धरान/सुनसरी इटहरी–१६ बालग्रामका सामान्य परिवारका शिवराज विष्ट (२१) हातमा सीप नभएपछि विदेश जाने सोच बनाउँदै थिए । 

प्लस टुसम्म अध्ययन पूरा गरे पनि हातमा सीप नहुँदा अधिकतम ४ सय रूपैयाँमा निर्माण मजदुरमा काम गर्दै आएका थिए । उक्त काम पनि दैनिक नहुने भएपछि निराश बनेका उनी विदेश जाने सोच बनाइरहेकै बेला ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले हेल्भेटास जस्ता संस्थाको सहकार्यमा गरेको ६५ दिने सीपमूलक तालिममा सहभागी बनेका विष्ट यतिबेला सीपयुक्त बनेर आत्मनिर्भर बनिरहेका छन् । उनी आफूमात्रै आत्मनिर्भर छैनन्, अन्यलाई पनि रोजगार प्रदान गर्ने भएका छन् । हेल्भेटासमार्फत् तालिम लिएका अन्य साथीहरूलाई पनि समेट्दै इटहरी १६ मै ‘२४ घण्टे मेन्टिनेन्स सर्भिस’ स्थापना गरी २४ सै घण्टा सेवा दिइरहेका छन् । 

सर्भिस्मार्फत् सबै खाल्का सेवा दिँदै आइरहेको उनी बताउँछन् । २४ घण्टे सर्भिस्मा उनी रेफ एण्ड एसी मेकानिक हुन् भने युवराज कार्की इलेक्टिूकल, वीरेन्द्र चौधरी प्लम्बिङ र होम एप्लाइन्सेन्समा कमल राईले सर्भिस् दिइरहेका छन् । जसका सहयोगीका रूपमा सञ्जीव विष्टलाई राखिएको छ । ‘हामी चौबीसै घण्टा सेवा दिन्छौं, राति १२ बजे पनि फोन आयो भने सर्भिस् दिन पुग्छौं’ विष्टले फोनसम्पर्कमा भने । कुनै बेला निर्माण मजदुरमा हिँड्ने विष्टको कमाइ पनि अहिले लोभलाग्दो छ । ‘मासिक ५०–६० हजार रूपैयाँ त आरामले हुन्छ । कहिले क्रस पनि हुन्छ । टिम नै बनाएर काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त विदेश जाने हैन, अरू साथीभाइलाई पनि यही केही गर्न सकिन्छ भनेर सल्लाह पो दिइरहेका छौं ।’ अहिले उनी हेल्भेटासको तालिमले नयाँ जीवन पाएको अनुभूत गर्छन् । जसबाट मासिक बचत मात्रै गरिरहेका छैनन् । आफ्नो परिवारमा खर्चको भरथेक पनि गरिरहेका छन् । 

‘सबैभन्दा ठूलो कुरा यो तालिमले मलाई नयाँ जीवन दियो, पहिला हेल्पर हुँदा घरबेटीले तलाई आउँछ र भनेर होच्याउँथे, अहिले रेसपेक्ट गर्छन्,’ उनी भन्छन्, ‘अहिले आत्मनिर्भर त बनेको छु नै अरूलाई पनि जागिर दिन सकेको छु ।’ हेल्भेटासको तालिमकै कारण उनी अहिले मोटरसाइकलमा कुद्न सक्ने बनेका छन् । लक्ष्मी बैंक र गाउँको किसान कल्याण सहकारीमा मासिक लगभग ३० हजार रूपैयाँ बचत गर्ने भएका छन् । विष्ट जस्तै हेल्भेटासको तालिमबाट इटहरी ७ बज्राका सुरज विश्वकर्मा (२५) को जीवनमा नसोचेको परिवर्तन आएको छ । 

बिल्डिङ इलेक्ट्रिसियनको तालिम लिएका उनी अहिले साइट चलाउन सक्ने बनेका छन् । कोरोना महामारीको दोस्रो लहर अगाडिसम्म १६ वटा साइट हेर्दै आएकोमा अहिले ७ वटा साइट रहेको उनी बताउँछन् । ‘यो सबै हेल्भेटासको तालिमले गर्दा नै भएको हो, पहिला दैनिक ज्यालादारीमा मजदुरी गर्थे, अहिले आफैले साइट लिएर काम गर्ने भएको छु’ उनी भन्छन् । अहिले उनी आफूमात्रै जागिरे छैनन्, झण्डै चारजनालाई जागिर दिन सफल छन् । उनीसँग काम गर्नेहरूलाई दैनिक ५ देखि ७ सय रूपैयाँसम्म दिएका छन् । ‘सीप सिक्नु पर्ने रहेछ’ अहिले उनी यसो भन्छन् । तीन महिने तालिम लिएका उनी दैनिक ८ सय रूपैयाँ कमाउन सक्ने बनेका छन् । ‘हेल्भेटासले तालिम नदिएको भए हेल्पर नै भइन्थ्यो होला, ढुङ्गागिट्टी बोक्ने भइन्थ्यो’ उनी भन्छन्, ‘तालिमले धेरै राम्रो गरेको छ ।’ कक्षा ८ सम्म मात्रै पढेका उनी अहिले सीपका कारण आफ्नो जीविका चलाउन सक्षम बनेका छन् । अहिले बचतसम्म गर्ने भएका छन् । सहकारीमा दैनिक बचत गर्दै आएका छन् । विकलाई पाँचजनाको परिवार पाल्न अहिले खासै कष्ट छैन । 

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्टिूय कोषबीच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले हेल्भेटासलगायत संस्थाको साझेदारमा युवाहरूलाई सीपमूलक तालिम दिँदै आएको छ । समृद्धिले चार वर्षमा ३० हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ । हेल्भेटास जस्ता साझेदार संस्थाहरूसँग सहकार्य गरेर प्रदेश १, २ र बाग्मती प्रदेशका १६ जिल्लाका ३० हजार युवालाई दक्ष बनाउने गरी नतिजामा आधारित सीपमूलक तालिम कार्यक्रम सञ्चालनमा ल्याइएको समृद्धि आयोजना प्रादेशिक कार्यालय इटहरीका प्रमुख शालिग्राम दाहालले जानकारी दिए । उनका अनुसार प्रदेश १ को ८ वटा जिल्ला मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा कार्यक्रम सञ्चालित छ भने प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा साथै बाग्मती प्रदेशको सिन्धुलीमा मात्रै कार्यक्रम सञ्चालनमा छ । दाहालका अनुसार १६ जिल्लाका २ सय ८ पालिकामा कार्यक्रम सञ्चालित छ । 

Mason by GMTI in Laligurans, Terhathum

यसैअन्तर्गत जुनियर व्यूटिसियनको तालिम लिएकी इटहरी(१६ की कला अधिकारी (३५) आत्मनिर्भर बनेकी छन् । तालिमपूर्व इटहरीको मुख्य बजारमा शृङ्गारको व्यापार गर्दै आएकी उनलाई तालिमका कारण घरमै व्यूटिपार्लर खोलेर जीवन निर्वाह गर्न सक्ने बनेकी छन् । भन्छिन्, ‘आफ्नो खुट्टामा उभिन सक्ने भएकी छु । पहिला श्रीमान्को लगानीबाट व्यापार गर्दै आएकी थिएँ ।’ शृङ्गार र व्युटिसियन तालिम एकअर्काका परिपूरक जस्तो लागकै कारण आफूले तालिम लिएको उनी बताउँछिन् । तर, त्यही तालिमका कारण आज उनलाई नयाँ उचाइमा पु¥याएको छ । ‘धेरै बेनिफिट भएको छ, कस्मेटिकमा सीमित कमाइ हुन्थ्यो । यहाँ आफ्नो मेहनत मात्रै लगाए पनि कमाइ हुन्छ ।

लगानीका हिसाबमा पनि कस्मेटिकमा धेरै पर्छ, यहाँ लगानी पनि कम भयो’ उनी भन्छिन् । उनी थप्छिन्, ‘कन्फिडेन्स बिल्डअप भएको छ, जहाँ गएर पनि कमाउन सक्छु जस्तो लागेको छ ।’ अहिले उनी मासिक ३० देखि ३५ हजारको हाराहारीमा कमाइ हुने बताउँछिन् । समृद्धिमार्फत् लिइएको तालिमबाट अधिकांश युवाहरू आफै कमाउने बनेका छन् । आयोजनाले गरिबीको रेखामुनी रहेका ८० प्रतिशत लक्षित वर्गलाई उद्यम व्यवसाय गर्न सक्षम नागरिक बनाउने लक्ष्य राखेको छ । जसमध्ये कम्तीमा ३३ प्रतिशत महिला, ४० प्रतिशत युवाहरू र ६० प्रतिशत आप्रवासी घरपरिवार तथा वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्ति रहने आयोजनाले जनाएको छ । त्यसैगरी सामाजिक बहिष्करणमा परेका नागरिक पनि यस आयोजनाको लक्षित वर्ग हुने समृद्धि आयोजनाका प्रमुख दाहाल बताउँछन् । 

१० हजार व्यक्तिलाई आपूर्ति शृङ्खलाको विकासका लागि क्लस्टर सबलीकरणमा समाहित गर्न प्रादेशिक उद्योग वाणिज्य संघहरूको क्षमता विकासमा सहजीकरण गर्ने, ३० हजार युवाहरूलाई सीपमूलक तालिम उपलब्ध गराई रोजगारीमा प्रतिस्थापनका लागि सहजीकरण गर्ने, ५० हजार युवाहरूलाई वित्तीय शिक्षा एवम् व्यवसायिक ज्ञान तालिम प्रदान गर्ने आयोजनाको लक्ष्य छ । तालिम लिएकाहरू सम्बन्धित काममा नै व्यस्त भएको पाइएको छ । ढेड वर्षअघि हेल्भेटासमार्फत् नै तालिम लिएकी धरान(१७ की रूबिका राई (३३) ले अहिले खाजाघर खोलेर जीविकोपार्जन गरिरहेकी छन् । ‘चाम्लिङ खाजा घर’ नाम राखिएको उनको खाजाघरले राम्रै आम्दानी दिइरहेको छ । धरानको उद्यमशील र ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थामा दैनिक ३ सय रूपैयाँ बचत गर्न सक्ने बनेकी छन् । तालिम पूर्व पनि सानो किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।

तालिमपश्चात् किराना पसलसँगै खाजा घर सञ्चालनमा ल्याइन् । जसले घरपरिवारलाई भरथेग गर्न सहज बनेको छ । एकजना कर्मचारी पनि राखेकी छन् । मासिक ४ हजार ५ सय रूपैयाँ दिन्छिन् । ‘तालिमले आत्मनिर्भर बनाउन सफल भयो । किराना हुँदा खायो, सुत्यो, किराना सँगसँगै समय सदुपयोग भयो, मलाई एकदुई पैसा पनि भयो’ उनी सुनाउँछिन् । यस्तै इटहरी(३ त्रिवेणी चोकका दीपेन्द्र पाण्डे आजकाल गाउँघरमा त्यसै हिँड्दैनन् । हेल्भेटासमार्फत् तालिम लिएपछि अहिले उनको दैनिकी फेरिएको छ । ‘सीप भनेको सीप नै हो, हरेक कुरामा सर्पोट हुँदो रहेछ’ उनी भन्छन्, ‘तालिमभन्दा अगाडि हल्का पकेट मनीका लागि पनि बुबाआमासँग हात फैलाउनुपथ्र्यो । अहिले मासिक २०(२५ हजार रूपैयाँ कमाउँछु । उल्टै आमाबुबालाई सघाउने भएको छु । कामले व्यस्त पनि बनाएको छ ।’

उनलाई पनि तालिमपूर्व विदेश जाने सोच नआएको होइन । प्लस टु उत्तीर्ण गरे पनि कमाइ केही नभएपछि खाडी मुलुकतिर जाने योजना बनाउँदै थिए । तर, हेल्भेटासमार्फत् पाथीभरा हिमालयन पोलिटेक्निकल इन्सिच्युट प्रालिमा तालिम खुलेको थाहा पाएपछि लिएको तालिमले अहिले उनको दैनिकी बदलिदिएको छ । ‘अहिले विदेश जाने सोच आउनै छाड्यो, यहाँ केही अप्सन नहुँदा चाहिँ विदेश जान मन लाग्थ्यो, अब त आफ्नै काम भयो’ उनी भन्छन् । अहिले उनी मासिक ९ हजार रूपैयाँ विभिन्न बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने भएका छन् । उनलाई पनि हेल्भेटासले नयाँ जीवन दिएको अनुभूत गरे । ण्

समृद्धिका प्रमुख दाहालका अनुसार तालिम लिएकाहरूको अवस्थाबारे तीन तीन महिनामा गरिने अध्ययनका अनुसार ७५ प्रतिशत रोजगारी तथा स्वरोजगारीमा आवद्ध रहेका छन् । जसमध्ये पूर्ण सफलताको हिसाबमा निर्माण, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्समा अन्य क्षेत्रभन्दा बढी सफल रहेको उनी बताउँछन् । संस्थाले पहिलो चरणमा ५ हजार २ जना, दोस्रो चरणमा १० हजार ५ सयलाई तालिम प्रदान गरेको छ । कोरोना महामारीका कारण तेस्रो चरणको तालिम रोकिएको छ । तर, तेस्रो चरणमा १२ हजारलाई तालिम दिने तयारी थालिएको प्रमुख दाहाल बताउँछन् । 

आयोजनाले निर्माण, मेकानिकल, इलेक्टिूकल, कम्प्युटर तथा इलेक्टूोनिक्स, अटोमोबाइल, पर्यटन÷सत्कार, टेक्सटायल (गार्मेन्ट र टेलरिङ्ग), स्वास्थ्य÷सौन्दर्य, विविध व्यवसाय, वैकल्पिक ऊर्जा, छालाका वस्तु उत्पादन, हस्तकला, निर्माण उपकरण, सुरक्षा गार्ड (महिला), मन्टेस्वरी सहजकर्ता, प्रारम्भिक बाल विकास सहजकर्ता, सङ्गीत र नृत्य, पुस्तकालय सहायकमा काम गरिरहेको छ । समृद्धिको साझेदार संस्था हेल्भेटासका क्षेत्रीय कार्यालय प्रमुख शुक चौधरीका अनुसार हेल्भेटासले ९ वटा क्षेत्रका २३ वटा विभिन्न पेशामा आधारित रहेर तालिम दिइरहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ६६ वटा स्थानीय तहमा ५ हजार २ जनालाई तालिम दिइएको थियो । त्यसमध्ये ६९ प्रतिशत अर्थात् ४६ सयभन्दा माथिले १० हजार रूपैयाँभन्दा बढी कमाइ गरेको साझेदार संस्थामार्फत् प्राप्त रिपोर्टका आधारमा अनुगमन गर्दा पाइएको उनले बताए । 

हेल्भेटासले नतिजामा आधारित रहेर मात्रै भुक्तानी गर्ने गरेको छ । जसमा हेल्भेटाससँग साझेदारी गर्ने संस्थाले तालिम लिइरहेकाहरूलाई पहिलो, दोस्रो, तेस्रो र चौथो किस्ता गरेर रकम भुक्तानी गर्ने गरेको छ । तालिम लिएको दिनबाट उपस्थित सहभागीको सङ्ख्या तालिम सम्पन्न हुँदासम्म कति सहभागी बनेका थिए, उनीहरूको अनुगमन गर्ने गर्दै पहिलो र दोस्रो किस्ता दिइने गरिएको छ । त्यस्तै तेस्रो र चौथो किस्ताका लागि तालिम लिएकाहरूले काम गरेको छ÷छैन सोही आधारमा भुक्तानी गर्ने गरेको छ । ‘त्यसमा साझेदार संस्थाले तालिम दिएकाहरूले काम गरिरहेको छ भनेर दाबी गर्छन्,’ उनी भन्छन्, ‘पहिलो तीन महिना तालिम हुन्छ भने अर्को ६ महिना तालिम लिएकाहरूले के गरिरहेका छन् भनेर फिल्डमै पुगेर मोनिटरिङ गर्छौैं । सोही आधारमा मात्रै भुक्तानी गर्ने गरिएको छ ।’ 

हेल्भेटासले सिटिइभिटीको पाठ्यक्रमअनुसार तीन सय ९० घण्टा (६५ दिन) को प्राविधिक एवम् व्यवसायिक तालिम सञ्चालन गर्ने गरेको छ भने निजीस्तरमा सञ्चालित ठूला तथा मझौला उद्योगहरूलाई आवश्यक पर्ने जनशक्तिको आपूर्तिका लागि सिटिइभिटीको पाठ्यक्रमअनुसार ९ सय घण्टा (१५० दिन) को औद्योगिक प्रशिक्षार्थी तालिम दिने गरिएको छ । प्राविधिक एवम् व्यवसायिक तालिममा २४ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य छ भने आद्योगिकतर्फ ६ हजारजनालाई स्वरोजगार बनाउने लक्ष्य लिइएको छ ।