विजयपुर /प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि धरान–१६ नौलोमार्गका केहीलाई सर्दुखोलाको शिर जीविकोपार्जनको माध्यम बनेको छ । सर्दुखोलाको शिरबाट निगुरो खोजेर अहिले भोक टार्दै छन् । 

नौलो मार्गका ६–७ जनाको समूह बिहान ५ बजे नै डोको बोकेर सर्दु खोलैखोला उकालो लाग्छन् । प्रशासनको बन्दाबन्दीले कामविहीन बनेपछि हातमुख जोड्न निगुरो एकमात्रै विकल्प बनेको छ । दैनिक बिहान ५ बजे सर्दु खोलैखोला ४ घण्टा लगाएर भेडेटार पुग्छन् । खोलैखोला भेडेटार पुगेर निगुरो, गुर्बो टिप्छन् । निगुरो र गुर्बो टिपिसकेपछि उनीहरू फेरि त्यही खोलैखोला ओरालो झर्छन् । बिहान गएका उनीहरू घर आइपुग्दा प्रायः ४ बज्छ । उनीहरू भन्छन्, ‘खाना नभए पछि केही त गर्नुप¥यो नि’

लकडाउन पूर्व उनीहरू विवाहजस्ता भोजभतेरमा कुकको काम गर्दै आएका थिए । लकडाउन भएपछि विवाह, भात खिलाइलगायतका कार्यक्रम बन्द भए । काम बन्द भएपछि उनीहरूको रोजगारी गुम्यो । रोजगारी गुमेपछि निगुरो तथा गुर्बो संकलन गरेर जीविकोपार्जन गर्न थालेका हुन् । डोकोमा मुठा बोकेर बिक्री गर्दै हिँड्छन् ।

निगुरो र गुर्बोबाट प्रतिव्यक्ति दैनिक २ सयदेखि ४ सम्म कमाउँछन् । चन्द्रकला थापा बन्दाबन्दी पछि रोजगारी नपाएर खान नै समस्या हुन थालेपछि विकल्प खोजेको बताउँछिन् । उनी भन्छिन्, ‘बिहान ५ बजे जान्छौ, बेलुका ३–४ बजे आइपुगिन्छ ।’ उनले थपिन्, ‘घर आएर मुठा बनाएर ४० रुपैयाँ गोटा बिक्री गर्छौ, अहिले बजार बन्द भएको बेला ताजा सब्जी भनेर राम्रै बिक्री हुन्छ ।’ 

जंगलमा उत्पादन हुने भएकाले रसायनिक पदार्थ मिसावट पनि हुँदैन, निगुरो र गुर्बो सब्जी र चट्नी राम्रो हुने लक्ष्मी बोगटी बताउँछिन् । ५२ वर्षीय फूर्वा शेर्पा पनि त्यही समूहमा निगुरो खोज्न जान्छन् । शेर्पा भन्छन्, ‘लकडाउन नहुँदा विवाहलगायतका भोज भतेरमा ३१ जनासम्म काम गर्न जान्थ्यौ, अहिले केही काम छैन, घरमा खाना नभएपछि केही न केही त गर्नुप¥यो नि, विकल्प निगुरो भएको छ ।’

उनीहरूलाई निगुरो र गुर्बो टिपेर ल्याउदा २ वटा फाइदा छन् । एउटा निगुरो र गुर्र्बा आफै लिएपछि सब्जी किन्नु पर्दैन भने प्रतिव्यक्ति २–४ सय आम्दानी पनि हुने गरेको छ । तर, जंगलमा कुरा सधैँ एकै किसिमको हुँदैन । कहिलेकाहीँ १ सय मै चित्त बुझाउनुपर्छ । उनीहरू अहिले भानुचोकमाा गएर कसैले खाना दिए, थापेर खाने अवस्था भएको बताउँछन् ।

यति लामो समयसम्म लकडाउन गर्दा राज्यले कुनै राहतका प्याकेज नल्याउनु दुखद् भएको बताउँछन् । ‘राहत दिए केही सहज हुने थियो’ उनीहरू भन्छन्, ‘निगुरो टिपेर कति दिन चलाउने ?’