धरान । केहीवर्ष अघिसम्म बोटबाट हरियो अवस्थामै टिपिएका काँचो आँप पकाएर पहेँलो बनाउन व्यापारी र आँप बगैंचाका धनीहरूले क्याल्सियम कार्वाइटको धुलो प्रयोग गर्थे । क्याल्सियम कार्वाइट मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ भनेर त विभिन्न वैज्ञानिक खोज अनुसन्धानबाट पहिल्यै पत्ता लागिसकेको भए पनि व्यापारी र आँप बगैंचाका धनीहरूले त्यसलाई बेवास्ता गर्दै आएका थिए ।

तर, पछिल्लो समयमा क्याल्सियम कार्वाइटको विकल्पमा इथेलेन ग्यास प्रयोग गर्न थालेका छन् । इथेलेन ग्यास आफैमा प्राकृतिक ग्यास र फलफूल तरकारी पकाउनका लागि प्राकृतिक रूपमै उत्पादित अनि तिनै फलफूल तरकारीले नै उत्पादन गर्ने गरेकाले मानवीय स्वास्थ्यका लागि हितकर ठानिएको छ ।

धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘तीन–चार वर्ष अघिसम्म आँप कृषक र व्यापारीहरूले पाक्नै नपाकी हरियो अवस्थामै टिपेर अखाद्य रासायनिक तत्व क्याल्सियम कार्वाइट र इथेफोन प्रयोग गरेर चाँडै पकाउने गरेका थिए  । यस्ता अखाद्य रासायनिक तत्वले मानवीय स्वास्थ्यमा असर पर्ने गरेको विभिन्न वैज्ञानिक शोध अनुसन्धानमा उल्लेख भएकाले कृषि बजारले त्यस्ता आँप पहिचान गरेर बिक्री वितरणमा रोक लगाएको थियो । पछिल्लो समयमा व्यापारी र बगैंचाधनीहरूले क्याल्सियम कार्वाइट र इथेफोनको विकल्पमा इथेलेन ग्यास वा त्यसलाई ठोसरूपमा परिवर्तन गरिएको प्याकेट प्रयोग गरेर पकाउन थालेको सुन्नमा आएको छ ।’

उनले पनि इथेलेन ग्यासको बारेमा खोजी गरेको बताए । मानव स्वास्थ्यका लागि लाभकारी हुने नहुने बारे जानकारी लिएको बताए । हानिकारक क्याल्सियम कार्वाइटलाई विश्वमा प्रतिबन्ध गरिएको तर, इथेलेन ग्यासलाई कतै पनि प्रतिबन्ध नगरिएको तथ्य फेला परेको पनि उनले बताए ।

यसैबीच यो वर्ष पूर्वमा गतवर्षको तुलनामा आँपको उत्पादन दोब्बर कम भएसँगै मूल्यमा दोब्बर वृद्धि भएको छ । हावाहुरी, असिना पानीले गर्दा यो वर्ष कम आँप उत्पादन भएको हो । उनका अनुसार गत वर्ष यो सिजनमा प्रतिकिलो आँपको थोक मूल्य ३५ रुपैयाँदेखि ४५ रुपैयाँसम्म थियो । तर, असार पहिलो सातामै कृषिबजारको थोकमूल्यमा आँपको मूल्य प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म पुगेको छ ।

उत्पादन नै कम भएकाले असार दोस्रोदेखि तेस्रो साता सम्ममात्र थेग्ने धरान–१३ स्थित कृषिउपज बजारका आँप व्यापारी टीकाराम श्रेष्ठले बताए । उनले भने, ‘सामान्यतया जेठको दोस्रो सातादेखि आँपको सिजन सुरु भएर साउनसम्म बिक्री हुने गरेको छ । तर, यो वर्ष उत्पादन कम भएकाले असार दोस्रो–तेस्रो सातासम्ममा सकिने सङ्केत देखिएको छ ।’

कृषिबजारमा सबैभन्दा बढी सप्तरी, सिरहा र सर्लाहीकै आँप कृषकका बगैंचामा उत्पादित आँप व्यापारीहरूले ल्याउने गरेका छन् ।  कृषिबजारका व्यवस्थापक भट्टराईका अनुसार यो वर्ष असार पहिलो सातासम्ममा करिब १ हजार ८ सय मेट्रिक टन अर्थात् १० करोड ५० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

उनले यो वर्ष करिब ३० करोड रुपैयाँको आँपको कारोबार हुने बताए । गत आर्थिक वर्ष ०७६/७७ मा २० करोड रुपैयाँ बराबरको ३ हजार ५ सय ४० मेट्रिक टन आँपको कारोबार भएको थियो ।