विजयपुर। कोरोना भाइरसबाट बच्न प्रशासनले लकडाउन गरे पनि बजारमा दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि भएको छ । अत्यधिक मूल्य वृद्धि भए पनि नियामक निकाय भने मौन रहेको छ ।
धरान उपमहानरपालिकामा खाद्य पदार्थ, सागसब्जीलगायतका वस्तुहरूमा अत्यधिक मूल्य वृद्धि भएको पाइएको छ । धरान बजार आंशिक लकडाउनसम्म सामान्य मूल्य वृद्धि भएको थियो ।
तर, पूर्ण लकडाउन भएपछि अत्यधिक मूल्य वृद्धि भएको पाइएको हो । लकडाउन भए पनि उपमहानगरले हरियो तरकारी, दुग्धजन्य वस्तु बिहान ८ बजेसम्म बिक्री गर्न दिने निर्णय गरेको छ । बजार पसल बन्द गरे पनि दैनिक उपभोग्य वस्तु स्वास्थ्य मापदण्ड पूरा गरेर केही मात्रामा खरिद बिक्री भइरहेको छ ।
बजारमा दैनिक उपभोग्य खाद्यपदार्थ चामल, दाल, तेललगायतका सामानमा मूल्य वृद्धि भएको उपभोक्ताहरूले बताएका छन् । साथै हरियो सागसब्जी, तरकारी फलफूल, गोलभेडा, प्याजलगायतका वस्तुमा अत्यधिक मूल्य वृद्धि भएको पाइएको छ । लकडाउन नहुँदा प्रतिबोरा १७ सय रुपैयाँ पर्ने चामल लकडाउन भएपछि १७ सय ५० देखि १८ सयसम्म व्यापारीले लिन थालेका छन् ।

चामलअनुसार प्रतिबोरा ५० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उपभोक्ताले बताएका छन् । साथै सबैभन्दा अत्यधिक मूल्य वृद्धि सागसब्जी, फलफूल तथा तरकारीमा भएको पाइएको छ । हप्तादिन अगाडि प्रतिकिलो १५ देखि २० रुपैयाँमा पाइने गोलभेडा अहिले भने ६० देखि ८० रुपैयाँसम्म व्यापारीले लिँदै आएका छन् ।
त्यस्तै प्याजको पनि मूल्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तु खानेतेलमा त झन् अत्यधिक वृद्धि भई नै रहेको छ । पहिले प्रतिलिटर १ सय ४० रुपैयाँ पर्ने तेल अहिले प्रतिलिटर २ सय ५० रुपैयाँमा बिक्री गर्न थालेका छन् । हप्तादिनमै पनि प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको पाइएको छ । उपभोक्ता सुमन कोइरालाले चामल, दाल, तेलमा अत्यधिक मूल्य वृद्धि भएको बताए ।
उनले भने, ‘आंशिक लकडाउन हुँदा केही मात्रामा मूल्य वृद्धि भएको थियो, पूर्ण लकडाउन भएपछि अत्यधिक वृद्धि भयो ।’ उनले सम्बन्धित सरोकारवाला निकाय मुकदर्शक बनेर बसेको आरोप लगाए । उपभोक्ता रीता राईले दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धि भएको बताउँदै भनिन्, ‘पहिले बजारमा प्रतिकिलो २० रुपैयाँ पर्ने गोलभेडा अहिले ८० पर्न थाल्यो, यो वास्तविक मूल्य वृद्धि नभई व्यापारीले कालोबजारी गरेको हो ।’ उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘यस्तो विषम परिस्थितिमा अत्यधिक मूल्य वृद्धि हुँदा बजार अनुगमन समिति कता छ ?’ अर्का उपभोक्ता तेजेन्द्र लामगादेले पनि चामललगायतका सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको बताए ।
मूल्य वृद्धिको विषयमा व्यापारीहरूलाई जिज्ञासा राख्दा खरिद मूल्य वृद्धि भएकाले आफूले पनि बढाएर बिक्री गर्नुपरेको बताएका छन् । खाद्यान्न व्यापारी शोभा राई श्रेष्ठले आफूलाई नै मूल्य वृद्धि भएर आएकाले बढाउनु परेको बताइन् । उनले चामलमा आफूलाई ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेर आएको दाबी गरिन् । तरकारी, फलफूल व्यापारीहरूले खरिद मूल्य नै महँगो परेकोले वृद्धि गर्नुपरेको बताएका छन् । उनीहरूले कृषि बजारमा नै महँगो पर्न गएको पनि दाबी गरेका छन् ।
कृषिउपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराई तत्कालीन अवस्थामा सागसब्जी तथा फलफूलको मूल्य वृद्धि नभएको बताउँछन् । उनले यदि मूल्य वृद्धि भएको हो भने कालोबजारी नै भएको बताए । उनले गोलभेडामा पनि मूल्य वृद्धि नभएको बताए । उनले गोलभेडा कृषि बजारमा नभएको बताउँदै कोहीसँग छ भने ३० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्न नहुने बताए ।
तर, व्यापारीले भने ५० देखि ८० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । भट्टराईले प्याजमा मूल्य वृद्धि नभएको बताए । उनले भने, ‘तरकारीहरूमा मूल्य वृद्धि भएको छैन, कसैले बढी मूल्यमा बिक्री गर्दैछ भने त्यो कालोबजारी नै हो, सम्बन्धित निकायले अनुगमन गरेर कारबाही गर्नुपर्छ ।’
यता उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरिधारी सापकोटाले रिफाइन तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै कच्चापदार्थको मूल्य वृद्धि भएकाले नेपालमा पनि वृद्धि भएको बताए । उनका अनुसार कार्टुनमा पहिले १६–१७ सय रुपैयाँ पर्ने अहिले भने २३ सय ५० पर्न थालेको छ ।
‘भारतबाट नेपाल आउने तोरी तेलको कच्चा पदार्थ इण्डियन प्यासिफिकले खरिद ग¥यो, जसले गर्दा महँगो परेको हो’–उनले भने । सापकोटा धानको मूल्य भारतमा नै वृद्धि भएकाले चामलको मूल्यमा पनि वृद्धि भएको दाबी गर्छन् । उनले चामललगायतका खाद्य पदार्थमा उत्पादक कम्पनीले नै खुद्रा मूल्य तोकिदिएकाले मूल्य वृद्धि नभएको दाबी गरे ।
तर, बजारमा चामललगायत दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको छ । धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले लकडाउनमा बजार बन्द नै रहेकाले अनुगमन नभएको बताए । उनले भने, ‘हामीलाई पनि मूल्य वृद्धि भएको विषयमा जनगुनासो आएको छ, अब अनुगमन गर्छौं ।’