गएर अध्ययन गरे । त्यसबारे बुझे । सबैले राम्रै हुन्छ भनेपछि ६ कठ्ठा बराबरको एउटा पोखरी खनेर १० हजार भुरा लगाए । सुरुमा अनुभव नभएका कारणले पनि सोचेजस्तो मुनाफा कमाएनन् ।

‘त्योबेला दुई लाख रुपैयाँ जति फाइदा भयो’ उनी भन्छन्, ‘अनुभव भएको भए माछामा ५० प्रतिशत नै नाफा हुने रहेछ । सबैभन्दा ठूलो कुरा चाहिँ अनुभव रहेछ ।’ भुरा लगाएको ५ देखि ६ महिनाभित्रमा माछा बिक्री गर्न योग्य हुन्छन् । तर, माछा पालनमा सबैभन्दा बढी चरा र सर्पले दुःख दिने गरेको उनको अनुभव छ ।

अढाई बिघा जग्गामा तरकारी लगाएका छन् । पहाडमा हुँदा अकबरे खोर्सानीको तालिम लिएकाले पनि तरकारी खेतीबारे जानकार भएको उनी बताउँछन् । ‘गाउँघरमा हुर्केको, पाँचथरमा अकबरे खेतीको तालिम पनि लिइएको थियो । आफै पनि गरिन्थ्यो । यहाँ पनि केही तालिम लिइयो’–उनी भन्छन् ।

अहिले टनेल बनाएरै तरकारी खेती गर्दै आइरहेका छन् । सिजनअनुसारको तरकारी उत्पादन गर्छन् । सिजनमा ८ देखि १० लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्दै आइरहेका छन् । 

धेरै युवाहरू कमाइ गरेपछि सहर पस्छन् । कतिपय विदेश नै जान्छन् । तर, उनी नेपालमा अवसर नै अवसर देख्छन् । ‘कृषिमा अथाह अवसर छ । दुःख पनि धेरै छ’ उनी भन्छन्, ‘यहाँ फाइदै फाइदा छ ।’ उनका अनुसार नेपालमा अहिले मेसिन उत्पादन गर्न नसकिएला तर, तरकारी उत्पादन गर्न त सकिन्छ नि जे सकिन्छ, त्यही उत्पादन गरेर जानुपर्छ ।

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट तरकारीको मात्रै दैनिक ३० देखि ४० वटा साना गाडीहरू प्रवेश गर्छन् । ठूला गाडी पनि उस्तै रूपमा प्रवेश गर्छन् । तर, नेपालमा बाँझो जमिनहरू प्रशस्तै छन् । जहाँ तरकारी खेती गर्ने हो भने लाखौं लाख रुपैयाँ कमाउन सकिने उनी बताउँछन् । नेपालमा ज्ञानको कमी र अनुभव साथै तालिम सेण्टरहरू नहुँदा समस्या भइरहेको उनको अनुभव छ । सरकारले पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन । 

आज उनले करिब एक करोड रुपैयाँ लगानी गरिसकेका छन् । पाँचजनालाई रोजगारी दिएका छन् । उनीहरूलाई मात्रै मासिक ८० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म दिन्छन् । अन्यको भन्दा उनको फरक अनुभव छ । धेरैले बजारको समस्या देख्ने गरेका छन् । तर, उनका अनुसार बजारको समस्या छैन । उनले स्थानीय बजार दमकमै आफ्नो उत्पादन खपत गरिरहेका छन् ।

‘उत्पादन गर्नुमात्रै समस्या छ, बजारको समस्यै छैन रहेछ भन्ने कुरा अनुभवले सिकाइसक्यो’–उनी भन्छन् । उनले बिउ उत्पादन गर्नसके तरकारीमा विदेशिने पैसा नेपालमै बचत हुने उनको भनाइ छ । ‘त्यसमा सरकारको पनि हात हुन्छ’–उनले भने ।

हालसम्म उनले सरकारबाट सोचेजस्तो अनुदान प्राप्त गरेका छैनन् । टनेल निर्माणका लागि कृषि ज्ञान केन्द्र इलामबाट ४ लाख ९० हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसभन्दा बढी उनले हालसम्म अनुदान प्राप्त गरेका छैनन् ।‘सानोतिनो अनुदान पाइएको छ, त्यस्तो ठूलो अनुदान पाउन सकिएको छैन’ उनले भने, ‘अनुदान पनि पहुँच हुनेले मात्रै पाउने रहेछ ।’