धरान । ‘एकातिर कोरोनाको डर, अर्कोतिर दैनिक व्यापार घाटाको पीर’ आजको दिनमा अधिकांश व्यापारी व्यवसायी यस्तो चिन्तामा बाँचिरहेका बेला धरान–९ सब्जीमण्डी चोकमा युङ्मालुङ खाजा घर चलाएर बसेका सुशिल राईलाई पनि यस्तो चिन्ता नलाग्ने कुरै भएन । 

पहिलो चरणको कोरोनाले भर्खरभर्खर तङ्ग्रिदै गरेका सञ्चालक राईलाई दोस्रो कोरोना लहरले अस्तव्यस्त बनाउँदै लगेको छ । व्यापार घाटाको कुनै हिसाब छैन उनलाई । दैनिक ३० हजार रुपैयाँको कारोबार गर्दै आएका उनको खाजा घरमा ९ जना कर्मचारी थिए । ती कर्मचारीलाई पनि अहिले उनैले पाल्नु परेको छ । 

‘कोरोनालाई सम्झियो भने एकातिर डर लाग्छ, अर्कोतिर व्यवसायलाई सोच्यो भने प्रेसर बढ्छ, कर्मचारीहरू नुन, भुटुन, चामल सकियो भनेर भन्छन्’ उनी भन्छन् । यो समस्या आम व्यवसायी हो ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका अनुसार धरानमा मात्रै दैनिक २० देखि २५ करोड रुपैयाँको व्यापार हुने गरेको छ । ‘व्यापार घाटा दैनिक ५ देखि ७ करोड छ’ सुनसरी उवासंघका अध्यक्ष गिरिधारी सापकोटा भन्छन्, ‘कतिपय व्यापारी कोरोनाकै कारण पलायन हुने अवस्थामा छन् ।’

dharan_bandabandi (7)

पहिलो लहरको कोरोनाका कारण बजार बन्दाबन्दी हुँदा साना तथा मझौला व्यापारी तथा व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका थिए । ‘अब त्यो संख्या झनै बढ्ने देखिँदैछ’ अध्यक्ष सापकोटा भन्छन्, ‘चारवटा उद्योग बन्द भएको भन्ने सुनेको छु ।’

धरानमा ३४ वटा उद्योग छन् । ती उद्योगहरू आजको दिनमा ८ घण्टा मात्रै चलिरहेका छन् । जबकि सामान्य अवस्थामा २४ घण्टा चल्ने गरेका थिए । तीन सिफ्टमा चल्ने उद्योगहरूको उत्पादन मात्रै घटेको छैन, कर्मचारी कटौती भएको अवस्था छ भने उत्पादन बजारसम्म पुग्न पाएको छैन । ‘भोलि बजार सहज होला भनेर जसोतसो ८ घण्टा चलिरहेका छन्,’ उनी भन्छन् । 

खाद्यान्न, सब्जी, औषधि दैनिक चलिरहेको जस्तो देखिए पनि सामान्य बेला जसरी चलेका थिए, त्योअनुरूप नचल्ने अर्थसम्बन्धी जानकार व्यापारी कृष्णकुमार अग्रवाल बताउँछन् । ‘जेजति व्यवसाय भइरहेका छन्, त्यो पनि जसरी चल्नुपर्ने हो त्यसरी चलेको अवस्था छैन’ उनी भन्छन् । 

धरानमा साना ठूला गरी झण्डै १० देखि १२ हजारको हाराहारीमा व्यवसाय छन् । ती व्यवसायमध्ये आजको दिनमा औषधि, खाद्यान्न र तरकारी पसल मात्रै चलेका छन् । अन्य प्रकारका व्यवसाय लगभग ठप्प छ । धरानबाट मात्रै करिब २ देखि ३ अर्ब कर बुझाउने गरेको अर्थबारे जानकार व्यापारी अग्रवाल बताउँछन् । ‘प्रत्यक्ष, अप्रत्यक्ष रूपमा २–३ अर्ब कर धरानले मात्रै बुझाउँछ’ उनी भन्छन् । 

धरानस्थित आन्तरिक राजस्व कार्यालयले सुनसरीको धरान र वराहक्षेत्रको ७ वटा वडासहित पाँचवटा जिल्लाबाट कर संकलन गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट), आय कर, अन्त शुल्क गरी चालु आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले २ अर्ब २८ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको थियो । तर, वैशाख मसान्तसम्ममा उसले २ अर्ब २९ करोड रुपैयाँ कर उठाइसकेको अवस्था छ । कार्यालयका प्रमुख तीर्थ बराल भन्छन्, ‘हाम्रो लक्ष्य २ अर्ब २८ करोड थियो, तर, वैशाख मसान्तसम्ममा २ अर्ब २९ करोड उठिसकेको छ, हामीले लक्ष्य भेट्याइसकेका छौं ।’

कार्यालयले संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा र सुनसरीको धरान र वराहक्षेत्रको ७ वटा वडाबाट कर संकलन गर्ने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी धरानबाट कर संकलन हुने गरेको छ । धरानमा सबैभन्दा बढी कर तिर्नेमध्येमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि एक हो । त्यस्तै धरान कृषि उपज बजार स्थल पनि पर्छ । 

कर तिर्ने कुरामा समस्या छैन तर सबैभन्दा समस्या बजारमा हुने व्यापारीहरू बताउँछन् । कोरोनाको महामारीका बेला हुने बन्दाबन्दीले बजार ठप्प भएका बेला पनि कर तिर्नै पर्ने बाध्यता हुन्छ । यस्तो समयमा व्यापारीहरू सबैभन्दा बढी समस्यामा पर्ने गरेका छन् ।