इनरुवा। सुनसरीमा २ दिनका लागि सञ्चालन गरिएको खोप कार्यक्रममा लुछाचुँडीको अवस्था देखिएको छ ।

फ्रण्टलाइनरसहित ६० देखि ६४ वर्ष उमेर समूहलाई मात्र खोप दिइने भनिए पनि जिल्ला बाहिरकाले समेत खोप लगाउँदा नाम टिपाएका जिल्लाभित्रैका फ्रण्टलाइनरले भने खोप पाएनन् । जथाभाबी बनाइएका परिचय–पत्र र सिफारिससहित टिपाइएका नामावलीका आधारमा अन्य व्यक्तिले खोप लगाउँदा जिल्लाभित्रैका तोेकिएको मापदण्डभित्र पर्ने व्यक्ति र समूह भने मारमा परेका छन् । 

तोकिएका व्यक्तिबाहेकको हकमा फ्रण्टलाइनरका आफन्त, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीका परिवार तथा पहुँचवालाले खोप लगाउँदा आफूहरू छुटेको नाम टिपाएर पनि खोप नपाएकाहरूले गुनासो गरेका छन् । स्वयम् स्वास्थ्य कार्यालयमार्फत् खटिएका स्वास्थ्यकर्मी व्यवस्थित प्रयासका बावजुद पनि पारदर्शी हुन नसकेको स्वीकार गर्छन् । उनीहरू अधिकांश मात्रामा बैङ्कको सिफारिसमा आएकाहरूका कारण खोप वितरणमा असहजता आएको बताउँछन् ।

एक स्वास्थ्यकर्मीले भने, ‘बैङ्कको सिफारिस र टिपाइएको नामका आधारमा खोप दिइयो तर, ठूलो सङ्ख्याका त्यस्ता व्यक्ति जिल्लाभित्रका नभई बाहिरका पाइए । कार्यरत ठेगाना स्पष्ट नखुलाइएकाले मोरङ, झापा र उदयपुरसम्मका कार्यरत कर्मचारीले इनरुवा आएर खोप लगाए ।’ सुनसरीमा स्थानीय तहमार्फत् वितरण भएको खोपमा मनोमानी भएको भन्दै प्रशासनले बाँकी खोप फिर्ता ल्याएपछि सीमित स्थान तोकी १ र २ गते गरी दुई दिने कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

जसमा प्राप्त १३ हजार डोजलाई आधार मानी खोप कार्यक्रम सञ्चालन गरिँदा एकै व्यक्तिको परिचय–पत्र दुईभन्दा बढी व्यक्तिले प्रयोगमा ल्याएको, एक संस्था वा कार्यालयको सिफारिसमा बाहिरी व्यक्ति समावेश गराइएको र जिल्लाबाहिरका बैङ्कर्स समेतले खोप लगाएको पाइएको प्रत्यक्षदर्शीहरू बताउँछन् । केहीको हकमा स्वास्थ्यकर्मी र प्रहरीले त्यस्ता व्यक्तिलाई फर्काए पनि अग्रिम तयारीका साथ सिफारिस लिई आएका धेरैजसोले दुई दिनको अवधिमा घण्टौं लाइन कुरेरै भए पनि खोप लगाएको उनीहरू बताउँछन् ।

उता स्वास्थ्य कार्यालय सुनसरीले भने सिफारिस र नाम टिपाइएको आधारमा खोप दिइँदा केही व्यक्ति बाहिरका परेको हुन सक्ने जनाएको छ । कार्यालयले बैङ्कर्सहरूको सवालमा बढी मात्रामा गुनासो आएको बताएको छ । स्वास्थ्य प्रमुख सागर प्रसाईंले खोप लगाउनेको सङ्ख्या ठूलो भएकाले सहज वितरणमा समस्या आएको बताए । उनले थप खोपको पहल भइरहेकाले उपलब्ध हुनासाथ अपुग भएकाहरूको हकमा प्राथमिकताका आधारमा खोप लगाइने बताए ।

यता जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक प्रजिअ उमेशकुमार ढकालले खोप वितरणका क्रममा केही कमीकमजोरी पाइएको बताए । ढकालले लक्षित वर्ग र समूहबाहेक बाहिरकाले खोप लगाएको भन्नेबारे आफूले ढिलागरी जानकारी पाएको बताउँदै सूचनापश्चात् भने कडाइ गरिएको बताए ।

प्रजिअ ढकालले सिफारिस र परिचय–पत्रको दुरुपयोग गरी जिल्लाभित्रै र बाहिरका समेतले खोप लगाएको भन्ने विषय उपर भने छानबिन गरिने बताए । उनले आउँदा कार्यक्रममा अभियानलाई चुस्त बनाएर लैजाने जानकारी दिए ।

भेरोसेल खोप कार्यक्रम अन्तर्गत जेठ २५ देखि २७ सम्म चलाइएको अभियानमा सुनसरीभर ४ हजार ५ सयले खोप लगाएका थिए । प्राप्त १३ हजार डोजमध्ये बाँकी रहेको खोप लगाउन खोप समन्वय समितिको निर्णयपश्चात् असार १ र २ गते कार्यक्रम चलाइएको हो ।

निजामती कर्मचारी, सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयमा खोप लगाइँदा बैङ्कर्स र कानून व्यवसायीसहित स्थानीय लक्षित वर्ग र समूहको हकमा भने इनरुवा अस्पतालमा खोप केन्द्र सञ्चालनमा ल्याइएको थियो । सञ्चारकर्मीलगायत अन्य क्षेत्रका फ्रण्टलाइनरहरूलाई इटहरीमा खोप लगाउने व्यवस्था मिलाइएको थियो । सम्बन्धित स्थानीय तहमा समेत लक्षित समूहकेन्द्रित खोप केन्द्र सञ्चालन गरिएका थिए ।