विराटनगर । विराटनगर महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगर उपप्रमुख इन्दिरा कार्कीले आठौं नगरसभामा बिहीबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ ८३ करोड ९ लाख २५ हजार ३ सय २५, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ सङ्घीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख र प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार प्राप्त हुने बताइन् ।
यस्तै राजस्व बाँडफाँडतर्फ १ अर्ब १ करोड ४७ लाख ८३ हजार, अन्य अनुदान ऋण ७० करोड ५५ लाख ८ हजार ५ सय, अन्य सङ्घ–संस्थाबाट १ करोड ४४ लाख ५५ हजार तथा जनसहभागिताबाट १० करोड प्राप्त हुने उपप्रमुख कार्कीले सार्वजनिक गरिन् ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ अर्थात् ११ प्रतिशत र पुँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ रुपैयाँ अर्थात् ८९ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड खर्च हुने अनुमान गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ३४ हजार ४८ रुपैयाँ, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख १ हजार २७ रुपैयाँ, सुशासन तथा आन्तरसम्बन्धित (वन वातावरण तथा विपद् व्यवस्थापनसमेत) गरी ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।
आगमी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडास्तरीय आयोजना २६ करोड ६८ लाख ५ हजार १ सय ७५ रुपैयाँ, नगरस्तरीय गौरवका आयोजनाको मुख्य प्रशासनिक भवनमा १७ करोड ३८ लाख र वीरेन्द्र सभागृहमा १९ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै ल्याण्डफिल्ड साइट जग्गा खरिदमा १० करोड, अन्तर्राष्ट्रिय सभाहलको लागि जग्गा खरिदमा ५ करोड, विराट राजाको दरबार निर्माणमा ५ करोड, हिमालय रोडलाई जिरो पार्किङ जोनसहित रात्रीकालीन मनोरञ्जनस्थलको रूपमा विकास गर्नको लागि २ करोड, महानगर आवास योजनामा ९० लाख, फोहोरपानी प्रशोधन केन्द्रमा २ करोड, ४ वटा फ्लाइओभर गेटका लागि २ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै विराटनगर–२ र ७ मा बन्ने प्रधानमन्त्री पार्क निर्माणको लागि ५ करोड, विराटनगर–२ हनुमान मन्दिरपूर्व सिङ्घीया खोलाको किनारमा सन्ध्याकालीन आरती निर्माणको लागि २ करोड, अन्य नगरस्तरीय योजनामा ४० करोड, समपूरक कोषमा २० करोड बजेट विनियोजन गरिएको छ । यसैगरी क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख ४७ हजार, शिक्षातर्फ ५५ करोड ७७ लाख ४९ हजार, युवा तथा खेलकुद क्षेत्रमा १ करोड ६१ लाख, स्वास्थ्य क्षेत्रमा १८ करोड १ लाख २८ हजार र विपद् व्यवस्थापन तथा महामारी नियन्त्रणमा ३ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरले कोरोना भाइरसको महामारी र निषेधाज्ञाको प्रभावका कारण चालु आर्थिक वर्षभन्दा १३ करोड ३२ लाख ५ सय ७९ रुपैयाँ कम बजेट ल्याएको छ । चालु आ.व.का लागि गत वर्ष ४ अर्ब २३ करोड ३ लाख ७० हजार ५ सय ७९ रुपैयाँको बजेट ल्याएको थियो ।