विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त विकृति, विसङ्गति, अनियमिमता सुधार गर्न निर्णायक पहल गर्ने भन्दै शनिबार ‘धरान नागरिक दबाव सञ्जाल’ गठन भयो । तर, यो सञ्जाल कतिको प्रभावकारी बन्न सक्ला ? आम चासोको विषय बनेको छ ।
विगतमा पनि पटक–पटक प्रतिष्ठानको सुधार गर्ने भन्दै त्यस्ता दबाव समूह बनेका थिए तर, पनि प्रभावकारी पहल गर्न सकेनन् । हाल धरान उपमहानगरपालिका, स्थानीय राजनीतिक दल र नागरिक समाजसहितको त्रिपक्षीय सञ्जालले भने समस्या समाधान गर्ने दाबी गरेको छ ।
प्रतिष्ठानमा विभिन्न यन्त्र, उपकरणमा दैनिक समस्या हुन्छ । यति मात्र होइन, प्रतिष्ठानका उपकुलपति विभिन्न आर्थिक अनियमिमतामा मुछिनु सामान्य जस्तै भइसकेको छ । प्रतिष्ठानमा भौतिक संरचना निर्माण हुँदादेखि स्वास्थ्य सामग्री खरिदमा समेत आर्थिक अनियमिमता हुने गरेका तथ्यहरू बाहिरिने गर्छन् ।
यस्ता जनस्वास्थ्यका कुरामा आर्थिक अनियमिमता भएपछि गुणस्तरीय सेवा असम्भव हुने नै भयो । यसरी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूले गुणस्तरीय उपचार नपाउँदा ज्यान गुमाउनु परेका गुनासो पनि आउने गरेका छन् ।

प्रतिष्ठान नेतृत्वको लापरबाहीका कारणले यस्ता घटना हुने साथै गुणस्तरीय सेवा नपाउने भन्दै विभिन्न समयमा बीपी प्रतिष्ठान सुधार गर्न दबाव समूह बन्ने गरेका छन् । विगतमा पनि २ वटा दबाव समूह बनेका थिए ।
२०७४ सालमा प्रतिष्ठानभित्र हुने गरेका भ्रष्टाचारदेखि स–साना समस्याहरू समाधान गर्न ‘स्वस्थ, स्वच्छ प्रतिष्ठान हाम्रो अभियान’ भन्ने नारासहित ‘एक्सन धरान’ भन्ने दबाव समूह बनेको थियो । उक्त दबाव समूहका संयोजक सञ्चित शर्मा रहेका थिए । समूहले प्रतिष्ठानलाई १३ बुँदे माग राखेर २०७४ सालमै तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएको थियो ।
तर, उक्त दबाव समूह एकपटक ज्ञापन–पत्र बुझाएर औपचारिकतामा सीमित बन्न पुग्यो । त्यसपछि समूहले कुनै गतिविधि गरेको देखिँदैन । गतवर्ष पनि प्रतिष्ठानको बेथिति अन्त्यका लागि भन्दै उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरिधारी सापकोटाको संयोजकत्वमा दबाव समूह बनेको थियो ।
उक्त दबाव समूहले पनि १८ बुँदे सुझावसहितको अवधारणा पत्र प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बुझाएको थियो । सापकोटा नेतृत्वको दबाव समूह पनि अवधारणा पत्र बुझाउनमा मात्रै सीमित भयो, कुनै गतिविधि गर्न सकेन । उक्त दबाव समूहको सह–संयोजक सह–प्राध्यापक डा.राजेन्द्र शर्मा रहेका थिए ।
हालै त्रिपक्षीय ‘धरान नागरिक दबाव सञ्जाल’ मा स्थानीय राजनीतिक दल, उपमहानर र नागरिक समाज रहेका छन् । सञ्जालको संयोजक सह–प्राध्यापक डा.राजेन्द्र शर्मा रहेका छन् । संयोजक शर्मा हाल बनेको सञ्जाल पनि गत वर्षकै निरन्तरता रहेको बताउँछन् । ‘गतवर्षकै निरन्तरता भएकाले सुधार नगरुन्जेल निरन्तर आन्दोलन गर्छौं’–उनले भने ।
विभिन्न चरणमा पहल गर्ने र प्रतिष्ठानका नेतृत्वकर्ताले सुधार नगरेमा आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने सञ्जालको निर्णय छ । आन्दोलनलाई कमजोर ठानेर सुधार नगरेमा अन्तिममा प्र्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई पदबाट हटाउनेसमेत उद्घोष गरेका छन् ।तर, प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री तथा कुलपतिले पनि हटाउनका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को परिच्छेद ४ को दफा ११ (ख) मा उपकुलपतिको नियुक्तिसम्बन्धी व्यवस्था छ भने परिच्छेद ४ कै ११ (घ) मा उपकुलपतिलाई हटाउन सक्ने व्यवस्था रहेको छ ।
परिच्छेद ४ को ११ (घ) (१) मा प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले आफ्नो पदअनुसारको दायित्व पूरा गरेको छैन भनी परिषद्का तत्काल कायम रहेका एक चौथाइ सदस्यहरूले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सह–कुलपतिको अध्यक्षतामा परिषद्का दुईजना सदस्यहरू समेत रहेको एक छानबिन समिति गठन गर्ने व्यवस्था छ ।
(२) मा उपदफा (१) बमोजिम गठित छानबिन समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी आफ्नो प्रतिवेदन परिषद्समक्ष पेश गर्नेछ । (३) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदनमा उपकुलपतिले आफ्नो पदअनुसार दायित्व पूरा गरेको छैन भनी उल्लेख गरेको भए सो सम्बन्धमा परिषद्मा छलफल हुँदा निजले पदअनुसार दायित्व पूरा नगरेकोले पदबाट हटाउने भनी परिषद्को सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित प्रस्ताव कुलपति समक्ष पेश भएपछि कुलपतिले निजलाई पदबाट हटाउन सक्ने व्यवस्था रहेको छ ।
त्यसबाहेक प्रतिष्ठानका उपकुलपतिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्दा आर्थिक अनियमिमता वा भ्रष्टाचार गरेको पुष्टि भएमा पदबाट हटाउन सक्छ । यस विषयमा संयोजक शर्माले अहिले सञ्जालले पहल गर्ने, सुधार नभए चरणबद्ध आन्दोलन गर्ने बताए ।
उनले भने, ‘सञ्जाल उपकुलपति वा पदपदाधिकारी हटाउन होइन, प्रतिष्ठान सुधारका लागि बनेको हो ।’ उनले थपे, ‘नागरिक समाजका नेतृत्वकर्ताले पहलदेखि आन्दोलनसम्म गर्दा भएन भने अन्तिम आन्दोलन सर्वसाधारणसहितको हुन्छ, सर्वसाधारण वा जनताले तानाशाहलाई त फ्याँकेका छन्, उपकुलपति ठूलो होइन ।’
त्यसो त प्रतिष्ठान सुधारका लागि नौ दलीय संयन्त्र पनि गठन भएको छ । सो संयन्त्रका प्रतिनिधि तथा नेकपा (माओवादी केन्द्र) का नेता अइन्द्रविक्रम वेघाले ९ दलीय संयन्त्रले प्रतिष्ठानका विभिन्न विभागमा समस्या कहाँ छ ? किन भएको हो भन्ने जानकारी लिई प्राविधिक तथा प्रशासनिक सुधार गर्नका लागि उपकुलपतिसहित पदपदाधिकारीलाई प्रतिबद्धता गरी समयसीमा दिने, समय पूरा भएपछि सुधार भयो भएन अनुगमन गर्ने र भएन भने थप आन्दोलन गर्ने बताए । उनले नागरिक समाजबाट गठित सञ्जाललाई दलीय संयन्त्रले सहयोग गर्ने बताए ।
बेघाले अहिलेको सञ्जालमा स्थानीय सरकारको पनि सहभागिता भएकाले सुधारका लागि प्रभावकारी र निर्णायक पहल हुने बताए । ‘९ दलीय संयन्त्र र नागरिक समाजको सञ्जाललाई उपेक्षा गरी सुधार नगरेमा धराने जनताको आन्दोलन हुन्छ, जनता आन्दोलित भएपछि राजामहाराजा त हटाएका छन्, उपकुलपति हटाउन ठूलो कुरा होइन’–उनले भने ।