विजयपुर/ प्रदेश नं. १ मा विद्युतीय माध्यमबाट बैङ्किङ कारोबार गर्नेको सङ्ख्या वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरको गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष चैतसम्मको तथ्याङ्कलाई केलाउँदा बैङ्किङ कारोबार विद्युतीय माध्यमबाट गर्नेको सङ्ख्या वृद्धि भएको देखाएको छ ।
विद्युतीय माध्यमहरू एटिएम, डेबिट कार्ड, मोबाइल बैङ्किङ र इण्टरनेटबाट बैङ्किङ कारोबार गर्नेहरूको सङ्ख्या वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०७६÷७७ मा एटिएम प्रयोगकर्ता ५ सय ३ जना रहेका थिए । डेबिट कार्ड प्रयोगकर्ता ८ लाख ९३ हजार, मोबाइल बैङ्किङका प्रयोगकर्ता १६ लाख ११ हजार, इण्टरनेट बैङ्किङ प्रयोगकर्ता ७० हजार रहेको नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ । चालु आर्थिक वर्ष चैतसम्ममा प्रदेशभर ५ सय ३४ जना एटिएम प्रयोगकर्ता रहेका छन् ।

डेबिट कार्ड प्रयोगकर्ता १० लाख ५९ हजार प्रयोगकर्ता रहेका छन् । मोबाइल बैङ्किङ प्रयोगकर्ता १८ लाख ९८ हजार ६ सय रहेका छन् भने इण्टरनेट बैङ्किङका प्रयोगकर्ता ८३ हजार ३ सय रहेका कार्यालयले जानकारी दिएको छ ।
उक्त तथ्याङ्कलाई केलाउँदा ९ महिनामा एटिएम प्रयोगकर्ता ३१ जना वृद्धि भएका छन् । डेबिट कार्ड प्रयोगकर्ता १ लाख ६३ हजार वृद्धि भएका छन् ।
मोबाइल बैङ्किङका प्रयोगकर्ता २ लाख ८७ हजार ६ सय वृद्धि भएका छन् । इण्टरनेट बैङ्किङ प्रयोगकर्ता १३ हजार ३ सय वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षमा एटिएम प्रयोगककर्ता झापामा १ सय ४८ रहेका छन् । मोरङमा १ सय २४ रहेका छन् भने सुनसरीमा १ सय २१ रहेका छन् । डेबिट कार्ड प्रयोगकर्ता झापामा २ लाख ६१ हजार १ सय रहेका छन् ।
मोरङमा २ लाख ८५ हजार ८ सय रहेका छन् । सुनसरीमा २ लाख ७२ हजार ३ सय रहेका छन् । मोबाइल बैङ्किङ प्रयोगकर्ता झापामा ४ लाख ६२ हजार ५ सय रहेका छन् । मोरङमा ४ लाख ७० हजार रहेका छन् ।
झापामा ४ लाख ६२ हजार ५ सय रहेका छन् । इण्टरनेट बैङ्किङ प्रयोगकर्ता झापामा २२ हजार १ सय रहेका छन् । मोरङमा २३ हजार रहेका छन् भने सुनसरीमा २० हजार ५ सय रहेका छन् ।
गत आर्थिक वर्षमा झापामा एटिएम प्रयोगकर्ता १ सय २०, मोरङमा १ सय ३७ र सुनसरीमा १ सय १३ रहेका थिए । डेबिट कार्ड प्रयोगकर्ता झापामा २ लाख १८ हजार ७ सय रहेका थिए ।
मोरङमा २ लाख ३९ हजार र सुनसरीमा २ लाख ३४ हजार ६ सय रहेका थिए । मोबाइल बैङ्किङ प्रयोगकर्ता झापामा ३ लाख ८५ हजार ५ सय रहेका थिए । मोरङमा ४ लाख ४ हजार रहेका थिए ।
सुनसरीमा ३ लाख ५१ हजार २ सय रहेका थिए । इण्टरनेट बैङ्किङ प्रयोगकर्ता झापामा १८ हजार, मोरङमा २५ हजार ४ सय र सुनसरीमा १७ हजार रहेका थिए ।
तथ्याङ्कअनुसार पहाडी जिल्लामा विद्युतीय माध्यमबाट बैङ्किङ कारोबार न्यून हुने गरेको देखाउँछ । प्रयोगकर्ता पहाडी जिल्लामा किन वृद्धि नभएको भन्ने जिज्ञासामा नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरका प्रमुख सत्यन्द्र तिमिल्सिना आनुपातिक रूपमा पहाडि जिल्लामा पनि वृद्धि भएको बताउँछन् । उनले पहाडी जिल्लामा प्रयोगकर्ता नै कम भएकाले वृद्धि हुने दर पनि कम नै रहेको बताए ।
विद्युतीय माध्यमबाट बैङ्किङ कारोबार बढ्नुमा मुख्य कारण कोभिड–१९ रहेको छ । प्रमुख तिमिल्सिनाले भने, ‘विद्युतीय कारोबार बढ्नुमा कोभिड–१९, राष्ट्र बैङ्कको नीति र मानिसको नयाँ प्रविधिप्रतिको मोह हो ।’ उक्त तथ्याङ्कमा क्यूआर कोड, वालेटलगायतका भर्खर प्रयोगमा आएको प्रविधि भने समावेश भएको छैन ।