धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘दुई दिनअघि गरेको कोभिडका बिरामी भर्ना नगर्नू’ भन्ने सर्कुलर आज आएर प्रमाणित भएको छ ।
प्रतिष्ठान आफैले एक विज्ञप्ति जारी गर्दै अक्सिजन उपलब्धताका आधार मात्रै कोभिडका नयाँ बिरामी भर्ना गरिने जानकारी गराएको छ । यसले दुई दिनअघि प्रतिष्ठानका चिकित्सकहरूलाई गरेको मौखिक सर्कुलर प्रमाणित (लिंक यहाँ हेर्नुहोस) भएको हो ।
प्रतिष्ठानको प्रतिमिनेट १६ लिटर क्षमतामा उत्पादन हुने अक्सिजन प्लान्ट बिहीबारयतादेखि बिग्रिएको थियो । हाल प्रतिमिनेट अढाई लिटरको हाराहारीमा मात्रै अक्सिजन उत्पादन भइरहेको प्रतिष्ठान स्रोतले ब्लाष्टकर्मीलाई जानकारी गराएको थियो ।

प्रतिष्ठान पूर्वको रेफरल सेन्टरको रुपमा परिचित छ । यहाँ दैनिक कोरोना मात्रै हैन, अन्य बिरामी पनि रिफर भएर आउने गरेका छन् । विशेष गरी प्रदेश १, प्रदेश २ का बिरामीको उपचारको थलो हो । त्यति मात्रै नभई छिमेकी देश भारतको विहार राज्यका नागरिकहरु पनि उपचारका लागि आउने गरेका छन् । अहिले कोरोना महामारीका कारणले भारतका बिरामीहरु उपचारका लागि आउने गरेका छैनन् ।
बीपी प्रतिष्ठानमा आइसियु, एचडियु बेडसहितको सय बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा छ । जहाँ १५ वटा आइसियु भनी दाबी गरिएको छ । तर, प्रतिष्ठान स्रोतका अनुसार जम्मा ७ वटा मात्रै आइसियु रहेको छ । २५ वटा एचडियु बेड रहेको छ । अन्य भने अक्सिजन जडान गरिएको बेडहरू छन् ।
अक्सिजन प्लान्ट सुचारु हुँदा दैनिक ७ देखि ८ जना कोरोना संक्रमित भर्ना हुँदै आएका थिए । तर, अहिले अक्सिजन प्लान्ट बिग्रिएका कारणले प्रतिष्ठानले अक्सिजनको उपलब्धताको आधारमा मात्रै भर्ना लिने आफैंले शनिबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘प्लान्ट दक्ष इन्जिनियरहरूले मर्मत गरिरहेकाले प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा नआएसम्म (वा अक्सिजनको पर्याप्त मात्रामा वैकल्पिक व्यवस्था नगरिएसम्म) हाल कोभिड अस्पतालमा भर्ना गरिएका बिरामीको उपचारमा अक्सिजनको कमी नहोस् भनी नयाँ बिरामी भर्ना गर्ने हकमा आफ्नो अक्सिजन सिलिन्डरको उपलब्धताको आधारमा भर्ना लिई उपचार गरिने व्यहोरा जानकारी गराउँछौं ।’
उनले थप लेखेका छन्, ‘प्रतिष्ठानले बिरामीको उपचारमा चाहिने अक्सिजनको प्रत्याभूति गर्न सक्ने आफ्नो क्षमतासम्म बिरामीलाई उपचार सेवा प्रदान गर्न कटिबद्ध रहेको छ ।’
बीपीको अक्सिजन प्लान्टको एउटा युनिट लगभग लामो समयदेखि बिग्रिँदै आएको थियो । कोरोना महामारीको दोस्रो लहर सुरु भएयता मात्रै निर्माण गरिएको थियो । एउटा युनिटबाट मात्रै काम हुँदै आएको थियो । प्रतिष्ठानले अक्सिजन प्लान्टलगायत हेर्नका लागि सम्बन्धित इन्जियनियरलाई राख्नु पर्ने भए पनि असम्बन्धित व्यक्तिलाई राखेका कारणले पनि समस्या सिर्जना हुँदै आएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्ना बुबाका साथीका छोरा इन्जिनियर राहुल मिश्रलाई प्रतिष्ठानको सम्पूर्ण इन्जिनियरिङ हेर्ने जिम्मा दिएका छन् ।
जबकि अक्सिजन प्लान्टलगायत हेर्नका लागि बायोमेडिकल इन्जिनियर राख्नुपर्छ । सम्बन्धित विषयमा विशेषज्ञले मात्रै समस्याको समाधान गर्न सक्ने भए पनि प्रतिष्ठानका उपकुलपतिले आफ्ना निकटका मानिस राखेर मिलिभगतमा काम गर्दै आएका छन् । पछिल्लो समय मर्मतका लागि गुणस्तरहीन सामग्रीको प्रयोग गरी बिलमार्फत् अनियमितता गर्दै आएको प्रतिष्ठान स्रोतको भनाइ छ ।