धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि थुप्रै पटक दबाव समूहहरू गठन भए पनि प्रभावकारी काम गर्न नसकिरहेको यथार्थका बीच धरानमा फेरि नागरिक समाजको पहलमा ‘धरान नागरिक दबाव सञ्जाल’ गठन भएको छ ।
यस सञ्जालले ‘संवाद, अनुसन्धान र कारबाही’ तीनवटा कामलाई महत्त्वपूर्ण अङ्गका रूपमा राखेको छ । ‘हामी संवाद गर्नेछौं, दोस्रोमा हामी अनुसन्धान गर्नेछौं र तेस्रोमा कारबाही गर्नेछौं । कारबाही वैधानिक हुन्छ’ सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले सोमबारको पत्रकार सम्मेलनमा भने ।
यसअघि पनि बीपी प्रतिष्ठान सुधारका लागि थुप्रै दबाव समूह गठन भएका थिए । तीन वर्षअघि प्रतिष्ठान सुधार गर्ने भन्दै सञ्चित शर्माको संयोजकत्वमा ‘एक्सन धरान’ बनेको थियो । नेपाली काङ्ग्रेस निकट उनको समूहले बीपी प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएपछि त्यो समूह त्यसै विलीन भएको थियो । एक वर्षअघि सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको संयोजकत्वमा प्रतिष्ठान सुधार सङ्घर्ष समिति बनेको थियो । उक्त समितिले कुनै पनि प्रभावकारी काम गर्न सकेन ।
फेरि एकपटक सुधारका लागि भन्दै सञ्जाल गठन भएको छ । तर, यसले प्रतिष्ठानमा भएको बेथिति, भ्रष्टाचार, आर्थिक अनियमितता, महँगो मूल्यका मेसिनहरूको मर्मत, सम्भारलगायत, अक्सिजन प्लान्टदेखि उपचारसम्ममा भएका बेथितिका सुधारसम्म पहल गरिछाड्ने जनाएको छ । ‘यसपटक सामान्य हिसाबमा छाडिँदैन, प्रतिष्ठान सुधार गर्ने अन्तिम लक्ष्यका साथ हामी लागिरहने छौं’ संयोजक शर्माले भने ।

पत्रकार सम्मेलनपश्चात् सञ्जालको नेतृत्वमा धरान उपमहानगरपालिका, दलीय संयन्त्रको प्रतिनिधिसहितको भेला भएर बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय, सिनेटरका हिसाबमा धरान उपमहानगरपालिकालाई बोधार्थ दिइएको छ । प्रधानमन्त्री बीपी प्रतिष्ठानको कुलपति हुने प्रावधान छ भने सहकुलपति स्वास्थ्य मन्त्री हुने व्यवस्था छ ।
पत्रमा बुँदागत सुधारका पक्षहरूबारे चर्चा गरिएको छ । त्यस्तै सुधारका लागि चाल्नुपर्ने कदमबारे पनि सुझाव दिइएको छ । सञ्जालले अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरू सार्वजनिक गरेको छ । अधिकार सम्पन्न अनुगमन समिति बनाएर प्रतिष्ठानमा भएका बेथिति, भ्रष्टाचारलगायतको अन्त्यका लागि पहल गर्नुपर्ने सुझाव दिइएको छ ।
प्रतिष्ठानका चिकित्सकहरूले भने सेवाको गुणस्तर कसरी बढाउन सकिन्छ र कसरी वा कसले बाधा पु¥याइरहेका छन्, निस्पक्ष कमिटी बनाई दोषीलाई सजाय र एक महिनाभित्र आगामी दिनको रोडम्याप तयार गर्ने, हालसम्म खराब उपकरण, सामान पठाए र अदालतमा मुद्दा परेका कम्पनीहरूलाई कालोसूचीमा राखेर कारोबार बन्द गरिनुपर्ने, प्रतिष्ठानभरि थन्केर बसेका उपकरणको निस्पक्ष छानबिन गर्ने र पूर्ण आर्थिक पारदर्शिताको लागि बेवसाइटमा मासिक रूपमा अद्यावधिक गर्ने व्यवस्था गरेमा मात्रै प्रतिष्ठान सुधार हुने दाबी गर्दै आएका छन् ।