• लोकराज निरौला

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको कारण कुनै विशेष एक–दुई देश होइन विश्वकै आर्थिक, सामाजिक, राजनीतिक, स्वास्थ्य, शिक्षा र समस्त मानवको जीवनयापनमा नै विगत २ वर्षदेखि प्रभावित भइरहेको छ । 

विश्वको शिक्षा क्षेत्रमा पनि विगत दुई वटा शैक्षिक सत्रलाई नराम्रो ढङ्गले प्रभावित गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमण र मृत्युदरमा न्यूनीकरण हुँदै गएमा विद्यालय र विश्व विद्यालयको शैक्षिक सत्रलाई समायोजन गर्दै पूर्ववत् अवस्थामा फर्काउन केन्द्र, प्रदेश र स्थानीय सरकारहरूको प्रयत्न पनि जारी नै रहेको छ । यतिबेला विद्यालय भर्ना र पाठ्यपुस्तक वितरण गरेर पठन–पाठन सुरु भइसक्नु पर्ने अवस्थामा कोरोना महामारीकै कारण भर्खर विद्यालयको वार्षिक नतिजा प्रकाशन, विद्यालय भर्ना र पाठ्यपुस्तक वितरणको कार्य गरिरहेका छन् ।

कोरोना सङ्क्रमण न्यूनीकरण भएमा विद्यालयहरूमा प्रत्यक्ष शिक्षण सिकाइ हुनेछ । यसो हुन सकेन भने सरकारले तोकेका अन्य वैकल्पिक शिक्षण सिकाइको माध्यम अवलम्बन गरेर पनि विद्यालय र विश्व विद्यालयमा अध्ययनरत बाल–बालिका र विद्यार्थीहरूको शैक्षिक सत्रलाई खेर जान नदिन सरकारले प्रयत्न गरेको पाइन्छ । वैकल्पिक शिक्षण सिकाइका पद्दति र विधिमध्ये निजी विद्यायलहरूले अनलाइन विधिलाई नै बढी प्राथमिकता दिएको पाइन्छ तर, सरकारी सामुदायिक विद्यालय र साना कक्षाहरूमा अनलाइन कक्षा उपयोगी र प्रभावकारी हुन सकेको छैन ।

सरकारी सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीहरूको पहुँचमा अनलाइन प्रविधि छैन । त्यसैले साना कक्षाका बालबालिकाहरू र सरकारी सामुदायिक विद्यालयहरूले अनलाइन कक्षा बाहेक अन्य वैकल्पिक शिक्षण सिकाइका पद्दतिहरूलाई पनि उत्तिकै अवलम्बन गर्नु पर्ने अवस्था देखिन्छ । 

कोभिड १९ का कारण विद्यालय र विश्वविद्यालयको शैक्षिक सत्रलाई मात्र प्रभावित पारेको छैन । निजी विद्यालय र सरकारी विद्यालयमा पढ्ने पढाउने कुरामा पनि ठूलै उथल–पुथल ल्याइदिएको छ ।

कोरोना सङ्क्रमणका कारण मुलुक पटक–पटक आंशिक र पूरै बन्दाबन्दी हुँदा अभिभावकहरूको रोजगारी र आयआर्जनलाई नराम्ररी प्रभावित पारिरहेको हुँदा हिजो आÏना छोरा–छोरीलाई निजी विद्यालयहरूमा पढाइरहेका मध्यम् र निम्नवर्गका अभिभावकहरूले सहरबाट गाउँतिरै फर्किनु परेको अवस्था दैनिक रोजगारी र आयआर्जन घटेको कारण निजी विद्यालयको शुल्क तिर्न नसकेर गत शैक्षिक सत्रमै धेरै अभिभावकहरूले आÏना छोरा–छोरीहरूलाई निजी विद्यालयबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्दा शैक्षिक सत्र २०७७ मा सरकारी सामुदायिक विद्यालयहरूमा २५ प्रतिशत विद्यार्थी सङ्ख्या वृद्धि हुन पुगेको थियो र शैक्षिक सत्र २०७८ मा पनि यो क्रम जारी नै रहेको छ ।

यसबाट के कुरा पुष्टि हुन्छ भने अब सरकारी सामुदायिक विद्यालयहरूले पनि अभिभावकहरूको विश्वास जित्ने सरकारी सामुदायिक विद्यालयहरूप्रति लाग्दै आएका आरोप र फिँजाइएका भ्रमहरूको चिरफार गर्ने र विद्यार्थीहरूको अधिकतम् सिकाइ उपलब्धि हासिल गर्न प्रयत्न गर्नुपर्ने गतिविधि र जिम्मेवारी थपिएको छ । 

निजी विद्यालयमा पढाउनु वा सरकारी विद्यालय पढाउनु व्यक्तिको इच्छाको कुरा भए पनि सरकारी ढिकुटीबाट तलब–भत्ता सेवा सुविधा लिएर निजी विद्यालयमा आÏना छोराछोरी पढाउने शिक्षक, कर्मचारी, सेना, प्रहरीलाई कडाइका साथ अङ्कुश लगाउन नसक्दा सरकारी सामुदायिक विद्यालयप्रति अभिभावकहरूको विश्वसनीयता घट्नुको एक कारण रहेको छ ।

गत शैक्षिक सत्रदेखि सरकारी विद्यालयहरूमा आÏना छोराछोरी भर्ना गर्ने क्रम बढेको भए तापनि धेरै निम्न र मध्यम्वर्गका अभिभावकहरू अहिले आÏना छोराछोरी कुन विद्यालयमा भर्ना गर्ने भन्ने कुरामा अलमल र भ्रममा परेको पाइन्छ । निजी विद्यालयहरूले प्रत्यक्ष पठन–पाठन नभएको दिन वा महिनाको शुल्क नलिए उनीहरु आÏना छोराछोरी निजि विद्यालयमै राख्ने भर्ना शुल्क र मासिक शुल्क लिएमा सरकारी विद्यालयमा भर्ना गर्ने मनस्थितिमा रहेको पाइन्छ । महँगो शुल्क तिरेपछि पढाइ राम्रो हुने, समाजमा इज्जत हुने भन्ने धेरै अभिभावकहरूमा भ्रम छ ।

छोराछोरीलाई निजी विद्यालय र सरकारी विद्यालय पढाउने कुरामा विवाद हँुदा कतिपय बाबुआमाको बोलचाल नै बन्द भएको अवस्था पनि छ । अब अभिभावकहरूले एउटा निष्कर्षमा पुग्ने बेला आएको छ । 

सक्नेले निजी विद्यालयमा नै पढाऔं, नसक्नेले बल गरी गरी निजी विद्यालय नताकौं, समयमै आÏना छोरीछोरीहरूलाई कुनै निजी वा सरकारी विद्यालयमा भर्ना गरौं । हिजो निजी विद्यालयहरू नहुँदा सबैले सरकारी सामुदायिक विद्यालय नै पढेर आएका हौं ।

अब सरकारी सामुदायिक विद्यालय सुधार्ने दायित्व पनि हामी अभिभावकहरूकै हो । त्यसका लागि सर्वप्रथम हाम्रा छोराछोरीहरू सरकारी सामुदायिक विद्यालयमा पढाउनु पर्छ । हामीले विद्यालयको गतिविधिमा चासो र सुझाव दिनुपर्छ । विद्यालयले आयोजना गरेको कार्यक्रमहरूमा सहभागी हुनुपर्छ । विद्यालयलाई आवश्यक परेको बेला आर्थिक, भौतिक, बौद्धिक सहयोग गर्नु पर्छ ।

अनि मात्र सरकारी सामुदायिक विद्यालयहरू राम्रो बन्छन् । आज निजी विद्यालयमा पढाउने सबै शिक्षकहरू हिजो सरकारी सामुदायिक विद्यालयमै पढेर आएका हुन् । हामीले हिजोको विरासत बिर्सनु हुँदैन । कसैले कसैलाई धारे हात लगाएर सराप्दैमा कोही राम्रो हुँदैन ।