धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या भएपछि प्रतिष्ठानले आकस्मिक विरामीलाई भर्ना नलिई फर्काउन थालेको छ ।

प्रतिष्ठानले आज (शुक्रबार) उपचारका लागि भर्ना लिन नमानेको एक जना विरामीका आफन्तले बताए । उनका अनुसार चिकित्सकले अक्सिजन नभएको भन्दै फर्काएका थिए । 

आकस्मिक विरामीलाई भर्ना लिन छाडेपनि प्रतिष्ठानले यो कुरा गोप्य राखेको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले गोप्य राख्न निर्देशन दिएको प्रतिष्ठानका एक चिकित्सकले बताए । उनका अनुसार उपकुलपति गिरी र अस्पताल निर्देशक डा.गौरीशंकर साहले अक्सिजन प्लान्ट बिग्रिएको बारे सार्वजनिक नगर्न निर्देशन दिएका हुन् । उनले भने, ‘आज कोभिड र अरु ईमर्जेन्सी प्यासेन्टलाई भर्ना लिइएको छैन । किन कि त्यसका लागि पुग्ने अक्सिजन छैन ।’

अक्सिजन अभावमा प्रतिष्ठानमा एकैदिनमा पाँच जनासम्म कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि क्षमता अनुसार उत्पादन हुन सकेको छैन । प्रतिष्ठानमा १६ सय लिटर प्रति मिनेट अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट स्थापना भएपनि त्यसका दुई टावर मध्ये एउटा पहिले देखि नै बिग्रिएको छ । त्यसमाथि पनि अहिले चलिरहेको टावर पनि ‘ओभरलोड’ भएर बेला बेला बन्द हुने गरेको छ । प्रतिष्ठानकै एक प्राविधिकका अनुसार अहिले अक्सिजन प्लान्टबाट प्रति मिनेट २ देखि ३ सय लिटर मात्र उत्पादन हुने गरेको छ । यसले प्रतिष्ठानलाई विरामी धान्नै समस्या भएको छ । प्रतिष्ठानले बाहिरबाट सिलिन्डरको अक्सिजन किनेर काम चलाउँदै आएको छ । 

तर अहिले सिलिन्डरको अक्सिजन पनि अभाव हुन थालेपछि प्रतिष्ठानमा समस्या उत्पन्न भएको हो । प्रतिष्ठानले आकस्मिक विरामी भर्ना लिन छाडेको विषयमा कुरा गर्न पटक पटक सम्पर्क गर्दा पनि प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा.गौरीशंकर साह, सह निर्देशक डा.प्रमोद बराल, प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोख्रेल, कोभिड अस्पताल प्रमुख डा.ज्ञानेन्द्र मल्ल कसैले फोन उठाएनन् । प्रतिष्ठानका कोभिड फोकल पर्सन डा.विकास साहले भने कोभिड विरामीलाई भर्ना लिईरहेको दाबी गरे । उनले भने, ‘कतिपय विरामी निको भएर पनि घर फर्किनु भएको छैन, त्यसैले बाहिरबाट सम्पर्क गर्ने केहीलाई भने नाम टिपेर पछि बोलाउने भनेका हौं ।’

उपकुलपतिकै मिलेमतोमा अक्सिजन प्लान्टमा अनियमितता

oxigen-plant-bpkihs

प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान भएको डेढ वर्ष पनि नपुग्दै समस्या आएको छ । प्रतिष्ठानले अक्सिजन प्लान्टको मर्मत सम्भार गर्ने जिम्मा विज्ञान शर्माको कम्पनी डाईग्नोकेन इन्टरनेसनललाई दिएको छ । 

यो कम्पनीलाई कालोसूचीमा राखेर जरिवाना तिराउन महालेखा परीक्षकको कार्यालय, खरिद प्रशासन र खरिद शाखाले राय दिए पनि प्रतिष्ठानका उपकुलपति गिरीले उल्टो ३० लाख रुपैयाँ उल्टै भुक्तानी दिएका छन् । प्रतिष्ठानको आर्थिक प्रशासनले गत वैशाख ९ गते उपकुलपतिलाई पत्र लेख्दै डाइग्नोकेनबाट क्षतिपूर्ति रकम ३२ लाख ४० हजार ६ सय ४० रुपैयाँ लिनुपर्ने राय दिएको थियो ।


प्रतिष्ठानमा जडान गरिएको अक्सिजन प्लान्ट मर्मत सम्भारको हिसाब दुरुस्त नभएको र प्लान्ट आपूर्ति गर्दा तोकिएको समय एक सय २० दिनभन्दा पछि मात्र ल्याएर जडान गरे पनि परीक्षण र सञ्चालनसमेत नगरी बेपत्ता भएपछि महालेखाले प्रतिदिन ०.५ प्रतिशतको दरले हर्जना भराउनुपर्ने उल्लेख गरेर पत्र लेखेको थियो । महालेखाले डाइग्नोकेनका सञ्चालक विज्ञान अर्यालबाट ३१ लाख रुपैयाँ हर्जना तिराउनुपर्ने भनेर प्रतिष्ठानलाई पत्र नै लेखेको थियो । ३ करोड २४ लाख रुपैयाँ लागतमा ०७६ माघ २४ गते जडान गरिएको अक्सिजन प्लान्ट बिग्रँदा हालसम्ममा ५५ लाख रुपैयाँ अतिरिक्त खर्च भइसकेको छ । थप २५ लाख रुपैयाँ खर्च गरेर सर्भिसिङ गर्ने तयारी भईरहेको प्रतिष्ठान स्रोतले बतायो ।

टेन्डर पारेर पनि तोकिएको समयमा आपूर्ति नगरेपछि पूर्वउपकुलपति प्रा.डा. राजकुमार रौनियारले डाइग्नोकेन र अर्याललाई कालोसूचीमा राख्ने निर्णय गरिसकेका थिए । प्लान्टको जडान भएदेखि ३ हजार, ६ हजार र ९ हजार घण्टामा मर्मत सम्भार गरेबापत प्रतिष्ठानको खरिद आदेशबिना नै भुक्तानीका लागि माग भएकोमा पनि खरिद शाखाले कालोसूचीमा राख्ने निर्णय भइसकेको अवस्थामा कानुनी सल्लाहकारसँग राय लिएर मात्र भुक्तानी गर्न राय पेस गरेको थियो ।