भद्रपुर । गाउँपालिका र स्वास्थ्य शाखाको लामो प्रयास र पहल पश्चात् प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदंश उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । गाउँपालिकाको करिब २५ लाख लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको क्षेत्र नम्बर ३ बाट निर्वाचित सङ्घीय साँसद राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । 

उद्घाटन गर्दै साँसद लिङ्देनले सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट छुटकारा पाउन सम्पूर्ण गाउँवासीको साझा मागका कारण सफल भएको उल्लेख गरे । तीनै तहका सरकारको प्रयास र पहल पश्चात् गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सवैको गोगदान रहेको प्रष्ट पारे ।

अब सर्पको डसाइबाट समयमै उपचार नपाई कोही पनि गाउँवासीले अकालमै ज्यान गुमाउने छैनन उनले भने । 

जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूमा आइसियु र भेन्टिलेटरको सुविधा नभएकोले कचनकवलमा सञ्चालनमा आएको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरको पनि छिट्टै व्यवस्थापन गरिने उनको भनाई छ । 

कचनकवलबाहेक बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी राष्ट्र भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे । 

त्यस्तै प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले गाउँवासीले लामो समयदेखि भोगिरहेको एउटा पीडादायी समस्याको अन्त्य भएको बताए । उपचार केन्द्रका लागि १० लाख रुपैयाँ सहयोग गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरे । 

गाउँपालिकाले दुई वटा आकस्मिक र चार वटा नर्मल बेड राखेर सर्पदंश उपचार कक्ष तयार गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले यही जेठ २७ गते कचनकवल गाउँपालिकालाई सञ्चालनको अनुमति दिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । 

सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाबाट करिब २५ लाख बजेट प्राप्त भएपछि व्यवस्थापन मिलाएर सेवा सञ्चालन ल्याउन सफल भएको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष रवि ओझाले जानकारी दिए ।

समितिले उपचार केन्द्र सञ्चालन सहज बनाउन सर्पदंश सञ्चालन उपचार कोष खडा समेत गरिसकेको उनले बताए । सर्प दंशसहित यस स्वास्थ्य केन्द्रमा कुकुर तथा विषालु जीवजन्तुले टोक्ने उपचार पनि सुरु गरिसकेको उनले बताए ।

गाउँपालिका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा भएको कार्यक्रममा राजनीति दलका तर्फबाट तुलाराम अधिकारी, भगिरथा अधिकारी, जग्गादाता चिन्तामणि खरेललगायतले मन्तव्य राखेका थिए ।

रविचन्द्र ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विकास घिमिरेले गरेका थिए । त्यस अवसरमा सञ्चारकर्मीसहित ३० जनालाई सम्मान गरिएको थियो ।

 कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापनाको माग गर्दै वृहत् सडक प्रदर्शन गर्दै आइरहेका थिए । विद्यार्थीहरूले २०७५ साल भदौ १८ गते सडक प्रदर्शन गर्दै स्थानीय सरकारको ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएका थिए ।

विद्यार्थीको प्रदर्शन, दबाब र ध्यानाकर्षणपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापनाको पहल त्यही बेलादेखि सुरु गरेका थिए ।