विजयपुर/धरान उपमहानगरपालिकाले कोरोनाको दोस्रो लहर पछि ‘के कति, कहाँबाट र कुन कुन विधिबाट’ नमुना परीक्षण गरेको भन्ने विषयमा व्यवस्थित तथ्यांक नभएको पाइएको छ ।
धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दै आइरहेको छ । तर, हामीले उपमहानगरसँग हालसम्मको अवस्थाबारे बुझ्दा व्यवस्थित तथ्यांक नभएको पाइएको हो ।
धरान उपमहानगरपालिकाले परीक्षणबारे आधिकारिक जानकारी दिने गरी स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृतलाई जिम्मेवारी तोकेको थियो । उनका अनुसार वैशाख १३ गतेदेखि परिक्षण सुरु गरिएको थियो । जेठ ४ गतेसम्म एन्टिजेन्ट परीक्षण गरिएको थियो ।
स्वास्थ्य महाशाखाले तथ्यांक संकलन, विश्लेषण, अद्यावधिक तथा व्यवस्थापन गर्नुपर्ने भए पनि त्यस्तो आधिकारिक तथ्यांक प्राप्त हुन सकेन । सर्वसाधरणले कुन मितिमा, कहाँबाट, कतिजनाले कुन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरे भन्ने प्रभावकारी र व्यवस्थित तथ्यांक छैन ।

धरानले वैशाख १३ देखि १६ गतेसम्म ५५ जनाको परीक्षण गरेकोमा ७ जनामा भाइरस पुष्टि भएको थियो । तर, सोही दिन धरानमा ७८ जना संक्रमित भएको थिए । ७० जना चाहिँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्ट हो । तर, कतिजनाले परीक्षण गरेका थिए भन्ने तथ्यांक भने छैन ।
त्यस्तै बैशाख २६ देखि ३० गतेसम्म उपमहानगरले २ सय ३२ जनाको परीक्षण गरेको थियो । उक्त समयमा ३ सय ६२ जनामा कोराना भाइरस पुष्टि भएको थियो । ३ सय ६२ जनामा बीपी प्रतिष्ठानमा गरिएको नमुना परीक्षण हो । तर, कतिजनाले परीक्षण गराएका थिए भन्ने तथ्यांक भने उपमहानगरसँग छैन । जेठ ८ देखि १२ गतेसम्म २ सय ३१ जनाको नमुना परीक्षण गर्दा २ सय ४२ पुष्टि भएको थियो । २ सय ४२ जना भने बीपी प्रतिष्ठानमा गरिएको नमुना परीक्षण समेत हो । यसमा पनि कतिजनाको नमुना परीक्षण गरिएको थियो भन्ने तथ्यांक नै छैन ।
उपमहानागरको स्वास्थ्य महाशाखाले पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गरिएको सम्पूर्ण तथ्यांक अद्यावधिक गर्नुपर्ने हो । तर, त्यसो भएको पाइँदैन । यसरी तथ्यांक नै अद्यावधिक नहुँदा उपमहानगरमा कति अनुपातमा भाइरसको संक्रमण दर छ ? घट्यो वा बढ्यो ? नियन्त्रणमा कसरी लाग्ने ? भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।
स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत दीपा अधिकारीले उपमहानगरले परीक्षण गरिएको तथ्यांक अद्यावधिक गरेको भए पनि बीपी प्रतिष्ठानबाट गर्ने नमुना परीक्षणको तथ्यांक अद्यावधिक नभएको बताइन् । उनले एकैठाउँमा सबैतिरको तथ्यांक आउने भएकाले कतिजनाको परीक्षण गरिएको भनेर तथ्यांक विश्लेषण गर्न गाह्रो हुने बताइन् ।
बीपी प्रतिष्ठानमा पिसिआर परीक्षण गरिने भएकाले नगरमा त्यसबारे जानकारी नआउने उनको भनाइ छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले भने तथ्यांक व्यवस्थित रहेको दाबी गरे । तर, माथिको तथ्यले नै उनको दाबी तथ्यहीन रहेको प्रमाणित हुन्छ ।