धरान । भारतको सिरोम इन्सिच्यूट अफ इन्डिया प्रालिले अन्य मुलुकलाई कोरोनाभाइरसविरुद्धको खोप दिन नसक्ने जनाएको छ । 

प्रालिले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै सन् २०२१ को अन्तपछि मात्रै खोप दिन सक्ने जनाएको हो । सिरोम विश्वमा सर्वाधिक खोप उत्पादन गर्ने कम्पनी हो । उसले कोरोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्दै आइरहेको छ । कोरोना महामारीका बेला नेपालले १ लाख खोपका लागि अग्रिम भुक्तानी गरिसकेको छ । तर, आजको दिनमा अन्य मुलुकलाई खोप निर्यात गर्न नसक्ने जनाएको हो । यसले नेपाल जस्ता विकाशोन्मुख देशहरू प्रत्यक्ष प्रभावित बन्नेछन् । 

sirom_press_statement

भारतमा हिजो कोरोना संक्रमितको संख्या घटेर २ लाख ६७ हजार ४४ जना रहेका थिए भने मृत्यु भने ४ हजार ५ सय २५ रहेको छ । जुन विगतको दैनिक मृत्युदरभन्दा बढी हो । नेपालमा कोरोना संक्रमित बढ्ने, घट्ने भइरहेको छ तर पनि ८ हजारभन्दा माथि नै संक्रमित देखिने गरेका छन् । नेपाललाई भारत सरकारले १० लाख खोप अनुदानमा प्रदान गरेको थियो । सोही खोपको पहिलो र दोस्रो डोज लगाउनेहरू कुल जनसंख्याको २३ लाख ९७ हजार रहेका छन् । 

यो कुल जनसंख्याको ७.९९ प्रतिशत हो । खोप लगाउनेहरूमा कोरोना देखिए पनि मृत्युदर न्यून मात्रै रहेको विभिन्न तथ्यांकले देखाएको छ । चीन, अमेरिका, भारतलगायतमै पनि खोप लगाउनेहरूमा कोरोना देखिए पनि मृत्युदर एकदमै न्यून देखिएको छ । बीबीसी नेपाली सेवाले (वैशाख ३० गते) प्रकाशित गरेअनुसार एप्रिल २६ सम्म संयुक्त राज्य अमेरिकामा खोप लगाइसकेका साढे नौ करोड लाख मानिसमध्ये ९ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । तीमध्ये ९ प्रतिशत अर्थात् ८३५ जना अस्पतालमा भर्ना भएका थिए र १३२ अर्थात् एक प्रतिशतको मृत्यु भएको थियो । अस्पताल पुगेका एकतिहाइ बिरामी र ज्यान गुमाएका १५ प्रतिशत बिरामीमा ‘सङ्क्रमण नदेखिएको वा कोभिड–१९ सँग सम्बन्धित नरहेको’ विवरण आएको थियो ।

यसले गर्दा पनि खोप प्रभावकारी रहेको विभिन्न तथ्यले देखाउन थालेको छ । ब्लुमवर्ग अनलाइनका अनुसार चीनमा आजको दिनमा १ करोड ४० लाखले दैनिक खोप लगाउने गरेका छन् । नेपालमा चीनले पनि ८ लाख खोप अनुदानमा दिएको थियो । त्यसमध्ये पहिलो खोप लगाइसकिएको भए पनि दोस्रो डोजको खोप आइतबार (जेठ २ गते) बाट सुरु गरिएको छ । जेठ १० गतेसम्म दोस्रो डोज लगाइँदै छ । यो चीनको भेरोसेल नामक खोप लगाइँदै छ । उपत्यकाका तीन जिल्लामा मात्रै यो खोप लगाइँदै छ । 

नेपालमा कुल ३१ लाख ४८ हजार डोज खोप प्राप्त गरेका थिए । प्रदेश १ मा खोप पूरा गर्नेको संख्या ४२ हजार ७ सय ६४ रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार ६४ वर्ष माथिका ज्येष्ठ नागरिकमध्ये २ लाख ५७ हजार १ सय ७१ जनाले सिंगल डोजको खोप लगाएका छन् । त्यस्तै प्राथमिकताका आधारमा थप ९ हजार ३३१ जनाले सिंगल खोप लगाए पनि दोस्रो खोप प्राप्त गर्न सकेका छैनन् । 

सुनसरीमा ९ हजार ३९२ जनाले खोपको डोज पूरा गरेका छन् । त्यसमध्ये केहीमा कोरोना संक्रमण देखिएको छ । खोपको डोज पूरा गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई कोरोना देखिएको थियो । तर, सामान्य लक्षण मात्रै देखिएको डा. साहले ब्लाष्टकर्मीलाई बताएका थिए । सुनसरीमा खोप लगाएकामध्ये कतिलाई कोरोना भेटिएको थियो भन्ने यथेष्ट तथ्यांक छैन । सुनसरीका कोभिसिल्ड खोप लगाइएको जनस्वास्थ्य कार्यालय सुनसरीकी तथ्यांक शाखाकी सरस्वती बस्नेतले जानकारी दिइन् । 

धरानमा डोज पूरा गरेकाको संख्या १ हजार ८ सय ६३ रहेको छ । करिब १४ हजार जनाले दोस्रो डोजको पर्खाइमा रहेको धरान उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता बताउँछन् । खोप लगाउनेहरुमा संक्रमण दर एकदमै न्यून पाइएको उनले बताए । इनरुवाका स्वास्थ्य कार्यालयका एकजना कर्मचारीले खोपको डोज पूरा गरे पनि उनी केही गम्भीर रहेका छन् । ‘नाक बन्द हुने, रुगामर्की लाग्नेसम्म देखिएको छ, सिकिस्त चाहिँ भएको छैन’ उनले भने, ‘सिरियस भएर एकजना भर्ना भएको अवस्था छ ।’ खोपको उद्देश्य पनि मृत्यु दरलाई कम गर्ने रहेको छ । 

धरानमा आजको दिनमा ४ सय सक्रिय संक्रमित रहेका छन् भने १४ जना अस्पतालमा भर्ना भएका छन् । कुल संक्रमितको संख्या १ हजार ८९ पुगेको छ । दोस्रो लहरको कोरोना महामारीका कारण १९ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलोपटक २०७७ माघ १४ गतेबाट कोभिसिल्ड खोप लगाउन सुरु गरिएको थियो । त्यसक्रममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी साथै दोस्रो चरणमा ज्येष्ठ नागरिक, पत्रकारहरूलाई खोप लगाइएको थियो ।