विजयपुर / कुनै पनि घटना भइसकेपछि घटनामा जोडिएका व्यक्तिलाई अनुसन्धानको दायरामा लिई छानबिन गरी सत्य–तथ्य पत्ता लगाउनु प्रहरीको कर्तव्य हो । तर, कतिपय घटनाहरूमा आफन्तले किटानी जाहेरी दिँदासमेत प्रहरीले जाहेरी नै दर्ता गर्न मान्दैन किन ? यो आम चासोको विषय बनेको छ । 

गत महिना भोजपुरको षडानन्द नगरपालिकामा गालीगलौज गरी एक युवकलाई आत्महत्या गर्न बाध्य बनाएको भनेर मृतकका आफन्त गाली गर्ने विरुद्ध जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा पुगेका थिए । तर, मृतकका आफन्तलाई प्रमाण नभएकोलगायतका विभिन्न बहाना बनाएर प्रहरीले उजुरी नै दर्ता गरेन । जाहेरी दर्ता नगरेपछि मृतकका आफन्त सरकारी वकिलको कार्यालय पुगेका थिए । 

जेठ ५ गते धरान–४ दानाबारीको वैदाम खोलामा मृत अवस्थामा फेला परेका प्रदीप सुब्बाका आफन्त घटनामा संलग्नको किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय धरानमा गए । कार्यालयले प्रमाण नपुग्ने भन्दै जाहेरी दर्ता गर्न नमानेको मृतकका आफन्तले बताएका छन् । उनीहरूले संलग्न हुने आधारसहित गए पनि प्रहरीले जाहेरी दर्ता नगरेको बताएका छन् । उनले प्रहरीले आफूलाई उल्टै थर्काउने गरेको पनि बताएका छन् ।

प्रहरी प्रशासन पनि कतै न कतै राजनीतिबाट प्रभावित भएको  पीडितहरूको आशङ्का छ । प्रदीप घटनामा पनि पहँुच र राजनीतिक दलको प्रभावबाट जाहेरी दर्ता गर्न नमानेको आफन्तको गुनासो छ । प्रहरीले जाहेरी दर्ता गर्न नमानेका प्रतिनिधिमूलक घटना मात्रै यी हुन् । यस्ता प्रहरीले जाहेरी दर्ता नगरेका घटना थुप्रै बाहिरिने गरेका छन् ।

राजनीतिक संरक्षणकै कारणले पनि दर्ता नहुन सक्छन् । त्यसो भए राजनीतिक पहुँच भएका व्यक्तिले जे गर्दा पनि हुने र राजनीतिक पहुँच नभएकाले न्याय नपाउने ? भन्ने प्रश्न पेचिलो बन्दै आएको छ । कुनै घटनाको अनुसन्धान गरी पत्ता लगाई दोषी उपर कारबाहीको प्रक्रिया अगाडि बढाउने निकाय प्रहरी प्रशासन हो । तर, कतिपय घटनाहरूमा संलग्नको किटानीसहित आफन्त उजुरीका लागि प्रहरी समक्ष पुग्छन् ।

तर, उनीहरूले दिएको जाहेरी प्रमाण नपुग्ने भन्दै प्रहरीले जाहेरी दर्ता गर्दैन । जाहेरी दर्तासमेत नगरेपछि कसरी अनुसन्धान होला ? महŒवपूर्ण कुरा हो । शङ््कास्पद व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा लिई छानबिन गरी सत्य–तथ्य पत्ता लगाउनु प्रहरीको कर्तव्य हो ।

तर, पीडित पक्षले घटनामा संलग्न भएको भन्दै किटानी जाहेरी दिँदा प्रमाण पुग्दैन भन्दै दर्ता गर्न नमान्नु कति जायज कुरा हो । के सबै प्रमाण जुटाएर मात्रै दिनुपर्ने हो प्रहरीलाई जाहेरी ? सबै प्रमाण भएपछि त अदालत नै जाँदा पनि भइहाल्छ । किन कतिपय घटनामा प्रहरीले प्रमाण पुग्दैन भन्दै जाहेरीसमेत दर्ता गर्दैन ? भनी जिज्ञासामा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी तथा सूचना अधिकारी महेन्द्रकुमार श्रेष्ठ प्रहरीले कुनै पनि घटनामा संलग्न हुने भएको आधार छ भने जाहेरी दर्ता गर्नुपर्ने बताउँछन् । उनले भने, ‘कहिलेकाहीँ निर्दोष नपरोस् भनेर घटनालाई फरक रूपमा हेर्ने र पुष्टि भएपछि मात्रै दर्ता गर्नलाई तत्काल दर्ता नगरेको हुन सक्छ तर, दर्ता नगर्ने भन्ने हुँदैन ।’ 

उनले थपे, ‘कहिलेकाहीँ नियतवश पनि जाहेरी आउने हुनाले पुष्टि भएपछि मात्रै दर्ता गर्छौं ।’ संलग्नता  छ भनी किटानी जाहेरी दिँदासमेत दर्ता हुँदैन ? भन्ने जिज्ञासामा पुष्टि हुने आधार छ भने दर्ता गरेर अघि बढ्नु पर्ने र नभए पनि जाहेरी बुझी दर्ता नगरी पनि अनुसन्धान गर्न सक्ने बताए । ‘सत्य–तथ्य घटना भएर पनि प्रहरीले दर्ता गर्न नमानेमा त्योभन्दा माथिल्लो प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय वा अदालतमा पनि दर्ता गर्न सकिन्छ’–उनले भने । उनले राजनीतिबाट प्रहरी प्रभावित नहुने बताए । उनले भने, ‘घटना पुष्टि हुँदा मन्त्रीसमेत जेल चलान भएका छन् ।’ 

बार एशोसिएसन सुनसरीका अध्यक्ष शारदा अधिकारी प्रहरीमा पीडितले जाहेरी लिएर आएपछि प्रहरीले दर्ता गर्नुपर्ने बताउँछन् । उनी जुन प्रहरी कार्यालयले दर्ता गर्न नमानेको हो सोभन्दा एक तह माथिल्लो प्रहरी कार्यालयमा जान पाउने कानूनी व्यवस्था रहेको बताउँछन् ।

त्यहाँ पनि दर्ता गर्न नमाने सरकारी वकिलको कार्यालयमा दर्ता गर्न पाउने व्यवस्था रहेको उनले बताए । उनले मुद्दा अगाडि बढाउने पनि सरकारी वकिलको कार्यालय भएकाले उक्त कार्यालयले प्रमाणीकरण गरी महान्यायाधीवक्ताको कार्यालयले पठाउनुपर्ने कानूनी व्यवस्था रहेको बताए । उनले भने, ‘मुद्दा अघि बढ्ने नबढ्ने महान्यायाधीवक्ताको कार्यालयले निर्णय गर्छ ।’