बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै एउटा महŒवपूर्ण स्वास्थ्य संस्थाका रूपमा स्थापित छ । प्रतिष्ठानका उत्पादन, स्वास्थ्य जनशक्ति, उपचार सेवादेखि भौतिक पूर्वाधार र खुला क्षेत्रफल आदि सबैको मूल्याङ्कन गर्ने हो भने देशमै यत्तिको स्वास्थ्य संस्था अर्को छैन भन्न सकिन्छ । यहाँको शैक्षिक गुणस्तरका कारण उत्पादित जनशक्ति नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा सेवा गर्न योग्य मानिन्छन् ।
देशले गौरव गर्नु पर्ने यस्तो महŒवपूर्ण संस्था पछिल्लो समय धरासायी बनिरहेको यथार्थ छताछुल्ल भइसकेको छ । अहिलेको चिन्ताको विषय हो, प्रतिष्ठानको गरिमा कसरी जोगाउने भन्ने हो । यत्रो भौतिक पूर्वाधार र जनशक्ति भएको बीपी प्रतिष्ठान दिनदिनै धरासायी बन्दै जानु अनि यसभन्दा पछि स्थापना भएका निजी मेडिकल कजेलहरू रातारात उकालो लाग्दै जानु विडम्बना हो ।
प्रतिष्ठानको यो हविगत हुँदा प्रतिष्ठानका कुलपतिसमेत रहने प्रधानमन्त्री, सहकुलपति रहेका स्वास्थ्य मन्त्री किन सुधारका लागि कदम चाल्दैनन् ? माथिल्लो तहबाट आवश्यक मात्रामा ध्यान पुग्न नसक्नुले विभिन्न शङ्का उपशङ्काहरू जन्माएको छ ।
प्रधानमन्त्री स्वयम् निजी मेडिकल कलेजको पक्षपोषण गर्ने तर, धरासायी बन्दै गरेका स्वस्थ्य प्रतिष्ठानहरूलाई ध्यान नदिने अवस्थामा पुग्नु गलत हो । प्रतिष्ठानको समस्या कहिले समाधान हुन्छ ? र प्रतिष्ठान आगामी दिनमा कुन लयमा हिँड्न सक्छ भन्ने कुरा प्रधानमन्त्रीको भूमिकामा भर पर्छ । त्यसअर्थमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी प्रतिष्ठान सुधारका लागि कदम चाल्न ढिलो गर्नु हुँदैन ।

प्रतिष्ठानका कर्मचारी, चिकित्सक, विद्यार्थी, नर्सहरू किन बारम्बार आन्दोलित भइरहेका छन् ?, प्रतिष्ठानप्रति आम जनमानसको विश्वास किन गुमिरहेको छ ? र त्यो गुम्दै गएको विश्वास कसरी फर्काउने ? भन्नेमा प्रतिष्ठानका पदाधिकारीहरूले नै ध्यान दिनु पथ्र्यो । तर, उनीहरूले ध्यान दिन सकेनन् । आन्दोलनरत पक्षसँग मङ्गलबार वार्ता सुरु हुने बित्तिकै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको हाउभाउ र बोली व्यवहारले उनी मादक पदार्थ सेवन गरेर आएको आरोप लगाएर आन्दोलनकारीहरूले वार्ता बहिष्कार गरे । त्यसपछि मध्यरातसम्म पदाधिकारीहरू कोठामै थुनिनु प¥यो ।
पछिल्ला घटनाक्रमले प्रतिष्ठानको समस्या अब तल्लो तहबाट समाधान हुन नसक्ने देखिइसकेको छ । आन्दोलनकारीहरूले पनि पदाधिकारीहरूसँग वार्ता नगर्ने अडान लिइसकेका छन् । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले चासो लिएर उच्चस्तरीय छानबिन समिति गठन गरी समस्या समाधानतर्फ लाग्नु जरुरी छ ।
धरानलाई गतिशील बनाउन प्रतिष्ठानको भूमिका कति छ भन्ने धरानवासीले राम्ररी बुझेको हुनुपर्छ । धरानलाई कुनै समय ‘मृत सहर’ समेत भन्ने गरिन्थ्यो । बीपी प्रतिष्ठान स्थापनापछि धरान जीवन्त बनेको चर्चा गर्ने गरिन्छ । त्यसअर्थमा पनि धरानलाई प्रतिष्ठानको कति ठूलो महŒव छ भनिरहनु पर्दैन ।
तर, प्रतिष्ठानमा यत्रो वितण्डा हुँदासमेत आम धरानवासीले आवश्यक रूपमा चासो लिएको पाइँंदैन । धरानवासी जागेर माथिल्लो तहमा समस्या समाधानका लागि अझ दबाव सिर्जना गर्नु आवश्यक छ । समस्या समाधानका लागि नागरिक दबाव समूह, राजनीतिक दलले स्थानीय तहमा जनमत सिर्जना गर्ने कार्य गरिरहेका छन् । उनीहरूले अझ सक्रियता बढाउनु आवश्यक छ ।
त्यस्तै धरान सरोकार समाज काठमाडौंले तल्लोदेखि माथिल्लो तहसम्म समस्या समाधानका लागि छलफल चलाउने र ध्यानाकर्षण गराउने महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अहिले सक्रिय सबै समूह र संस्थाहरूले समेत नेतृत्व तहलाई बीपी प्रतिष्ठानको समस्या समाधानमा झक्झक्याउनु आवश्यक छ । प्रतिष्ठानका समस्याहरू समाधान गर्न अनुसन्धान र छानबिन गरी उचित कदम चालिनु आवश्यक छ ।