विजयपुर / कोरोना महामारीको बेला निषेधाज्ञाको समयमा धरानस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैङ्कको निर्देशन विपरीत ग्राहकबाट ऋण (किस्ता) तथा ब्याज भुक्तानी गर्दै आएको पाइएको छ ।
धरान–२ भानुचोकमा शाखा कार्यालय रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई निषेधाज्ञाको समयमा पनि किस्ता तथा ब्याज असुली गर्दै आएको पाइएको हो । उक्त कम्पनीले आफ्ना ग्राहकलाई ब्याजमा छुट दिने भन्दै म्यासेज पठाउने गरेको छ । म्यासेजमा ब्याजमा छुट दिने भनेर पठाउने तर, व्यवहार चर्को ब्याज लिने गरेको ऋणीहरूले बताएका छन् । कम्पनीको ३६ नं. केन्द्रका सदस्य तथा
ऋणीहरूलाई म्यासेज मात्रै नपठाएर सोमबार स्थलगत रूपमै गएर ब्याज भुक्तानी गर्न दबाव दिएको हो । ३६ नं. केन्द्रका सदस्यहरूले निषेधाज्ञाका समयमा राहत माग्न जानुपर्ने अवस्था भएको बेला संस्थाले बारम्बार ताकेता गर्दा समस्या भएको बताएका छन् ।
केन्द्रकी एक सदस्यले नाम नखुलाउने शर्तमा भनिन्, ‘लघुवित्त कम्पनीले ब्याजलाई सावाँमा रूपान्तरण गरी हामीलाई मारमा पारेको छ । सरकारले निषेधाज्ञाको समयको ब्याज छुट गर्न र ऋणीलाई ताकेता नगर्न निर्देशन दिएको भए पनि स्वावलम्बनले बारम्बार ताकेता गर्दै आएको छ ।’

सोही केन्द्रकी अर्की सदस्यले ‘कोरोना महमारीको बेला व्यापार–व्यवसाय नभएको र आयआर्जन पनि नभएकाले निषेधाज्ञाको बेला तत्काललाई तिर्न सक्दैनौं, स्थिति सहज भएपछि तिर्छौं’ भन्दा पनि कम्पनीले धर नदिएको बताइन् । उनले पनि कम्पनीले सावाँलाई ब्याजमा रूपान्तरण गरेर आफूलाई ऋणमाथि ऋणमा डुबाएको बताइन् । उनले भनिन्, ‘सहज परिस्थिति हुँदा निरन्तर भुक्तानी गर्दै आए पनि कोरोना महामारी र निषेधाज्ञाको बेला सहुलियत दिनुपर्नेमा उल्टो कम्पनीले मारमा पारेर उठिबास लगाउन लाग्यो ।’ धरान–३ घर भएकी अर्की सदस्यले आफूले ऋण लिएर सामान्य व्यवसाय सञ्चालन गरेको तर, कम्पनीले हाल निल्नु न ओकल्नु पारेको बताइन् ।
उनले निषेधाज्ञा भएपछि पसल खोल्ननपाउँदा किस्ता तिर्न समस्या भएको उनले बताइन् । उनले भनिन्, ‘पसल खोल्दा किस्ता तिर्न सहज थियो । अहिले किस्ता तिर्न गाह्रो भएको छ । कम्पनीले भने बारम्बार म्यासेज पठाउँछ । फोन गर्छ । कहिलेकाहीँ काममा व्यस्त भएर फोन उठाउन नपाउँदा किन फोन नउठाएको भन्दै थर्काउँछन् ।’
उनका अनुसार मङ्गलबार त घरैमा आएर कम्पनीको सावाँ र ब्याज किन नतिरेको भनेर थर्काए । उनले आफूले सकेसम्म अफिसमा नै आएर तिर्छु भनेर पैसा उठाउन आउने कम्पनीका प्रतिनिधिलाई फर्काएको बताइन् । उनले भनिन्, ‘अन्य साथीहरूको ब्याजलाई सावाँमा परिणत गरिदियो रे ।’ अहिले समस्या छ भन्दा पनि धर नदिएको उनका साथीहरूको भनाइ छ ।
उनीहरूको भनाइअनुसार सावाँलाई ब्याज र किस्ता गरेर कसैको १ लाख रुपैयाँ, कसैको १ लाख १० हजार रुपैयाँ, कसैको ५० हजार रुपैयाँ, कसैको ६० हजार रुपैयाँ बनाई नेपाली कागजमा हस्ताक्षर गराएको छ । ती ४ जनाले कम्पनीले आफूहरूको ब्याजलाई सावाँमा परिणत गरिदिएको बताएका छन् । उनीहरूले कम्पनीले आफूहरूबाट २२ प्रतिशत ब्याज लिँदै आएको बताए । अहिले यो महिनाको मसान्तसम्म भुक्तानी गरे १५ प्रतिशत छुट दिने भनेको पनि बताए ।
कम्पनीको कर्मचारी कल्याणी चौधरी र शाखा प्रमुख सन्तबहादुर सुयलले म्यासेज र फोन गर्दा नभएपछि ब्याज तथा किस्ता उठाउन फिल्डमा पुगेको बताए ।कम्पनीका कर्मचारी चौधरीलाई निषेधाज्ञामा ऋणीलाई भुक्तानीका लागि ताकेता गर्न मिल्छ ? भन्ने जिज्ञासा राख्दा उनले भनिन्, ‘ अफिसले आफूलाई निर्देश गरेअनुरूप ताकेता गरेको हो ।’ शाखा प्रमुख सुयलले भने आफूले किस्ता भुक्तानीमा ताकेता नगरी नियमित भुक्तानीका लागि स्थलगत रूपमा गएको दाबी गरे ।
उनले ब्याजलाई सावाँमा परिणत गरेको भन्ने कुरा हुनै नसक्ने बताए । अहिले यो महिनासम्म भुक्तानी गरे कुल ब्याजको १५ प्रतिशत ऋणीलाई छुट दिने बताए ।उनले ब्याजको विषयमा ग्राहकलेन बुझेको हुनसक्ने बताए । उनले भने, ‘२२ प्रतिशत ब्याज निकै पहिले लिने गरे पनि हाल राष्ट्र बैङ्कले तोकेभन्दा माथि लिने गरेको छैन ।’ तर, कम्पनीले ग्राहकबाट किस्ता तथा ब्याज उठाउँदै गरेको देख्दै आएका प्रत्यक्षदर्शी प्रेमप्रसाद पराजुलीले कम्पनीले ऋणीलाई ¥याख¥याख पारेको बताए । उनले सरकारको नियम विपरीत वित्तीय संस्थाहरूले सङ्कटको अवस्थामा पनि ¥याख¥याख पारेको देख्दा आश्चर्यचकित भएको बताए ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै निषेधाज्ञाभरिको समयमा ग्राहक तथा ऋणीहरूसँग कुनै पनि प्रकारको जरिबाना तथा शुल्क नलिन निर्देशन गरेको छ । बैङ्कको त्रैमासिक समीक्षाको बुँदा नम्बर ७३ मा ‘कोभिड–१९ सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैङ्क तथा वित्तीय संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाइने छ’ भनेको छ ।
तर, स्वावलम्बनले राष्ट्र बैङ्कले जारी गरेको निर्देशन मानेको पाइएको छैन । राष्ट्र बैङ्क १ नं. प्रदेशका निर्देशक सत्यन्द्र तिमिल्सिनाले राष्ट्र बैङ्कको निर्देशन विपरीत कुनै पनि क्रियाकलाप गरेको भए कारबाही हुने बताए । उनले भने, ‘राष्ट्र बैङ्कले गुनासोका विषयमा अनलाइन रिपोर्टिङ गर्ने व्यवस्था गरेको छ, वेबसाइटमा गई रिपोर्टिङ गरेपछि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढ्छ ।’ बैङ्कले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञाको अवधि र सो अवधि समाप्त भएको एक महिनासम्म कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी नगर्न पनि निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले गुनासो आएमा आवश्यक अनुसन्धान प्रक्रिया बढाउने बताए ।