धरान / नागरिक दबाव सञ्जालले भ्रष्टाचार र बेथिति विरुद्ध सशक्त अभियान चलाइरहेको बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीले पाएको ‘प्राध्यापक’ पद प्रमाणित गर्न चिकित्सक, विद्यार्थी र नर्सको आन्दोलन थपिएको छ ।
उनको प्राध्यापक पदमाथि शङ्का गर्न थालिएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरूले औपचारिक रूपमै सम्बोधन गरेर ‘प्राध्यापक’ पद कुन विश्व विद्यालयबाट पाएको हो र त्यसका लागि कुन कुन वैज्ञानिक जर्नलमा के विषयमा शोध पत्र प्रकाशित गरेको हो, सबै खुलाउन वा फोटोकपी मात्र भए पनि देखाउन चुनौती दिएका छन् ।
नागरिक दबाव सञ्जालले १७ सदस्यीय समिति नै बनाएर प्रतिष्ठानमा हुने गरेको भ्रष्टाचार र बेथिति विरुद्ध कदम चाल्दा उपकुलपति गिरी ‘प्राध्यापक’ पदको विषयमा आफ्नै प्रतिष्ठानभित्रका चिकित्सक, नर्स र विद्यार्थीको घेराबन्दीमा परेका छन् । दबाव सञ्जालले भ्रष्टाचारको विषयमा उपकुलपति गिरीसहित अन्य पदाधिकारीलाई सुध्रन चेतावनी दिँदै आएको छ । यसैबेला चिकित्सक, नर्स र विद्यार्थीले उनले पाएको भनिएको ‘प्राध्यापक’ पदमाथि नै शङ्का गरेर चर्को बहस सुरु गरेका छन् ।
उपकुलपति गिरी पछिल्लो समयमा दिनदिनै चिकित्सक, नर्स र कर्मचारीसहित नागरिक दबाव सञ्जालको घेराबन्दीमा पर्दै गएका छन् । उनको नामको अगाडि लेखिने ‘प्राध्यापक’ पद कसरी प्राप्त भएको हो भन्ने विषयले बढी महŒव पाउन थालेको छ ।

चिकित्सा शिक्षा आयोगसँग प्रतिष्ठानका उपकुलपतिका भागमा तीनवटा विद्यार्थीको सिट दिने प्रावधान रहेको छ । तर, प्रतिष्ठान जस्तो प्रतिष्ठा कमाएको स्वास्थ्य शैक्षिक संस्थाले त्यो तीनवटा सिट उपकुलपतिकै कारणले गुमाएको छ । स्रोतका अनुसार आफू ‘प्राध्यापक डाक्टर’ नै भएको भन्दै उपकुलपति डा। गिरीले मेडिसिन विभागमा तीन विद्यार्थीका लागि सिट माग गरे पनि आयोगले नपत्याएपछि उनले नामको अगाडि जोड्ने ‘प्राध्यापक’ फुर्को नक्कली भएको शङ्का प्रतिष्ठानकै चिकित्सकहरूले गर्न थालेका हुन् ।
आयोगले उपकुलपति गिरीले प्राध्यापक भएको कुनै आधिकारिक कागजात उपलब्ध गराउन नसकेको प्रावधानअनुसार उनको भागमा पर्ने तीन सिट नदिएको स्रोतको भनाइ छ । आयोगले तीन सिट नदिएपछि मेडिसिन विभागमा सातजना विद्यार्थी मात्र छन् । प्रतिष्ठान स्रोतका अनुसार गिरीले अहिलेसम्म एमबिबिएसका विद्यार्थीलाई अध्यापन गराएको कहीँ कतै रेकर्ड छैन ।
कोसी अञ्चल अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट ९मेसु० सम्म भएका डा। गिरी कसरी प्राध्यापक भए उनकै समकालीन सहकर्मी चिकित्सकहरूसमेत अनभिज्ञ छन् । डा। गिरीले काठमाडौं विश्वविद्यालय (केयु) बाट प्राध्यापकको पद आफूले पाएको दाबी गरे पनि काठमाडौं युनिभर्सिटी ९केयु० मा उनले प्राध्यापन गरेको र प्राध्यापक भएको रेकर्ड छैन ।
उपकुलपति भएर प्रतिष्ठानमा आएपछि उनले आफू नेपालका झोले प्राध्यापक जस्तो नभएर अमेरिका जस्तो देशको भिजिटिङ प्रोफेसर भएको र त्यहाँका मेडिकल युनिभर्सिटीमा पढाउने चिकित्सक प्राध्यापक भएको बताएका थिए । उनले उनीभन्दा दक्ष र प्रतिष्ठानकै वरिष्ठ प्राध्यापक डाक्टरहरूलाई पनि यसै भन्दै हुर्मत लिने गरेका थिए ।
नेकपा (एमाले) का नेता पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चुनावमा सहयोग गरे बापत डा। गिरीले प्रतिष्ठानको उपकुलपति पद हत्याउन सफल भएका थिए । तर, उनले नामको अगाडि लेख्ने गरेको ‘प्राध्यापक’ पदको शैक्षिक योग्यता खोज्ने आँट भने कसैले गर्न सकेका थिएनन् । जब प्रतिष्ठानका चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा। विष्णु पोखरेलले भ्रष्टाचार बढेको भन्दै अख्तियारको ध्यानाकर्षण गरे, त्यसपछि उपकुलपति गिरीले पोखरेललाई कारबाही गर्ने नियतले स्पष्टीकरण दिन भने तब प्राध्यापक पदको बहस बाहिरिएको हो ।
भ्रष्टाचार निवारण ऐनले कीर्ते जालसाजी गरेर सार्वजनिक पद धारण गरे कैद सजायको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले नपाएको पद र ओहदा पाएँ भनेर उल्लेख गरे कसुरको मात्रा हेरी एक वर्षदेखि दुई वर्षसम्म कैद, पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना र कैद सजाय हुने ऐनमा उल्लेख छ । कुनै राष्ट्र सेवक पद र ओहदामा बस्नेकोे शैक्षिक योग्यता, नाम, तीन पुस्ते, उमेर, जात, थर, नागरिकता वा अन्य कुनै विवरण झुट्टा ठहरिए ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजारसम्म जरिबाना हुने उल्लेख छ ।
प्रतिष्ठान भारतको दिल्लीस्थित एम्सको मोडलमा स्थापना गरिएकाले एक दशक अघिसम्म एम्सपछि बीपी प्रतिष्ठानको स्वास्थ्य शिक्षा प्रणालीलाई अनुकरणीय मानिन्थ्यो । बीपी प्रतिष्ठानको चिकित्साशास्त्रको डिग्रीलाई विश्वका मेडिकल युनिभर्सिटीले मान्यता दिने गरेका छन् । यसको अर्थ नेपालको मेडिकल शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न बीपी प्रतिष्ठानले ठूलै योगदान दिएको छ । तर, अहिले प्रतिष्ठानको शैक्षिक क्षेत्रमा भाइरस प्रवेश गरेकाले शैक्षिक कार्यक्रम टिठलाग्दो छ । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षाको रेकर्ड हेर्दा पनि पछिल्ला पाँच वर्षयता प्रतिष्ठानको शैक्षिक स्तर खस्कँदै गएको प्रतिष्ठानकै वरिष्ठ प्राध्यापकले बताए ।
करिब १५ महिना अघिमात्र उपकुलपति भएर आएका डा। ज्ञानेन्द्र गिरीको कार्यशैली र असक्षमताका कारण प्रतिष्ठानको शैक्षिक क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको छ । एक वर्षयता प्रतिष्ठानका शैक्षिक गतिविधिहरू चल्न सकेका छैनन् । कोरोना महामारीको बहाना बनाए पनि त्यसको दुईगुणा जिम्मेवार उपकुलपति गिरी नै रहेको प्रतिष्ठानका चिकित्सकहरूले बताए । प्रतिष्ठानमा उपकुलपति भएर आएको करिब १५ महिना भइसक्दा उनले एक पटक पनि शैक्षिक विषयमा शिक्षाध्यक्ष, डीन तथा फ्याकल्टीहरूसँग सोधखोज, छलफल गरेका छैनन् ।
पछिल्लो एक वर्षयता फिजिकल क्लासहरू बन्द छन् । प्रतिष्ठानको शैक्षिक गतिविधिहरू शून्य जस्तै छ । अनलाइन क्लासहरू समेत नियमित छैनन् । इन्टरनेट समस्याकै कारण पढाइमा असर परेको छ । एक चिकित्सकले भने, ‘काले काले मिलेर खाउँ भाले’ भनेजस्तो प्रतिष्ठानका ढुङ्गा, माटो र इँट्टासमेत बेचेर खानेहरू तलदेखि माथिसम्म सक्रिय छन् ।’
प्रतिष्ठानको प्राज्ञिक बैठक चार वर्षदेखि बस्न नसक्दा शैक्षिक करिकुलम तयार गर्ने वर्षभरिका शैक्षिक कार्यतालिका बन्न सकेका छैनन् । प्राज्ञिक समितिको बैठक बस्न नसक्नुमा समितिका संयोजक उपकुलपति बढी जिम्मेवार रहेका छन् । ‘प्राज्ञिक समितिको बैठक राख्ने, शैक्षिक गतिविधि कसरी गुणस्तरीय बनाउने प्रमुख जिम्मेवारी उपकुलपतिको हो तर, उपकुलपति त खरिद अधिकारी जस्तै भएका छन् । उनलाई शैक्षिकस्तर सुधार्नमा चासो दिनु भन्दा कुन मेडिकल उपकरण खरिद गर्दा कति कमिसन आउँछ, त्यता तिर ध्यान दिएकाले प्रतिष्ठानको हविगत दिनदिनै खस्किएको स्रोतले बतायो ।
कोभिड–१९ अस्पताल निर्माण सञ्चालन, कोभिड स्वास्थ्य सामग्री खरिद, कालोसूचीमा रहेका व्यापारीसँगको साँठगाँठ, कर्मचारी तथा सल्लाहकार भर्ती प्रकरण, अवैध भुक्तानी, अक्सिजन प्लाण्ट काण्डमा प्रत्यक्ष रूपमा उपकुलपति जोडिएका छन् । उपकुलपतिको विधि र प्रक्रिया विपरीतको कार्यलाई अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साह, कर्मचारी उमेश कोइराला, सागर ताम्राकार, इञ्जिनियर राहुल मिश्र समेतले साथ दिइरहेका छन् ।
प्रतिष्ठानभित्र हुने बेथिति, भ्रष्टाचार विरुद्ध नागरिक दबाव सञ्जालले आन्दोलन सुरु गरेपछि चिकित्सक, नर्स र कर्मचारीहरूले पनि गिरीले अपनाएको प्राध्यापक पदमाथि नै शङ्का व्यक्त गर्न थालेका छन् । गिरीलाई सम्बोधन नै गरेर ब्यानर, प्ले–कार्ड बोकेर ‘प्राध्यापक’ पद कसरी प्राप्त भएको हो, त्यो खुलाउन उनीहरूले चुनौती दिएका छन् । सामान्यतया एमबिबिएस पास गरेपछि डाक्टर लेख्न पाउने प्रावधान रहे पनि प्राध्यापक लेख्नका लागि निश्चित नियम, क्राइटएरिया र विधि विधान हुन्छ ।
चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष विष्णु पोखरेलले भने, ‘प्राध्यापक हुनका लागि विश्व विद्यालयमा पढाउनु पर्छ । त्यतिले मात्र नभएर वैज्ञानिक खोज अनुसन्धान शोधपत्र लेखेर मान्यता प्राप्त जर्नलमा प्रकाशित भएको हुनुपर्छ । तर, बीपी प्रतिष्ठान जस्तो बिरामी उपचार सेवा हुने, चिकित्सा शास्त्रको उच्च तहसम्म अध्ययन–अध्यापन हुने र वैज्ञानिक अनुसन्धान गरिने प्राज्ञिक स्थलमा उपकुलपतिले पाएको प्राध्यापक पदमाथि धेरैले शङ्का गरेकाले हामीले प्रतिष्ठानको प्रतिष्ठा जोगाउन प्रमाण देखाउन अनुरोध गरेका हौं ।’
प्रतिष्ठानमा बढ्दो भ्रष्टाचार रोक्नका लागि गठित नागरिक दबाव सञ्जालका संयोजक प्रा।डा। राजेन्द्र शर्माले, ‘केन्द्रीय नीति र प्रतिष्ठानभित्रकै बेथितिका कारण अवस्था दिनदिनै नाजुक हुँदै गएको छ । राजनीतिक दलका नेताहरूलाई ब्रिफकेसमा पैसा बुझाएर उपकुलपति पद हत्याउने चलनको अन्त्य नभएसम्म प्रतिष्ठान सुध्रन गाह्रो छ । अर्कोकुरा, प्रतिष्ठानको विभागले कुनै मेडिकल उपकरण माग गर्छ । अस्पताल निर्देशककोमा मागपत्र जान्छ ।
त्यसपछि अस्पताल निर्देशकले उपकुलपतिको तजबिज अनुसार खरिद शाखालाई भन्छ । गुणस्तर हेर्ने शाखा र स्पेशिफिकेसन तयार गर्ने शाखाहरूले टेण्डर प्रक्रिया अपनाउँछन् । यसै घेराभित्र कमिसनको जालो बनेको छ । पहिले त्यसलार्ई भत्काउन सकेमा प्रतिष्ठानमा हुने बेथिति र भ्रष्टाचार ८० प्रतिशत रोक्न सकिन्छ । यो काम नागरिक दबाव सञ्जालले गर्न सक्छ । अब हामी चुप लागेर बस्नेवाला छैनौं, अगाडि बढिसक्यौं ।’