विराटनगर/विराटनगरमा अक्सिजन अभाव सुरु भएको छ । यही कारण अस्पतालहरूले कोरोना संक्रमितको उपचारमा कठिनाइ भइरहेको बताएका छन् ।
विराटनगरस्थित न्यूरो हस्पिटलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
३६ शैय्याको अस्पतालमा भर्ना भएका कोरोना संक्रमितका लागि अक्सिजन अभाव देखिन थालेको उनले बताए । ‘शुक्रबार साँझसम्म पुग्ने अक्सिजन अस्पतालमा रहेको छ,’ उनले भने, ‘स्थानिय प्रशासन र प्रदेश सरकारलाई अक्सिजन अभाव भएको जानकारी गराउँदा पनि जोहो गरिदिने कुनै पहल कदमी भएको छैन ।’
न्यूरोमा दैनिक १ सय ५० सिलेण्डर अक्सिजन आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ । कोभिड अस्पताल सुरू भएपछि संक्रमितको चाप बढ्दै गएको तर अक्सिजन प्रयाप्त नुहदा समस्या आएको उनले बताए ।

अक्सिजन सप्लार्यस गर्ने कम्पनी मारुतीमा विद्युत अवरोध भएको कारणले प्रयाप्त अक्सिजन उत्पादन नगरेको बताउने गरेको छ । ‘अक्सिजन माग अनुसार नआएपछि हामीले मान्छे पठाएर सोधेका थियौं, बिजुली नभएर उत्पादन गर्न सकेनौं भनेर जवाफ आयो’, भट्टराईले भने, ‘ ‘बिरामी तड्पिराखेको छ, हामीले के भनेर बिरामीलाई भन्ने निकै दुखद अवस्थामा छौं ।’
अक्सिजनकै अभावका कारण धेरै संक्रमितको ज्यान जाने खतरा देखिएको उनले बताए । ‘अक्सिजनको खोजीमा सबैतिर लागि परिसक्यौ अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘साझसम्ममा थप अक्सिजन नपाए साह्रै अप्ठेरो अवस्थामा गुग्नेछौं ।’
न्यूरोको कोभिड अस्पतलाको भेन्टिलेटरमा ७ जना, आइसियूमा, १७ र ११ जना कोरोना संक्रमितको एचडियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ‘अहिले अस्पतालमा स्टकमा १५ सिलण्डेर अक्सिजन रहेको छ,’ अपरेशन डाइरेक्टर भट्टराईले भने, ‘यो अक्सिजनले साझसम्म थेक्छ । थप अक्सिजन नभए विरामीको स्वास्थ्य अवस्था जोखिममा हुन जान्छ ।’
विराटनगरस्थित कोशी अस्पताल भित्रको कोभिड १९ युनिटमा उपचाररत कोरोना संक्रमितलाई पनि बुधबार राती अक्सिजन अनियमित भएको छ । कोभिड अस्पताल भित्रको एचडियु वार्डमा उपचाररत एक संक्रमितका आफन्तले दिएको जानकारी अनुसार राती अक्सिजन नपाएर समस्या भएको बताएका छन् ।
कोरोनाको गम्भिर लक्षण देखिएका ति बिरामीलाई हाइफ्लोमा अक्सिजन दिनुपरेको संक्रमितका आफन्तले बताए । ‘बुधबार राती अक्सिजन सकिएको जानकारी आयो । डाक्टरलाई सोध्दा अरु अस्पताल लैजानु भन्छ’, ती संक्रमितका आफन्तले भने, ‘यति राती कहाँ लैजानु ?’
संघिय सरकार मातहत रहेको कोशीमा एक साता अगाडी कोभिड–१९ युनिट संचालनमा ल्याएको छ । प्रदेशकै सबैभन्दा ठुलो यस सरकारी अस्पतालमा अहिलेसम्म आफ्नै अक्सिजन प्लान्ट छैन । ठेकेदारको ढिलासुस्तीको कारणले यहाँ अहिलेसम्म अक्सिजन प्लान्ट जडान हुन नसकेको हो ।
कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका एक जना चिकित्सकका अनुसार कोशीमा प्रयाप्त अक्सिजन नपाएको बताए । ‘बुधबार राती अक्सिजन आभाव देखिएपछि केही विरामीका आफन्तले निजी हस्पिटलमा रेफर गरेर विरामी लगेका थिए,’ उपचारमा खटिएका ती चिकित्सकले भने । अक्सिजन अभावबारे अस्पतालले मातहतका उच्च निकाय र प्रदेश सरकार लगायत सबैलाई जानकारी समेत गराइसकेको अस्पतालले जनाएको छ ।
तत्काल अक्सिजन अभाव हुने बिरामीलाई चाहिने अक्सिजन ल्याउन कुनै पनि निकायले चासो नदिएको अस्पतालकै एक अधिकारीले बताए ।
कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले अक्सिजन उद्योगबाट नै माग अनुसार अक्सिजन नपाएको बताए । उनका अनुसार कोशी अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ ।
कोशीले मारुती र बिनायकसँग सम्झौता गरि अक्सिजन ल्याउने गरेको छ । ‘बुधबार विद्युत अवरोध भएको कारणले अक्सिजन उत्पादनमा समस्या भएको हामीलाई जानकारी आएको छ,’ मेसु दासले भने, ‘अहिले भर्ना भएका विरामीलाई आवश्यक पर्ने अक्सिजन जोगाड भएको छ ।’ थप अक्सिजन ल्याउन पहल कदमी अगाडी बढाएको उनले बताए ।
कोशी अस्पताल भित्रको कोभिड युनिटमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको मेसु दासले जानकारी दिए । अहिले स्टकमा ३६ वटा अक्सिजन लिण्डर रहेको अस्पतालले जनाएको छ । जम्मा कोशीमा २ सय ७९ सिलण्डेर रहेको छ ।
मोरङ र सुनसरीका उद्योगबाट अक्सिजन उत्पादनमा कमी आउँदा विरामी मारमा परेका छन् । विराटनगरका अधिकांश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन, उनीहरु पनि अक्सिजन उद्योगकै भर परेका छन् ।
मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । यी उद्योगले नै विराटनगरलगायत पूर्वमा चाहिने अक्सिजन पु¥याएका थिए । कोरोना महामारीका बेला यी उद्योग सरकारले लिएर चलाउनुपर्नेमा त्यसो नगर्दा अहिले समस्या आइपरेको एक निजी अस्पतालका संचालक बताउँछन् ।
‘बिरामी अक्सिजन नपाएर छट्पटाएको छ, अक्सिजन सरकार अक्सिजन दिन सकेको छैन, भएकै निजी उद्योग पनि सरकारले केही समयका लागि लिएर चलाउन सक्नुपथ्र्यो, ति संचालकले भने । अस्पतालले माग अनुसार अक्सिजन पु¥याउन नसक्नुको कारण भने दिउँसो बिजुली नहुँदा आवश्यकता अनुसार उत्पादन गर्न नसकेको कम्पनीहरुले जवाफ दिएका छन् ।
मारुती अक्सिजन इन्डष्ट्रिजका संचालक शंकर अग्रवालले पानीसँगै आएको हावापुरीले विद्युत अवरोध भएपछि बुधबार राती ७ बजेपछि अक्सिजन उत्पादन हुन नसकेको बताए । ‘२४ घण्टामा ४३० ठूला सिलण्डेर अक्सिजन उत्पादन हुँदै आएको थियो,’ उनले भने, ‘हावाहुरीले विद्युत अवरोध भएको थियो । बिहीबार दिउँसोसम्म पनि जडान हुन नसक्दा अक्सिजन उत्पादन भएन ।’
संक्रमितलाई अतिआश्वयक परेको बेला अक्सिजन उद्योगमा २४ घण्टा विद्युत आपूर्तीको व्यवस्था राज्यले गरिदिनुपर्ने उनले बताए । ‘विद्युत आउने जाने समस्या भइरहेको छ,’ उनले भने,‘त्यसैले गर्दा पनि अक्सिजन प्रयाप्त मात्रामा उत्पादन हुन सकेको छैन ।’
संक्रमण बढेसँगै अक्सिजनको माग बढेपछि धान्न समस्या भइरहेको उनले बताए । ‘पूर्ण क्षमतामा २४ घण्टा नै उद्योग चलाउनुपर्ने अवस्था छ । एकैछिन पनि विश्राम नपाउँदा मेसिनरी चिजमा समस्या आउनु स्वभाविक हो,’ उनले भने, ‘उद्योगमा समस्या आउन थाल्दा नियमित उत्पादनमा असर पर्न थालेको छ । जसका कारण अस्पतालमा आपूर्ति प्रभावित बनेको छ ।’
मेसिनमा केही समस्या आयो भने पुनः उद्योग सञ्चालन गर्न ठूलै मिहिनत गर्नुपर्ने उनले बताए ।