सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

आगामी आवमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य सरकारले राखेको छ । चालु आवमा वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको छ भने विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने भएको छ ।

साथै २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारले चालु आवमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड संकलन हुने लक्ष्य राखेको छ ।

महामारी केन्द्रित बजेट

सरकारले कोभिड–१९ महामारी संक्रमण, रोकथाम र नियन्त्रण गरी निरोगी नेपाल निर्माण गर्ने उद्देश्यसहितको बजेट ल्याएको छ ।

महामारी रोकथामलाई मुख्य ध्यान दिँदै सरकारले स्वास्थ्य मन्त्रालयको बजेटमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरिएको छ भने कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष ०७८÷०७९ को बजेट प्रस्तुत गरे । कोभिड–१९ लक्षित बजेटको उद्देश्य नै नागरिकको जीवनको रक्षा गर्नु रहेको अर्थमन्त्रीले उल्लेख गरे । उक्त उद्देश्य हासिल गर्न कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि परीक्षण दायरा विस्तार गर्ने, स्वास्थ्य उपकरण तथा सामाग्रीको आपूर्ति, निःशुल्क खोपको सुनिश्चितता, स्वास्थ्य पूर्वाधार विकास र चिकित्सक एवं स्वास्थ्यकर्मीको प्रभावकारी परिचालन लगायतका प्राथमिकता निर्धारण गरिएको छ ।

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्रीले खोप अभियान सुरु गर्नेमा नेपाल दक्षिण एसियाकै दोस्रो मुलुक भएको स्मरण गर्न आग्रह गरे । सबै स्रोत र साधन प्रयोग गरी खोप आपूर्ति गर्ने जानकारी दिँदै मन्त्री पौडेलले खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको समेत जनाए ।

सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारका औषधि निरन्तर उपलब्ध हुने व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए । औषधिको गुणस्तरको नियमित अनुगमन हुने र औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बिपन्न नागरिकलाई मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, लगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्षभन्दा मुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मुटु रोगको निःशुल्क उपचार सेवालाई निरन्तरता दिने निर्णय पनि बजेटले गरेको छ । यसका लागि २ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

यस्तो  छ बजेटको पूर्णपाठ