विराटनगर । चिकित्सकलाई स्याम्पलको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएको छ ।
विराटनगर – १५ भट्टीचौकमा रहेको जनता मेडिकल स्टोर संचालन संचालक ३५ वर्षिय रबि कुमार रजकले फिजिसियन स्याम्पलको दुरूपयोग गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी आइतबार बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको छ । रजकको घर भित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन स्याम्पल औषधी र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरी राखिएको अवस्थामा बरामद गरेको हो ।
औषधी उत्पादन गर्ने कम्पनीले एमआरमार्फत फिजिसियन औषधी सेम्पलको रूपमा चिकित्सकहरूलाई दिने गर्दछ । तर, फार्मेशी संचालक रजकले ठूलो परिमाणमा अनुचित रूपमा फिजिसियन औषधी संचय गरेर राखेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए । ‘रजकको घरदेखि बरामद गरिएको औषधीको बिलबिजक पनि छैन । यसरी ठूलो परिमाणमा बिलबिजक बिना फिजिसियन औषधी संचय गरेर राखिनु गैरकानुनी हो,’ विभागका प्रमुख कट्टेलले भने । पक्राउ परेका रजकको विराटनगरमा थुप्रै फार्मेशीहरू रहेको छ । फार्मेशीमार्फत फिसिजियन सेम्पल औषधी नयाँ लेबल टाँस गरि बिक्री वितरण गर्ने गरेको सूचना मोरङ प्रहरीमा पुगेपछि छापा मारेको हो । प्रहरीले सुरूमा जितु मेडिको र शिव मेडिकोमा छापा हानेको थियो । फार्मेशीमा उक्त औषधी फेला नपरेपछि घरमा छापा हानेर बरामद गरेको हो ।

प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि पक्राउ परेका रजकले फिजिसयन सेम्कपल औषधीमा अर्को कम्पनीको लेबल राखेर पनि बिक्री वितरण गर्ने गरेको खुलेको छ । ‘रजकको घरदेखि फिसिजियन सेम्पल औषधीदेखि विभिन्न कम्पनीको स्टिगर र लेबल पनि बरामद भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘यसरी अनुचित रूपमा औषधीको संचय गरि राख्नुको विषयमा हामीले गहन अनुसन्धान सुरू गरेका छौं ।’ प्रहरीले रजकको घरदेखि पाँच काटुर्न स्टगर र लेबल पनि बरामद गरेको छ । यसरी स्टीगर र लेबल राख्नुले अन्य कुनै कम्पनीको औषधीमा नयाँ लेबल राखेर औषधी बिक्री वितरण गरेको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धानको दायरा अगाडी बढाएको छ । ‘यदिका परिमाणमा लेबल पनि बरामद हुनुले फार्मेशी संचालक रजकले अन्य कुनै महंगो औषीधीमा नयाँ लेबल टास गरि मुनाफा आजर्न गर्न बिक्री वितरण पनि गरेको हुनसक्दछ । हामी सबै कोणदेखि अनुसन्धानको दायारालाई फराकिलो बनाएका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
प्रहरीले रजकको घरदेखि विभिन्न बैंकको १ सय ७० वटा एटिएम पनि बरामद गरेको छ । पक्राउ परेका रजकलाई प्रहरी र औषधी व्यवस्था विभागले छुटा–छुट्टै मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीले रजकलाई कालोबजार, केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान गर्ने एसपी खड्काले जानकारी दिए । विभागले पनि औषधीको अनुचित प्रयोग गरेको भन्दै औषधी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।