धरान । चौध दिनदेखि आन्दोलरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयुक्त संघर्ष समितिसँग वार्तामा बस्ने तयारीपूर्व उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मादक पदार्थ सेवन गरेको पाइएपछि समितिलगायत आन्दोलनरत पक्षले मापासे जाँच अगाडि बढाउन दबाव दिएका छन् । 

समितिमा आवद्ध चिकित्सक, विद्यार्थी, नर्स, र कर्मचारीहरूले डा. गिरीको मापासे जाँच गर्न प्रहरी पक्षले साथ नदिएको भन्दै प्रहरीप्रति नै गम्भीर प्रश्न उठाएका छन् । डा. गिरीसहितको पदाधिकारीसँग वार्तामा बस्न खोज्दा रक्सीको गन्ध ह्वास्सै आएको र बोलीसमेत लरबरिएको पाइएपछि वार्तामा बस्नुको औचित्य पुष्टि नभएको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए । 

उनका अनुसार प्रहरीलाई मापासेमा जाँच गर्नका लागि वातावरण बनाइदिनका लागि आग्रह गर्दा प्रहरीले आनाकानी गरेको छ । समितिका पदाधिकारी तथा आन्दोलनरत पक्षले प्रहरीको कार्यशैलीलाई लिएर ‘प्रहरी प्रशासन मुर्दावाद’ सम्मका नारा लगाएका थिए । ‘पदाधिकारीबाहेक अन्य कोही भइदिएको भए, तत्काल पक्राउ गरी मापासे जाँच गरेर हिरासतमा लिन्थे’ आन्दोलनरत पक्षका एकजनाले भने, ‘उपकुलपति भएकाले छाडा छाडिएको छ ।’ उपकुलपति गिरीले मापासे गरेको विषयलाई लिएर पदीय मर्यादाविपरीत भएको बताएका छन् । 

सामान्यतः मापासे जाँच तत्काल नगरेको अवस्थामा रिपोर्ट तलमाथि हुने भएकाले पनि आन्दोलनरत पक्षले तत्काल जाँच गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका थिए । उनीहरूले नैतिकताका आधारमा पनि उपकुलपतिले राजीनामा दिनुपर्ने बताए । आन्दोलित पक्षले राजीनामाको मागलाई जोडदार रूपमा उठाएका थिए । प्रहरी र आन्दोलनरत पक्षबीचमा झडपको स्थिति सिर्जना भएको थियो । उपकुलपति डा. गिरीको मापासे जाँच गर्न पहल नगरेको भन्दै उपकुलपति कार्यालयको अगाडिपट्टिको गेटबाट आन्दोलरत पक्ष प्रवेश गर्न खोजेका थिए । त्यससमयमा प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा केहीबेर तनावग्रस्त बनेको थियो । 

स्थिति बाहिर जान सक्ने भन्दै प्रहरी फोर्स बढाएको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका थप प्रहरी परिचालित गरिएको छ । आन्दोलनरत पक्ष र घटनाको विषयवस्तु बुझ्नका लागि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईसमेत पुगेका थिए । आन्दोलनरत पक्षले डा. गिरीको मापासे जाँच गर्ने वातावरण तयार गरिदिनका लागि नगर प्रमुख राईसँग आग्रह गरेका थिए । नगर प्रमुख राईले उपकुलपति गिरीको मापासे जाँचका लागि वातावरण बनाउने प्रयास गरेका थिए । 

डा. गिरी आफ्नो कार्यकक्षभन्दा बाहिर जान सकेका थिएनन् । डा. गिरीलाई वार्ताका लागि धरान नागरिक दबाव सञ्जालले पनि तीन दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो । यसअघि जेठ २४ गते पहिलोपटक सञ्जालले उपकुलपति गिरीसहितका पदाधिकारीलाई सुझावसहितको एकसाताको अल्टिमेटम दिएको थियो । अल्टिमेटम दिएको केही समयपश्चात् नै डा. गिरी काठमाडौंतिर लागेका थिए । सञ्जालको अल्टिमेटमको समयावधि जेठ ३१ गते सकिएको थियो । जेठ ३० गते डा. गिरीले चिकित्सक तथा दन्तचिकित्सक कल्याण समाजका निवर्तमान अध्यक्ष समेत रहेका डा. विष्णु पोखरेललाई तीन दिनभित्र स्पष्टीकरण दिनू भन्दै पत्राचार गरेका थिए । बीपी प्रतिष्ठानको विषयलाई अख्तियारमा लगेको भन्दै स्पष्टीकरण सोधेका थिए । 

सोही पत्राचारपछि नै संघर्ष समितिले आन्दोलन सुरू गरेको थियो । असार १ गतेभित्र स्पष्टीकरणको जवाफ दिनुपर्ने समयसीमा भए पनि असार २ गतेबाट समितिले डा. गिरीले चालेको कदमविरूद्ध आन्दोलित बनेका थिए । सोमबार रिले अनसन सुरू गरेका थिए । डा. गिरीले आफ्नो नाम अगाडि प्राध्यापक पद राखेको विषयमा पनि समितिले आवाज उठाएको थियो । यसैबीच समितिले राखेको विषयमा भक्तपुर र संखुवासभा जिल्लाका दुईजना नागरिकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा छानबिनको माग गर्दै उजुरी दिएका छन् । उक्त विषय अहिले छानबिनको क्रममा रहेको बताइन्छ । 

करिब १८ दिनपछि बीपी प्रतिष्ठानमा आएका उपकुलपति डा. गिरीसँग आन्दोलनरत पक्ष र सञ्जालका पदाधिकारीले पालैपालो वार्ता गर्ने तयारी गरको थिए । तर, उपकुलपति गिरीले वार्तास्थलमा प्रवेश गर्नासाथ रक्सीको गन्ध आएको र बोली समेत लरबरिएको पाइएपछि वार्ता भाडिएको थियो । वार्तास्थलमा उपकुलपतिसहित शिक्षाध्यक्ष, रजिष्ट्रारलगायत पाँचजना पदाधिकारी थिए । डा. गिरीको मेडिकल जाँचको मागलाई जबर्जस्त रूपमा उठाइएको छ ।

तस्बिरः उपेन्द्र चाम्लिङ