धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा माइक्रोबायोलोजी विभागको प्रयोगशालामा भएका ल्याव मेसिनबाहेक अन्य विभागका ल्याव मेसिनहरू पुरानो भएकाले सेवाग्राहीले रिपोर्ट पाउन लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
मुलुककै सबैभन्दा व्यस्त र अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी प्रतिष्ठानले बायोकेमेष्ट्रीको ल्याव रिपोर्ट निकाल्न १२ देखि २४ घण्टा लगाउन थालेको छ । प्रतिष्ठानका पदाधिकारीले भने सेवाग्राहीलाई रेडियोलोजी अन्तर्गतका एक्स–रे रिपोर्ट आधा घण्टाभित्र र बायोकेमेष्ट्री रिपोर्ट कम्तिमा २ घण्टाभित्र दिने गरेको दाबी गर्दै आएको छ ।
प्रतिष्ठानले सामान्यतया बिहान ८ बजेदेखि १२ बजेसम्मका ल्याव टेष्टहरू अपरान्ह २ बजेदेखि ५ बजेसम्ममा दिने भनेको छ । तर, व्यवहारमा भने ठीक विपरीत देखिएको छ ।
धरान बाहिरबाट आएका सेवाग्राही बिरामी बिहान ६ बजेदेखि सामाजिक स्वास्थ्य बिमा र ओपिडी पुर्जी काट्ने काउण्टरमा लाइन लागेर ८ बजेदेखि पुर्जी पाएपछि विभिन्न ओपिडीमा पुग्ने गरेका छन् । कोरोना महामारीका बीच पनि प्रतिष्ठानले सेवाग्राही बिरामीका लागि ओपिडी खुल्ला गरेको छ ।
बिरामीहरूले ओपिडीमा चिकित्सकसँग परामर्श गरेपछि रोगको प्रकार अनुसार रगत, पिसाबका नमुना दिन र एक्स–रे गर्न बिल काउण्टरमा बिल काटेर नमुना सङ्कलन केन्द्रमा पुग्ने गरेका छन् ।
बिहान ८ बजेदेखि नमुना सङ्कलन भएपछि त्यसको रिपोर्ट प्रतिष्ठानले भनेजस्तो कम्तिमा दुई घण्टामा उपलब्ध गराउनु पर्नेमा भोलिपल्ट आउनू भनेर पठाउने गरेपछि धरानबाहिरबाट आएका बिरामीले होटलमा बस्नुपर्दा अतिरिक्त खर्च व्यहोर्नु परेको झापा गौरादहबाट आएका शमसेर कार्कीले बताए ।
उनले भने, ‘डाक्टरले बायोकेमेष्ट्री अन्तर्गतको ल्याव टेष्टको रिपोर्ट लिएर आउनू भन्यो । रगत र पिसाबको नमुना बिहान ९ बजे दिएको थिएँ । त्यही दिन रिपोर्ट आएका भए सोही दिन जसले हेरेका थिए, तिनै डाक्टरलाई देखाउन पाउथेँ तर, रिपोर्ट भोलिपल्टमात्र दियो । अघिल्लो दिन ओपिडीमा बसेका डाक्टरको पालो भोलिपल्ट नभएपछि अरू तीन दिन व्यर्थमा पर्खिनु पर्दा होटलमा बसेको र खाएबापत अतिरिक्त ३ हजार रुपैयाँ खर्च भयो ।’ प्रतिष्ठानले बायोकेमेष्ट्री ल्यावको रिपोर्ट दिनमात्र ढिलाइ नगरेर अन्य विभागका रिपोर्ट दिन पनि ढिलाइ गर्दै आएको छ ।
पदाधिकारीका रूपमा आउने बित्तिकै प्रत्येकले प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, सेवाग्राहीलाई कम्तिमा २ घण्टाभित्र रिपोर्ट उपलब्ध गराउने, बिरामीको चाप व्यवस्थापनका लागि अनलाइन प्रविधिबाट रिपोर्ट दिने भन्दै झुक्याउँदै आएका छन् । सामान्यतया एक्स–रे गरेपछि त्यसको रिपोर्ट तत्काल आउँछ ।
अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, सिटीस्क्यान, एमआरआईका रिपोर्ट पनि तत्कालै स्थलगत रूपमै चिकित्सक वा प्राविधिकले कम्प्युटरमा लेखिदिएर त्यसको प्रिण्ट निकालेर दिने गरिन्छ ।
तर, प्रतिष्ठानमा रेडियोलोजी विभाग अन्तर्गतका रिपोर्ट पाउन सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्था छ । रेडियोलोजी विभागका बिएमआईटी तथा टेक्निकल इञ्चार्ज मुकेश झाले पुरानो मेसिन भएकाले समयमै रिपोर्ट दिन नसकिएको बताए ।
उनले भने, ‘२० वर्ष पुराना एक्स–रे मेसिन छन् । ती पनि घरिघरि बिग्रन्छन् । एक्स–रे गर्नुपर्ने बिरामीको चाप भने दैनिक २ सयदेखि ३ सय हुन्छ । दक्ष जनशक्ति भएर मात्र हुँदैन । मेसिन पनि आधुनिक भए हामी सेवाग्राहीलाई तत्काल रिपोर्ट दिन सक्छौं ।’
त्यसका लागि रेडियोलोजी विभागले व्यवस्थापन पक्षलाई डप्लर अल्ट्रासाउण्ड जाँच गर्नेसहित चारवटा आधुनिक डिजिटल एक्स–रे मेसिन माग गरेको झाले बताए । उनका अुनसार ती मेसिनका लागि प्रतिष्ठानले टेण्डर गरिसकेको छ ।
उता बायोकेमेष्ट्री विभागका प्रमुख प्रा.डा.निर्मल बरालले पनि एकै पटक धेरैभन्दा धेरै रिपोर्ट निकाल्ने मेसिनको माग गरेको बताए । उनले भने, ‘अहिलेको मेसिन ९ वर्ष पुरानो हो । नयाँ मेसिन खरिद गर्न भनेर यसअघि तीनपटक त टेण्डर नै आह्वान भएको थियो तर, के कारणले हो रद्द भयो । त्यसको असर प्रतिष्ठानको आयमा मात्र परेको छैन, बिरामीले पनि सास्ती व्यहोर्नुपरेको छ । तर, नयाँ मेसिन माग गर्न छाडेका छैनौं ।’ उनले ल्याव रिपोर्ट दिने मेसिन भनेको प्रतिष्ठानको आयस्रोत सङ्कलन गर्ने प्रमुख माध्यम भएको बताए ।
माइक्रोबायोलोजी विभागका मेसिनहरू भने आधुनिक र नयाँ भएकाले रिपोर्टको गुणस्तरीयता र रिपोर्ट दिनमा समस्या नभएको विभागीय प्रमुख एडिसनल प्रोफेसर डा.नारायण भट्टराईले बताए । उनले भने, ‘माइक्रो बायोलोजी विभागका ल्यावले पछिल्लो समयमा पीसीआर टेष्टमा केन्द्रित गरेको छ । कसरी सेवाग्राहीलाई छिटो रिपोर्ट दिने भन्नेमा हामी लागेका छौं ।
तर, थोरै ‘स्याम्पल’ सङ्कलन भएको बेला मेसिनले मागे जति लोड गर्न थप स्याम्पल पर्खनु पर्दा कहिलेकाहीँ ढिलाइ हुने गरेको छ ।’