धरान । पत्रकार वसन्त बान्तवाले तेह्रथुममा रहेकी आफ्नो माइजु कोरोना संक्रमणको कारण केही गम्भीर भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटर भए–नभएको सोधखोज गरे । सबै भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार भइरहेको जानकारी पाए । 

विराटनगरका नोबेल, कोशी, विराट अस्पतालमा पनि बुझे । त्यहाँको अवस्था पनि त्यही पाए । कतै जुगाड हुन नसकेपछि अन्ततः बीपीको अक्सिजनसहितको सामान्य (नर्मल) बेडमा भर्ना गर्ने भए । बीपी प्रतिष्ठानको कोभिड अस्पताल कुल १०० बेड हो । जसमा १५ बेड आइसियु, २५ बेड एचडियु र अन्य सामान्य बेड छन् । पहिलो कोरोना महामारीका बेला प्रतिष्ठानको कोभिड अस्पताललाई ‘लेभल थ्री’ अस्पतालको रूपमा चित्रण गरेको थियो । भदौको पहिलो साता अर्थात् भदौ ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै लेवलका अस्पताललाई कोभिड अस्पतालको रूपमा परिणत गर्यो । 

जहाँ सुरुवातमै ८ वटा भेन्टिलेटर र २ वटा पोर्टेबल भेन्टिलेटर राखिएको थियो । तर, हाल ती भेन्टिलेटरमध्ये चारवटा भेन्टिलेटर मात्रै सञ्चालनमा रहेको प्रतिष्ठान स्रोत बताउँछ । एउटा भेन्टिलेटर पल्मोनोलोजी विभागले आकस्मिक प्रयोगका लागि राखेको अवस्था छ ।त्यसो हो भने ३ वटा भेन्टिलेटर कहाँ गए, सञ्चालित छन् छैनन् ? प्रश्न अनुत्तरित छ ।

प्रतिष्ठान स्रोतका अनुसार तीनवटा भेन्टिलेटर बिग्रिएको छ । अक्सिजन प्लान्ट बिग्रिनुपूर्व नै दुईवटा भेन्टिलेटर बिग्रिएका थिए भने थप एउटा बिग्रिएको छ । एकसाताभन्दा बढी भइसके पनि हालसम्म भेन्टिलेटर मर्मतका लागि प्रतिष्ठान प्रशासन तातिएको छैन । जम्मा चारवटा भेन्टिलेटरमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको छ । अन्य भेन्टिलेटर कस्तो अवस्थामा छन् प्रतिष्ठानका पदाधिकारी नै अनभिज्ञ छन् ।  

पूर्वको रेफरल सेन्टरको रूपमा परिचित प्रतिष्ठान आजको दिनमा निजी लगानीमा खुलेका मेडिकल कलेजको भन्दा कम भेन्टिलेटर र आइसियु छन् । कोभिड अस्पतालमा जडान गरिएको ८ वटा भेन्टिलेटर पनि विभिन्न मुद्दा लागेका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले खरिद गरेका भेन्टिलेटर हुन् । एक स्रोत भन्छ, ‘अहिले जडान भएका ८ वटा भेन्टिलेटर पनि रौनियारकै पालामा खरिद गरिएका हुन्, अख्तियारबाट क्लियर भएपछि जडान गरिएका हुन् । कोभिडका लागि आएको पैसा त खर्च नै गरिएको छैन ।’

भेन्टिलेटर बिग्रिएकोबारे अस्पतालका अधिकांश प्रमुख पदाधिकारीलाई ज्ञान छैन । भेन्टिलेटर बिग्रिएको विषयमा अस्पतालका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीलाई बुझ्दा उनले भने, ‘भेन्टिलेटर बिग्रिएको भन्ने जानकारी त तपाईंबाटै पाएँ । बिग्रिएको हो भने गम्भीर विषय हो । म बुझूला ।’ पुनः केही क्षणपछि फोन गर्दा उनले आफूलाई बिग्रिएको भन्ने जानकारी नआएको बताए ।  

यसबारे बुझ्नका लागि उपकुलपति डा. ज्ञानेन्द्र गिरी, कोभिड अस्पतालको जिम्मेवारी पाएका डा. ज्ञानेन्द्र मल्ल र अस्पतालका सहप्रवक्ता डा. चूरामणि पोखरेललाई बारम्बार फोन गरे पनि फोन उठेन । अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बिग्रिएको मर्मत गर्ने जिम्मा इन्जिनियर राहुल मिश्रको रहेकाले उनैसँग बुझ्नका लागि आग्रह गरे । उनले भने, ‘राहुल मिश्रलाई फोन गर्नुस् न हेर्ने मान्छे त उही हो, मेसिनरी चिज हो कहिले बिग्रिन्छ ।’ 

यता सहायक अस्पताल निर्देशक डा. प्रमोद बराल पनि बिग्रिएको विषयमा अनभिज्ञ रहेको बताए । ‘तीनवटा बिग्रिएको भन्ने मलाई चाहिँ जानकारी भएन’ उनले फोनसम्पर्कमा भने, ‘यो विषयमा सहप्रवक्तालाई बुझ्नुहोला थप डिटेल आउँला ।’ समाचार प्रकाशित भइसकेपश्चात् प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले आफै फोन गरी भेन्टिलेटर बनिसकेका र सञ्चालन पनि हुन थालेको जानकारी गराए । (प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले समाचार प्रकाशित भएपछि दिएको जानकारीअनुसार थप गरिएको हो-सं.)

निजी क्षेत्रबाट सञ्चालन भएको झापा बिर्तामोडको बिएण्डसी अस्पतालमा ६५ वटा भेन्टिलेटर र ५० वटा आइसियु बेड छ । त्यस्तै विराटनगरस्थित न्यूरो अस्पतालमा ७ वटा भेन्टिलेटर, १७ वटा आइसियु र ११ वटा एचडियु गरी ३५ बेड छ । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा २१ वटा भेन्टिलेटर छ । विराटमा २६१ व्टा भेन्टिलेटर छन् भने १८ वटा आइसियु रहेको छ । विराट मेडिकल कलेज त्यही अस्पताल हो जहाँ प्रतिष्ठानका उपकुलपति डा. गिरीको पनि लगानी रहेको छ । तर, पूर्वको रेफरल सेन्टरको अवस्था भने दयनीय छ । 

त्यस्तै विराटनगरकै नोबेल मेडिकल कलेजमा पनि २७ वटा भेन्टिलेटर र ५५ वटा आइसियु रहेका छन् । सम्बन्धित अस्पतालका जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गरी भेन्टिलेटर र आइसियु के कति रहेको भन्नेबारे बुझ्दा यो तथ्यांक प्राप्त भएको हो । 

‘बीपीमा ट्राइ गरियो, बीपीमा प्याक छ भनियो, नोबेल, विराट, कोशी सबैमा ट्राइ गरियो, कही छैन’ पत्रकार बान्तवाले फोनसम्पर्कमा भने, ‘हिजो २ बजेदेखि ५ बजेसम्म तनावमा बिताउनु पर्यो । फोक्सोमा निमोनियाँ देखिएकाले तेह्रथुम अस्पतालले तत्काल सुविधा सम्पन्न कोभिड अस्पतालमा लानू भनेपछि भेन्टिलेटर खोज्नुपर्ने अवस्था आएको हो । स्वास्थ्य अवस्था खराब भइहालेमा भेन्टिलेटरमा राख्नुपर्छ भन्ने हो ।’ 

बीपीको भेन्टिलेटरको मात्रै हैन, यहाँ समस्याहरू आइनै रहेका हुन्छन् । यस्ता समस्याको समाधान गर्नकै लागि गत वर्ष सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको संयोजकत्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार संघर्ष समिति गठन भएको थियो । तर, यो समितिले पनि सुधारका लागि आवश्यक पहल गरेको भने देखिँदैन । बीपीको समस्याबारे जानकार समितिका उपाध्यक्ष समेत रहेका डा. राजेन्द्र शर्मा भन्छन्, ‘बीपी प्रतिष्ठानको ध्येय भनेको पढाउनु, अनुसन्धान गर्नु र उपचार गर्नु हो । तर प्रतिष्ठानलाई नेतृत्व गर्नेको ध्येय अर्कै छ । संस्थाको उद्देश्य र संस्थामा आउने पदाधिकारीको उद्देश्य बाझियो । उद्देश्यको टकराव हो ।’

प्रतिष्ठानका पदाधिकारीमा जवाफदेहिता देखिएन नि भन्ने जिज्ञासामा भने, ‘जवाफदेहिता भन्ने शब्द प्राविधिक शब्द हो । जवाफदेहिता कोप्रति हुने भन्ने कुरा टेक्निकल कुरा हो । जेका लागि नियुक्त भएका हुन् त्योअनुसार गदैनन् ।’