विजयपुर/ धरान–२ स्थित देशीलाइनमा ‘सीता स्टोर’ नामको जुत्ता चप्पल पसलका सञ्चालक अमर साहलाई अहिले अरूभन्दा पनि पसलको भाडा कसरी तिर्ने रु भन्ने चिन्ता छ । उनी भन्छन्, ‘रातभरि निन्द्रा लाग्दैन ।’

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै तीव्ररूपमा वृद्धि भइरहेको छ । साथै मृत्यु हुनेको सङ्ख्या पनि वृद्धि भएको छ । व्यवसायीलाई कोरोना सङ्क्रमणबाट कसरी बच्ने मात्रै चिन्ता छैन ।

भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनमा व्यवसाय कसरी टिकाउने भन्ने पनि चिन्ता छ । अहिले प्रायः ठाउँमा सरकारले लकडाउन गरेको छ । लकडाउनमा सामान्य ज्यालादारी गर्नेदेखि ठूला व्यवसायीहरूलाई समेत समस्या पर्न थालेको छ ।

उक्त पसलका सञ्चालक साह व्यवसायीहरूलाई लकडाउनले साह्रै समस्या भएको बताउँछन् । ‘अहिले अरू त होइन, पसलको भाडा र बैङ्कलाई किस्ता कसरी बुझाउने भन्ने ठूलो चिन्ता छ’ उनले भने, ‘हामीले पसल बन्द गर्नुपरेको छ, पसल बन्द भएपछि आम्दानी छैन तर, घरवालालाई १ गते हुनु हुँदैन, भाडा चाहियो भन्दै आउँछन् । हामीलाई यसैको चिन्ता छ ।’

‘लकडाउन छ, पसल खोल्न पाइएको छैन, पसल नखोलेपछि व्यापार छैन, गाह्रो भयो केही दिन पर्खनू भन्दा भन्दा घरवालाले आफ्नो पनि आम्दानी त्यही भएकाले आफूलाई पनि समस्या हुने गरेको बताउने उनले दुःखेसो गरे । उनको पसल सञ्चालन गरेको कोठाकोे भाडा ४५ हजार रहेको छ । उनी भन्छन्, ‘व्यापार हुँदा त तिर्नलाई समस्या हुन्थ्यो, अब कसरी तिर्नु, रातभर निन्द्रा लाग्दैन ।’

देशीलाइनकै अर्का व्यवसायी श्याम साह पनि उस्तै समस्या रहेको बताउँछन् । उनले पनि पसलको भाडा तिर्न समस्या हुने बताए । उनले भने, ‘लकडाउनमा व्यापार हुँदैन तर, घरधनीलाई भाडा नदिई हुँदैन, कहाँबाट लिएर तिर्ने रु’ उनले पनि समस्या महिना पुग्ने बित्तिकै भाडा बुझाउनु पर्ने तर, आंशिक लकडाउन भएदेखि नै व्यापारमा असर परेकाले भाडा तिर्ने अवस्था नभएको बताए ।

व्यवसायीले जसरी पनि तिर्नैपर्छ, तिरेन भने कतिले खाली गर्दिनूसम्म भन्ने गरेको उनले बताए । ‘व्यापार व्यवसाय बन्द भएपछि घरवालाले पनि बुझ्नुपर्ने तर, बुझ्दैनन्, समस्या भयो, सरकारले नै केही छुटको व्यवस्था गरे हुन्थ्यो’ –उनले भने । श्यामले पसलको भाडा २५ हजार रहेको बताए ।

लकडाउनको समयमा बैङ्क तथा वित्तीय संस्थाहरूले पनि किस्ता तिर्न ताकेता नगर्नुपर्ने उनको भनाइ छ । श्याम सरकारले व्यवसायीका लागि वित्तीय सङ्घ–संस्थाहरूसँग समन्वय गरेर केही प्याकेज ल्याउनुपर्ने बताउँछन् ।

उनले भने, ‘अब कसरी भाडा तिर्ने, गतवर्षकै बैङ्कको किस्ता तिरिसकेको छैन, फेरि सुरु भयो, के गर्ने? हामी व्यवसायी सामस्या प¥यौं ।’ धरान–३ कै एक कपडा व्यवसायी पनि नाम नछाप्ने सर्तमा लकडाउन सुरु भएपछि पसलको भाडा तिर्न समस्या हुने बताउँछन् । उनको पनि समस्या उस्तै रहेको छ । उनले सरकारले नै केही छुटको व्यवस्था गर्नुपर्ने बताए । उनले घरवालाले समस्या आफ्नो मात्रै देख्ने र व्यवसायीको नदेख्ने गरेको बताए ।

अहिले यी प्रतिनिधिमूलक व्यवसायीका समस्या मात्रै नभई आम व्यवसायीको समस्या हो । लकडाउन भएपछि घरभाडादेखि बैङ्कको किस्तामम्म उनीहरूका समस्या छन् । उनीहरूले व्यवसायीहरूको घरभाडामा कम्तिमा ५० प्रतिशत छुटका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

साथै बैङ्क तथा वित्तीय संस्थाहरूलाई पनि लकडाउन भएको समयको जरिबाना नलिनका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने उनीहरूले बताए । व्यवसायीले पनि राज्यलाई राजस्व तिरिरहेका छन् । समस्या पर्दा सरकारले पनि समाधानका लागि पहल गरिदिनुपर्ने उनीहरूको माग छ ।